भारतको आसाम राज्यमा पहिरोमा परेर २० व्यक्तिको मृत्यु

भारतको आसाम राज्यमा पहिरोमा परेर २० व्यक्तिको मृत्यु


भारतको उत्तरपूर्वी राज्य आसाममा विगत केही दिनदेखि परेको व्यापक वर्षापछि गएको पहिरोमा परी २० जनाको मृत्यु भएको छ । आसामको चचार, हैलाकाँडी, करिमगञ्जलगायतका जिल्लामा पहिरो गएको बताइएको छ ।

एजेन्सीहरुका अनुसार चचारमा सात, हैलाकाँडी सात र करिमगञ्जमा ६ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा एकै परिवारका धेरै सदस्यहरू पनि रहेका बताइएको छ ।

चचारका जिल्ला विपद व्यवस्थापन कार्यालयका आयोजना प्रमुख शमिम लश्करले चचारमा मङ्गलबार (२ जुन) पहिरो जाँदा सात व्यक्तिको मृत्यु भएको छ भने केही घाइते भएका बताए । चचारमा मृत्यु भएकामध्ये ६ जनाको मृत शरीरलाई पहिरोबाट बाहिर निकालिएको छ भने सातौँ व्यक्तिको खोजी भइरहेको छ ।

हैलाकाँडीमा पनि पहिरोमा परी सात व्यक्तिको मृत्यु भएको र पाँच जना घाइते भएको जिल्लाकाा उच्च अधिकारीले पुष्टि गरेका छन् । भारतीय प्रहरीका अतिरिक्त उप–आयुक्त इएल फाइरहेमलाई उद्धृत गर्दै सिन्ह्वाले जनाएअनुसार हैलाकाँडीको अल्गापुर क्षेत्रमा गएको पहिरोमा परी सात व्यक्तिको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । घाइते पाँचै जनालाई स्थानीय अस्पतालमा पुऱ्याइएकोमा दुई जनालाई सामान्य उपचारपछि घर पठाइएको छ भने तीन जनाको अस्पतालमा भर्ना गरी उपचार सेवा भइरहेको छ ।

स्थानीय सञ्चारमाध्यमका अनुसार करिमगञ्जमा कम्तीमा ६ व्यक्तिको मृत्यु भएको र अन्य १० जना घाइते भएका छन् ।