सुदुरपश्चिमका चार नाकाबाट भित्रिए चालिस हजार नेपाली

सुदुरपश्चिमका चार नाकाबाट भित्रिए चालिस हजार नेपाली


– सनत आचार्य

सुदूरपश्चिम क्षेत्रमा पर्ने विभिन्न चार नाकाबाट हालसम्म करिव ४० हजार नेपाली स्वदेश भित्रिएका छन् ।

सुदुरपश्चिम प्रदेशका प्रहरी नायब महानिरीक्षक (डिआइजी) उत्तमराज सुवेदीले दिनुभएको जानकारीअनुसार लकडाउनका कारण बाटोमा अलपत्र परेका र स्वदेश आउन चाहने नेपालीहरू अहिले सुदूरपश्चिम प्रदेशको गौरीफन्टा, गढ्ढाचौकी, झुलाघाट र दार्चुला नाकाबाट दैनिक लगभग ६ हजारको सङ्ख्यामा स्वदेश फर्किरहेका छन् ।

हालसम्म सुदूरपश्चिम प्रदेशबाट ४० हजार नेपाली स्वदेश फर्किएका, तीमध्ये ८० प्रतिशत सुदूरपश्चिम प्रदेशकै वासिन्दा र बाँकी अन्य प्रदेशवासी रहेका पनि डिआइजी सुवेदीले जानकारी दिनुभयो ।

उहाँका अनुसार हिजोआज दैनिक ७–८ सयको संख्यामा भारतीय नागरिक पनि भारततर्फ गइरहेका छन् । सुदूरपश्चिम प्रदेशमा हाल ३२ हजार मानिस क्वारेन्टाइनमा रहेका र प्रदेश, स्थानीय सरकार र अन्य संघसंस्थाको समन्वयमा अझै क्वारेन्टाइनहरू निर्माण गर्ने काम भइरहेको पनि उहाँले बताउनुभयो ।

सुदूरपश्चिम प्रहरी अहिले शान्ति–सुरक्षालगायत स्वदेश फर्किएकाहरूको तथ्याङ्क राख्न, स्वास्थ्य परीक्षण गराउन, संक्रमितलाई तत्काल अस्पतालसम्म पुर्याउन, क्वारेन्टाइनलाई व्यवस्थित बनाउन र समुदायमा कोरोना फैलिन नदिन सक्रिय रहेको डिआइजी सुवेदीले बताउनुभयो ।