दाङको एक मात्र टरीगाउँ एअरपोर्ट बन्द नै गर्न खोजिएको हो त ?

दाङको एक मात्र टरीगाउँ एअरपोर्ट बन्द नै गर्न खोजिएको हो त ?



■ सनत आचार्य

आगामी आर्थिक वर्षका लागि सरकारद्वारा संसदमा पेश गरेको बजेटमा दाङको टरीगाउँ विमानस्थल नपरेपछि यस भेकका जनताले विभिन्न अड्कलबाजी गर्न थालेका छन् । सरोकारवाला कतिपयले के सरकारले टरीगाउँ विमानस्थल बन्द गर्न खोजेकै हो त भनी चासोयुक्त टीकाटिप्पणी समेत गर्न थालेका छन् ।

गत जेठ १५ मा संघीय संसदमा पेश गरिएको बजेट भाषणमा टरीगाउँ विमानस्थलका लागि बजेट नछुट्याएपछि राजनीतिज्ञ, उद्योगी, व्यापारी, समाजसेवी र स्थानीय कार्यकर्ता समेत नेतृत्वकर्तासँग रुष्ट बनेका छन् ।

६५ वर्ष पुरानो इतिहास बोकेको टरीगाउँ विमानस्थल दाङ जिल्लाको एक मात्र र नेपालकै पुरानो विमानस्थल हो । काठमाडौंको तत्कालीन गौचरण विमानस्थलको निर्माण वि.सं. २००६ मा भयो र सोही वर्षदेखि नै नागरिक उड्डयन सेवा शुरु गरियो । पछि वि.सं. २०१२ मा तत्कालीन राजा महेन्द्रद्वारा उक्त विमानस्थलको आधिकारिक रूपमा उद्घाटन गरी गौचरण विमानस्थलको नाम आफ्ना पितासँग जोडि ‘त्रिभुवन अन्तर्राष्ट्रिय विमान’ नामाकरण गरियो । टरीगाउँ विमानस्थल पनि त्यसको ५ वर्षपछि सञ्चालनमा आयो ।

टरीगाउँ विमानस्थल निर्माणको मुख्य श्रेय स्वभाविक रुपले समजसेवी एवं काङ्ग्रेसका पुराना नेता स्वर्गीय झग्गुप्रसाद आचार्य (भमके/थपगाउँ) लाई जान्छ । उनी र उनका सहयोगीको पाँच वर्षको निरन्तर पहलपश्चात टरीगाउँमा २०११ मंसिर २३ गते नेपाल वायुसेवा निगमको सानो जहाज (पिलाटस पोटर) पहिलो पटक अवतरण गराइएको थियो । भनिन्छ, उनले टरीगाउँमा हवाइजहाज नबस्दासम्म आफ्नो दारी र कपाल नकाट्ने संकल्प लिएका थिए । पछि जहाज अवतरण भएपश्चात् मात्र आचार्यले बनारस गएर दारी–कपाल फालेका आफन्तहरू बताउँछन् ।

त्यस्तै, यो विमानस्थल निर्माणमा अत्यन्त महत्वपूर्ण र अहम् योगदान गर्ने अर्का व्यक्ति टरीगाउँकै फालुराम चौधरी हुन् । यिनै दानवीरले निःशुल्क उपलब्ध गराएको जग्गामा नै विमानस्थलको संरचना छ । यही संरचनामा जहाजले उडान भर्ने गर्दछ । यातायातको अन्य विकल्प र सुविधा नभएकै कारण दाङलगायत अन्य जिल्लाका मानिस नेपालगञ्ज र काठमाडौं यसै विमानस्थलवाट गर्थे । ०३५/३६ साल पछि भने यो विमानस्थल लामो समयसम्म बन्द रह्यो ।

यसरी बन्द रहेको विमानस्थल प्रजातन्त्रको पुनर्वहालीपश्चात गठित आन्तरिम सरकार (०४७/०४८) को पालामा तत्कालीन नागरिक तथा पर्यटनमन्त्री नीलाम्वर आचार्यसँग दाङका विकासप्रेमी इन्द्रबहादुर खत्री, वासुदेव शर्मा, सुकदेव लामिछाने लगायतको प्रतिनिधिमण्डलले विमानस्थल सञ्चालनका लागि डेलिगेशन राजधानी आयो । डेलिगेशन पश्चात केहि समय विमानस्थल सञ्चालनमा आयो । यात्रुको कमी, रन बे र कमजोर भौतिक संरचना भन्दै विमानस्थल फेरी बन्द भयो ।

केही वर्षपछि जनयुद्ध शुरु भयो । जनयुद्धको समयमा विमानस्थलमा भएका क्वाटर र सो क्षेत्र सेनाले नियन्त्रणमा लियो । उक्त स्थानमा सेना प्रहरीका हेलिकप्टर वाहेक जहाज अवतरण हुन सकेनन् । खाली र सुरक्षित स्थान भएकोले यो क्षेत्रमा सेनाको भगवति प्रसाद गुल्म, श्रीनाथ गण, बरख गण तारादल गण बस्यो । सेनाको एउटा लजिष्टिक युनिट पनि राखियो । केहि समयका लागि यो स्थान जनयुद्धमा लागेकाहरूलाई हिसासतमा लिने र यातना स्थानको रुपमा पनि रह्यो ।

लामो समय सम्म बन्द रहेको यो विमानस्थल ०६२/६३ को परिवर्तनपछि सबै राजनैतिक दलको भाषण गर्ने चुनावी एजेण्डा नबनेको होइन । विमानस्थलको भौतिक संरचना, इन्धन डिपो, धावनमार्गको कालोपत्रे र नियमित उडान लगायतका विषयमा संसददेखि सडकसम्म आवाज पनि उठेकै हो ।

२०६५ सालपछि यस भेकका स्थानीय समाजसेवी, बुद्धिजीवी र व्यापारीहरूले प्रायः सबै सरकार प्रमुख र पर्यटनमन्त्रीलाई भेटेर टरीगाउँ विमानस्थलका स्तरोन्नति र नियमित उडानका लागि कम्मर कसेर लागे । सबै राजनैतिक दल र सरकारलाई ज्ञापन पत्र पनि बुझाए ।

यसरी क्रमशः विमानस्थलको सञ्चालका लागि पहल भइरहँदा तुलसीपुर उद्योग बाणिज्य संघको नेतृत्वमा तत्कालीन पर्यटनमन्त्री लोकेन्द्र बिष्टलाई ज्ञापनपत्र दिएर बिष्टकै पालमा विमानस्थल सञ्चालनमा ल्याइयो । मन्त्री विष्टले विमानस्थल सबैको साझा भन्दै धावनमार्गको कालोपत्रे गर्न रकम तत्काल विनियोजन गर्न लगाएपछि धावनमार्गमा कालो पत्र गर्ने काम सम्पन्न भयो । उनकै पालादेखि यो विमानस्थलमा जहाजले पुनः साप्ताहिक उडान भर्न थाल्यो । धावनमार्ग बन्यो, तर सरकार फेरिएसँगै यसले निरन्तरता पाउन सकेन ।

पछिल्लो समयमा विमानस्थल सञ्चालनका लागि तुलसीपुरका मेयर घनश्याम पाण्डे र तुलसीपुर उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष विमल रिजाललगायतको टिमले खेलेको भूमिका प्रशंंसनीय छ । वहाँहरूको सक्रियतामा नै ०७५ को असोज अन्तिम साताबाट लकडाउन शुरु हुनुभन्दा पहिलेसम्म नेपाल एअरलाइन्सले नियमित हवाइसेवा सञ्चालनमा ल्याएको हो । शुरुमा एक उडान गर्ने गरेकोमा यात्रुचाप बढ्दै गएपछि दुई वटा उडान भइरहेको थियो ।

टरीगाउँ विमानस्थलको स्तरवृद्धि र नियमित हवाई सेवा संचालका लागि गत कार्तिक–मंसिर महिनामा दाङवासीहरूले १ हजार २५० मिटर कपडामा हस्ताक्षर अभियान सञ्चालन गरी उक्त हस्ताक्षर पुष महिनामा पर्यटनमन्त्री योगेश भट्टराईलाई बुझाए । मन्त्री भट्टराईले दङ्गाली जनताको चाहना पूरा हुने र आफूले टरीगाउँ विमानस्थल नियमित रुपमा सञ्चालन र सहयोग गर्न कुनै कसर बाँकी नराख्ने बताएका थिए । उनको यस भनाइबाट विमानस्थलको निरन्तरताका लागि पहल गर्ने र दङ्गाली जनता र पार्टी–पङ्क्तिमा काम गर्ने सबैलाई अत्यन्त उत्साहित बनायो ।

तर यसरी सबैबाट उत्साहित बनाइएका जनता भने आ.व. ०७७/७८का लागि विनियोजन बजेटमा विमानस्थलका क्षेत्रमा बजेट नपरेपछि स्थानीय सबै सरकारप्रति क्रुद्ध भएका छन् । मुख्यमन्त्री शंकर पोखरेलको दूराशयका कारण विमानस्थलमा बजेट विनियोजन नभएको चर्चा उनीहरुबीच चलेको सुनिन्छ ।

हुन पनि पछिल्लो चरणमा मूख्यमन्त्री पोखरेललाई यो विमानस्थलसँगको माया–मोह र चासो भङ्ग भएको प्रतीत हुन्छ । गत वर्ष तुलसीपुरमा आयोजित एक कार्यक्रममा पोखरेलले ‘टरीगाउँ विमानस्थलले दंङ्गाली जनतामा समृद्धि नल्याउने’ टिप्पणी गरेसँगै उनको यो विमानस्थलप्रति चासो छैन र अब टरीगाउँमा हवाई सेवा नियमित बन्न सक्दैन भन्ने सबैले अड्कल काटिसकेका थिए । यति मात्र हैन दाङकै एकजना सांसद टरीगाउँ विमानस्थलको विषयलाई लिएर मुख्यमन्त्री पोखरेलसमक्ष जाँदा उनले सांसदलाई नराम्रोसँग हकारेको पनि प्रत्यक्षदर्शी बताउँछन् ।

टरीगाउँ विमानस्थललाई उपेक्षित राख्नुको कारण के हो ? यो संघीय र प्रदेश सरकारका लागि किन बाधक बन्यो ? बजेट के–कति कारणले विनियोजन गर्न गरिएन ? सम्बन्धित व्यक्ति वा निकायले यसको चित्तबुझ्दो जवाफ दिनु पर्दछ ।

टरीगाउँ विमानस्थलको निरन्तरताका लागि नेकपाभित्रकै एउटा समुह प्रतिष्ठाको विषय बनाई निरन्तर लागि पर्दा पनि पार्टी र प्रदेश सरकार प्रमुखले बनाउन नहुने र यसको विकल्प खोजिनु पर्ने जस्ता अभिव्यक्तिले जो–कोहीको मन खिन्न हुनु स्वभाविक हो । एउटा इतिहास बोकेको विमानस्थल सञ्चालनका लागि सहयोग गरी इतिहासलाई जीवित राख्दा सबैलाई फाइदा पुग्ने राजनैतिक भविष्य उज्यालो हुन जान्छ ।

गत आर्थिक वर्षमा विमानस्थल निर्माणका लागि संघीय सरकारले छुट्याइएको करिव ३२ करोड रकम मध्ये एक पैसा पनि टरीगाउँ विमानस्थलका लागि पर्न सकेन । यो पनि अर्को विडम्बनाको कुरा हो ।

नाम उल्लेख नगर्ने शर्तमा नेकपाका एक कार्यकर्ता दाङ जिल्लाको विकासको गुण र दोषको श्रेय मुख्यमन्त्री शंकर पोखरेलले लिनुपर्ने बताउँछन् । मुख्यमन्त्री दाङको हुँदा पनि यस क्षेत्रको विकास हुन सक्दैन भने अरु के आशा गर्नु भन्ने सवाल छ । संघीय सरकारको बजेटमा पनि दाङका लागि खासै ठुला योजना नपर्नु दुभाग्यपूर्ण हो ।

संघीय, प्रदेश र स्थानीय तहमा समेत नेकपाको सरकार रहेको अवस्थामा समग्र दाङको विकास हुन नसक्दा र यस प्रकारको सोचाई राख्दा नेकपाको दाङको राजनीति बिग्रिने सम्भावना देखिन्छ । त्यस्तै नेतृत्वले पुराना र त्यागी नेताहरूलाई पाखा लगाउँदै नवप्रवेशीलाई प्राथमिकता दिने र उनकै योजनाअनुसार हिँड्दा नेतृत्व तथा पार्टीलाई क्षति पुग्ने ठम्याइ छ ।

टरीगाउँ विमानस्थल पश्चिम दाङवासीको मात्र नभई यस आसपासका सबै जिल्लाका लागि हो । यो विमानस्थलको निरन्तरतापछाडि एउटा ठुलो जमात छ । उक्त जमातमा राजनैतिक आस्था भन्दा पनि व्यक्तिवादी चिन्तन विकासप्रेमी भावना हाबी छ । यो जमातले पनि कुनै व्यक्ति वा पार्टीको राजनैतिक भविष्य तय गर्दछ । त्यस्तै पछिल्लो संसदीय निर्वाचनमा यो जमात निर्णायक थियो । यही जमातको निर्णयले नै आज दाङले मुख्यमन्त्रीको सिंहासनमा बस्न योग्य बनाएको तथ्यलाई पनि बिर्सन हुँदैन ।

आगामी दिनमा विमानस्थललाई सञ्चालनमा ल्याउने वा सदाका लागि बन्द गरीदिने ? कसैको राजनीति पनि यसैमा रहन सक्छ । टरीगाउँ विमानस्थललाई उपेक्षित राख्नुको कारण के हो ? यो संघीय र प्रदेश सरकारका लागि किन बाधक बन्यो ? बजेट के–कति कारणले विनियोजन गर्न गरिएन ? सम्बन्धित व्यक्ति वा निकायले यसको चित्तबुझ्दो जवाफ दिनु पर्दछ ।