खोरिया फाँड्दै पूर्वसांसद

उमा केसी, रोल्पा



जिल्लामा निर्वाचन जितेपछि धेरै जनप्रतिनिधि राजधानीमै हराउँछन् । कानून बनाउन काठमाडौं हानिने अधिकांश जनप्रतिनिधि जिल्ला भने कमै मात्र फर्कन्छन् । यहाँबाट निर्वाचित पूर्वसांसद लेखनाथ आचार्यले भने यस्ता थुप्रै पात्रभन्दा फरक पहिचान दिनुभएको छ ।

रोल्पा जिल्लाबाट सुरेन्द्र हमालपछि विसं २०५६ मा नेपाली कांग्रेसका तर्फबाट निर्वाचन जित्ने आचार्य दोस्रो व्यक्तित्व हुनुहुन्छ । विसं २०५६ को संसदीय निर्वाचनमा रोल्पाको निर्वाचन क्षेत्र नं १ बाट निर्वाचित भएसंँगै उहाँको संसदीय यात्रा शुरु भयो । रोल्पाबाट काठमाडौं जानै सकस । कतिबेला माओवादीको तारो भइने हो कि भन्ने चिन्ता थियो । सांसद निर्वाचित भएपछि जसोतसो उहाँ रोल्पाबाट काठमाडौं पुग्नुभयो ।

आचार्य प्रतिनिधिसभा, प्राकृतिक स्रोेत साधन समितिका सभापति पनि बन्नुभयो । संसदीय समितिमा रहँदा उहाँ आफूले प्राकृतिक स्रोत व्यवस्थापनका धेरै जनपक्षीय काम गरेको सम्झनुहुन्छ । ‘जल र जङ्गल जस्ता नेपालका अपार प्राकृतिक स्रोतको उपयोगबाट देशलाई कसरी समृद्ध बनाउन सकिन्छ भन्ने विषयमा छलफल हुन्थ्यो’, आचार्यले भन्नुभयो ।

तत्कालीन अवस्थामा सांसदको मासिक पारिश्रमिक १८ हजार हुन्थ्यो । सशस्त्र द्वन्द्वका कारण जिल्ला बस्न नसकेका कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी र तत्कालीन नेकपा (एमाले)का समर्थक, शुभचिन्तक तथा नेताकार्यकर्ता उहाँको काठमाडौंस्थित डेरामा पुग्थे । जिल्ला फर्कन सक्ने अवस्था नभएका ती नेताकार्यकर्ता महिनौँसम्म काठमाडौंमा उहाँकै डेरामा बस्थे । जिल्लावासीको बसाइ र खानपानमै सांसद आचार्यको तलब सकिन्थ्यो ।

उहाँसंँगै काठमाडौं छिरेका थुप्रै साथीहरु उतैका बासिन्दा भइसकेका थिए । आचार्य भने जनताको दुखःसुखमा साथ दिन जिल्ला फर्किनुभयो । जिल्लामा रहेर प्रहरी, प्रशासन, नापी, मालपोत, बैंक, अदालत जस्ता सरकारी अड्डाका झम्झटिला काममा दुखः पाएका जनतालाई सहयोग गर्ने उहाँको दिनचर्या बन्यो ।

‘टाढाटाढावाट पैदल यात्रा गरे दुःखकष्टका साथ आएका जनतालाई सरकारी कार्यालयका कर्मचारीले समयमा काम नगरिदिँदा समय र पैसाको बर्बाद देखेर मैले उनीहरुको सेवाभावले सहयोग गर्ने काम अहिले पनि निरन्तरता दिइरहेको छु’, आचार्यले भन्नुभयो, “कार्यालय खुलेको बेला जनताको दैनिक समस्यामा सहयोग गरेर म मेरो समय उपयोग गर्छु”, चौँसठ्ठी वर्षीय आचार्यले भन्नुभयो ।

कोरोना भाइरसले विश्वव्यापी सन्त्रास फैलाइरहेका बेला गरिएको बन्दाबन्दीमा भने पूर्वविधायक करीब दुई महिनादेखि फुर्सदिलो हुनुभएको छ । उहाँ अचेल आफ्नै पैत्रिक सम्पत्तिका रुपमा रोल्पा नगरपालिका वडा नं २ मा रहेको साढे सात रोपनी खोरिया फाँड्दै हुनुहुन्छ । ‘यसअघि कहिल्यै सफाइ गर्न भ्याइएको थिएन, लकडाउनले काम गर्ने साइत जुराइदियो’, उहाँले भन्नुभयो । उहाँले सो जग्गामा टिमुर र कागती खेतीगर्ने योजना बनाउनुभएको छ । कागती खेतीका लागि जमीन, माटो र हावापानी उपयुक्त छ कि छैन भनेर नगरपालिकाका कृषि प्राविधिकलाई पनि उहाँले देखाइसक्नुभएको छ । टिमुर खेतीको सम्भाव्यताका लागि वन प्राविधिकबाट पनि जाँच गराउने योजना रहेको आचार्यले सुनाउनुभयो ।

मेहनत गर्न लाज मानेकै कारण देशको ठूलो युवा जनशक्ति विदेशिनुपरेको उहाँको बुझाइ छ । जमीन सबै बाँझिएका छन् । आफ्नो जग्गामा छिटो प्रतिफल दिने बोटबिरुवा रोपेर आत्मनिर्भर बन्न सकिने ठानेर आफूले काम शुरु गर्ने सोच बनाएको उहाँ बताउनुहुन्छ । यसका लागि सरकारले वास्तविक किसानलाई अनुदान र प्राविधिक सहयोग दिनुपर्नेमा राजनीतिक पहुँचका आधारमा वितरण गर्दा वास्तविक किसान मर्कामा परेको आचार्यको गुनासो छ । ‘युवाहरुलाई नेताहरुले बाटो देखाउनुपर्छ, सबै राजधानीमै बस्दा गाउँ बाँझै हुन्छ, अब देशमा कृषिक्रान्ति गरेर मुलुकलाई समृद्ध बनाउनुपर्छ’, उहाँले भन्नुभयो ।

प्रतिक्रिया