हावामा मृत्युको आभास लिएर डर सल्बलाएको बेला

हावामा मृत्युको आभास लिएर डर सल्बलाएको बेला

■ प्रकाश के.सी.

समय, जस्तो घिस्रिएर चलेको होस्
सम्झनाहरू मानसपटलमा त्यसैले लतारिएका लाग्दछन्
लतारिएर सम्झनामा कतिपय सपनाहरू तङ्ग्रिन्छन् लश्करै
र म बिस्कुन सुकाएसरी सपनाहरूलाई सुकाउँछु लटरम्म,
सपनाहरू काँचै छोडेर सम्झनाहरू लतारिन्छन् समयसँगै
अनि घोँचिएका भोगाइका घाउहरूलाई चिर्न थाल्दछन् त्यसपछि ।

हावामा मृत्युको आभास लिएर डर सल्बलाएको बेला
अनिकालका अप्ठ्याराहरू चौतर्फी तिखारिन्छन्,
तीखा अप्ठ्याराहरूबाट आक्रान्त मानसिकताहरू
भोगाइको तटस्थतामा नीरिह लत्रिन्छन्,
नीरिहता, सीमामा अनि गल्ली र सडक हुँदै
आफ्नै आत्माभित्र ग्लानीले निथ्रुक्क भिज्दछ ।
लाचार अनि विवश मन त्यसपछि आँशु पिउँदछ
र धावा बोल्छ अभिशापका समयहरूउपर,
जो घिस्रिँदै अनि घिसारिँदै सम्झनाहरूलाई भोगसँगै लतार्दै लान्छन् ।

मान्छेदेखि नै भागेर सामाजिकताको बखान गर्ने बखतमा
सम्वेदनहीनताको प्रदर्शन गर्दै हरेक मृत्युउपर हामी
फगत अक्षरहरूले सपाट श्रद्धान्जली व्यक्त गर्दछौँ,
र सोँच्दछौँ, त्यतिले तिनको त्यो लाचार पीडा पुछ्यो,
सडकको पेटीमा उदाङ्गिएको सपनासँगै
अनिकालका तीखा अप्ठ्याराहरूले घोँचिएर
काठ बनेका भोगाइहरू सुँक्सुकाउँदछन्,
समवेदनाहरू एक कुनामा अभिशाप व्युँझाएर तंग्रिन्छन्,
र, सम्वेदनहीनताको प्रदर्शन गर्दै त्यस्ता हरेक मृत्युउपर हामी
फगत अक्षरहरूले सपाट श्रद्धान्जली व्यक्त गर्दछौँ ।

समय, जस्तो घिस्रिएर चलेको होस्, तर
अनुभूतिले सहनशीलतामै विस्फोटन गराएको लाग्दछ,
सिमानामा उकासिएका राष्ट्रियतामा जुर्मुरिएका केही उत्कण्ठतादेखि
सीमाभित्र कुल्चिएका जातीयतामा तरंगित राजनैतिक घृणित प्रचुरतासम्म
अभिशप्त भोगहरू विमुढ हुन्छन् कुण्ठित वैचारिकतामा,
र धावा बोल्छ अभिशापका समयहरूउपर,
जो घिस्रिँदै अनि घिसारिँदै सम्झनाहरूलाई भोगसँगै लतार्दै लान्छन् ।

सङ्क्रमित संयमशीलतामा भोगाइको रापले डामेको बखत
निरुद्ध मन चिथोरिन थाल्दछ, निचोडिएका सम्भावनाहरूसँगै
र त्यसपछि, किंकर्तव्यविमुढ निःसार असम्वरणीय नियतिका