लकडाउनको मौका छोपी मौलायो तस्करी

लकडाउनको मौका छोपी मौलायो तस्करी


■ आरपी उपाध्याय, नवलपरासी

पश्चिम-नवलपरासीको पाल्हीनन्दन गाउँपालिका–२ मुडेरास्थित नेपाल–भारत अन्तर्राष्ट्रिय सीमानजिक एक छाप्रोमा लुकाइराखेको अवैध छोहडा नियन्त्रणमा लिइएको छ ।

नेपालबाट भारततर्फ अवैध तवरले लैजानका लागि लुकाइराखेको १३५० केजी छोहडा विशेष सुराकीको आधारमा सशस्त्र प्रहरी बलले नियन्त्रणमा लिएको सप्र बल २६ गण हे.क्वा. पश्चिम नवलपरासीले जानकारी दिएको छ ।

सशस्त्र प्रहरीद्वारा बरामद गरिएको सामग्री आवश्यक कारवाहीको लागि महेशपुर भन्सार पठाइएको बताइएको छ । बरामद गरिएको छोहडाको मूल्य तीन लाख सन्ताउन्न हजार पाँच सय रहेको पनि जानकारी दिइएको छ ।

लकडाउनको मौका छोपी तस्करी कार्य मौलाउन थालेपछि सुरक्षा निकायले पनि सक्रियता बढाएको सुरक्षा स्रोतले जनाएको छ ।

यसअघि गत साता पूवी नवलपरासीको बिनयी त्रिवेणी गाउँपालिकामा प्रहरीले ठूलो परिमाणमा अवैध सुपारी नियन्त्रणमा लिएको थियो । ना. ४ ख १९७६ नम्बरको ट्रकमा ६३०० केजी सुपारी लोड गरी पूर्वबाट पशिच्मतर्फ आइरहेको अवस्थामा इलाका प्रहरी कार्यालय दुम्कीबासले नियन्त्रणमा लिएर थप कारवाहीको लागि महेशपुर भन्सार पठाइएको जिल्ला प्रहरी कार्यालय कावासोतीले जानकारी दिएको छ ।

औषधिको काटुनभित्र थैला बनाएर ट्रकमा लोड गरी ल्याइएको अवस्थामा उक्त परिमाणको सुपारी बरामद गरिएको थियो । औषधिको कार्टुनभित्र सुपारी भेटिनुले लकडाउनको बेला तस्करी कसरी मौलाइरहेको छ भन्ने प्रष्ट्याएको छ ।

अत्यावश्यक सामग्रीको नाममा अवैध ओसारपसार मौलाए पनि सरोकारवालाको ध्यान कमै मात्र पुगेको जानिफकारहरू टिप्पणी गर्दछन् ।

यसैक्रममा पश्चिमनवलपरासीको दक्षिणी खुला सीमाबाट अवैध कार्य हुन थालेको सुत्रको दाबी छ । सुरक्षा निकायले सय मिटरको दूरीमा अस्थायी पोष्ट निर्माण गरी २४सै घण्टा कडा निगरानी भएको बताए पनि प्रतापपुरको बसहिया पाल्हीनन्दनको रमपुरवा, सुस्ताको कठहवामा पर्ने सुनसान इलाकाबाट अवैध कार्यमा बढोत्तरी भएको छ भने सीमा क्षेत्रका स–साना नाकाबाट भारतमा बसोबास गर्ने नेपाली घर फर्किने क्रम जारी रहेबाट कोरोना भाइरस सङ्क्रमणको खतरा पनि बढेको अनुभूति स्थानीयवासीले गरेका छन् ।