धादिङकी एक महिलामा पनि कोरोना संक्रमित भएको पुष्टि

धादिङकी एक महिलामा पनि कोरोना संक्रमित भएको पुष्टि


विकास रौनियार, धादिङ

धादिङकी एक २३ वर्षीया महिलामा मंगलवार (२० जेठ) कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले धादिङ स्थायी घर भएकी २३ वर्षीया एक महिलामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।

उनी परोपकार प्रसुती अस्पताल (थापाथली)मा उपचाररत थिइन् । मन्त्रालयका अनुसार उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनी चिकित्सकको निगरानीमा रहेकी छन् ।

यस क्रममा बुधबार (२१ जेठ) बिहान जिल्लाको सिद्धलेक गाउँपालिका वडा नं. ५ सिल गर्ने तयारी गरिएको छ ।

यसैबीच नेपालमा मंगलवार एकैपटक २८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या २ हजार ९९ पुगेको छ ।

आगलागी हुँदा १० लाख बराबरको क्षति

धादिङको गजुरी गाँउपालिका वडा नम्वर ३ ग्याङराङका वीरबहादुर दोङको घरमा आगलागी भएको छ । आगलागी हुँदा घरमा भएको धान, मकै, लत्ता कपडा भाँडाकुडा पुर्ण रुपमा क्षति भएको छ ।

आगलागीका कारण मानवीय क्षति भने भएको छैन । घरको अभिभावक बारीमा काम गर्न गएको बेलामा बालबालिकाले लाइटर खेलाउँदा आगलागी भएको ग्याङराङका एक स्थानीयले जानकारी दिनुभयो ।

आगालागीका कारण खरको छानो भएको घर, जस्ताको छानो भएको गोठ, १० मुरी धान, १० मुरी मकै, १४ मुरी कोदो, १५ हजार रुपैयाँ नगद, ५० हजार बराबरको गर गहना लत्ताकपडा र एउटा भैंसीसहित अनुमानित १० लाख बराबरको क्षति भएको पनि उहाँले बताउनुभयो । घरमा आगलागी भएपछि वीरबहादुर दोङका तीन बालबालिकासहित ५ जनाको परिवार छिमेकीको घरमा बस्नुभएको छ ।