कोरोनापछि सलहको पालो ?

कोरोनापछि सलहको पालो ?


■ विश्व सिग्देल

हिन्दुहरू प्रलय भन्छन्, इस्लाममा कयामत ! के अब यी दिनहरू नजिकै छन् ?

पाँच करोडको ज्यान लिने गरी आएको ‘स्पेनिस फ्लू’ महामारीभन्दा सलहको आतंकले धेरैको ज्यान जान्छ । मृत्युको तरिका भने निःसन्देह फरक छ, एउटामा रोगले मर्छन् एउटामा भोकले । यो सलहले ६०–७० वर्षअगाडि नेपालमा आतङ्क मच्चाएको बुढापाकाहरू बताउँछन् । ‘सलहहरू आकाश ढाक्ने गरेर आए, सुर्य ढपक्कै छोपिने गरी आए, मध्यान्हमै रात परेजस्तो भयो’ भन्थे । सरदर एक वर्ग मिल आकाश छोप्ने गरी झण्डै आठदेखि दस करोड सलहहरू गाउँ पसेपछि अन्नबाली त के, रुखका बोक्रा र डाँठसमेत मिनेटभरमा सफाचट हुने रहेछन् । दिनकै सय मिलजतिको यात्रा गर्ने सलहले एक ठाउँ सकेपछि अर्को गर्दै देशै सखाप पार्ने भएपछि कल्पना गरौँ देशको हालत के होला ?

यसलाइ मार्न विष छर्ने भनेको कुरुक्षेत्रको अठार औक्षणी सेनामा एक्लै गुलेली लिएर उभिनेबराबर हो । बन्दुक पड्काउने, थाल ठटाउने टाँगाले हान्ने यी सबै हास्यास्पद प्रयास हुन्छन्, जब यिनीहरूको आक्रमण शुरु हुन्छ । यिनको रोकथाम भनेको पर्यावरणप्रतिको संवेदनशीलता र प्रकृतिप्रति जिम्मेवारपूर्ण ब्यवहार नै हो ।

बंगलादेशले अर्ब रुपियाँमा भ्याकुता पाहाहरूको खुट्टा निर्यात गर्थ्यो र खर्बमा किटनासक विषादीहरू आयात गर्थ्यो । उसले यो बुझेन कि भ्याकुता पाहाहरूले प्राकृतिक रूपमै बालीनासक शत्रुजीवहरू सखाप पारिदिन्छन् । बंगलादेशले विषादिमाथिको खर्च र जनस्वास्थ्यमा पर्ने घातक प्रभाव त्यतिखेर बुझ्यो जतिखेर ठुलो नोक्सान भैसकेको थियो । अहिले बंगलादेशमा पाहा र भ्याकुटाको खुट्टा निर्यातमा प्रतिबन्ध छ ।

भँगेराले अन्नपात खाइदिएर दुई करोड चिनियाँ भोकमरीले मरेको निष्कर्ष निकाल्दै भँगेरा मार्ने जनअभियाननै माओले चलाए । भँगेरा त मरे तर भोकमरी थामिएन, भोकले मर्नेको संख्या झन् दोब्बर भयो । अनुमानित दस करोड (आँकडा विवादित छ) चिनियाँ गुमाएर चीनले पाएको आत्मज्ञानले आज चीन हराभरा छ, चिनियाँहरू हृष्टपुष्ट छन् ।

७० वर्षअघिको सलह आपदा युरोपमा फैलिएको तीव्र औद्योगिकीकरण नै थियो, जसले दुई तिहाइ भूगोल ओगटेको उपनिवेशहरूको समेत प्राकृतिक वातावरण कच्चा पदार्थको स्वार्थमा ध्वस्त पाऱ्यो । बनहरू सखाप पारे, औद्योगीक कच्चा पदार्थ, खनिज पशुपालनका लागि जङ्गल सफाचट पारे, सुनचाँदी कोइला फलाम आदि खनिजको खोजमा पहाड खोतलेर ध्वस्त पारे, नदी–तालहरू खोली–खोल्साहरू औद्योगिक कचराले प्रदुषित बनाए । जङ्गल जनावर चराचुरुङ्गी नास भएपछि जे हुने थियो, भयो । यो अवस्था त सलह जस्ता शत्रुहरूका लागि स्वर्ण अवसर थियो ।

सलहको बथान उत्तर प्रदेश बिहार बंगाल हुँदै बर्मा पुग्यो भने त हामी बाँच्यौँ तर हामीमाथि हुँदै आयो भने, कोरनाको कहर त के कहर हुन्छ, सलहको कहर पो कहर हुन्छ !

मानिस, घरेलु जनावर र जङ्गली जनावरहरूको बीचको बफर क्षेत्र मात्र हैन, मानिसको उत्पत्ति भन्दा पुराना वर्षावनहरूमाथिको अतिक्रमणले कोरोना र यस्तै प्रकारका घातक महामारीहरू फैलने विज्ञानीहरूको कथन छ । हिजो सहारा मरुभूमि घना वनक्षेत्र भएको प्रमाणित भएको छ भने आज अमेजनको घना वर्षावन मरुभूमिमा रुपान्तरणको प्रतीक्षामा छ । जङ्गली जनावर र मानिस वा घरपालुवा जनावर बीचको लसपस एवम् खतरनाक भाइरसहरूको बासस्थानमाथिको छेडछाड यी भाइरस आपदाका कारण हुन् भनिन्छ । कोरनाका भाइरस त १९३० आसपासमा थियो, साइबेरियाको कोणधारी वन क्षेत्रमा दबिएर बसेको थियो भन्छन् ।

हाम्रा चारकोशे झाडी त सक्यौँ–सक्यौँ, अवशेष रहेका बारा–पर्साका वर्षावनमा डोजर चलाउँदै छौँ । मानिस नै नरहेको देशमा जहाज चढ्ने कुन प्राणीले हो ? विकासका मेघा संरचनाहरू कसका लागि हुन् भन्ने प्रश्नको जवाफ केही दिन लकडाउनमा देखिएका एयरपोर्ट र कलकारखानाका मसानघाटे सुन्यताले दिएको छ ।

चरा, सर्पलगायत हजारौँ सानाठुला जनावरहरूका आहार मानिसहरूका शत्रुजीवहरू हुन् । यिनैको शिकार बेचबिखन तथा यिनीहरूको आहार र बासस्थान समाप्त पारिदिएपछि यी खतरनाक किराफट्याङ्ग्राहरू भाइरसहरू हाम्रा टाउकावरपर नघुमे कहाँ घुम्छन् ?

फेरि एकचोटी सलहहरूको समुह अफ्रिका अरब हुँदै भारतसम्म आइपुगेको छ । अब हाम्रो नाकसम्म मडारिँदै छ । हिजो सलहको अतिक्रमण हामीले ठुलो नोक्सानीविना नै झेल्यौँ । त्यति ठुलो क्षति हुन नसक्नुको कारण विशाल वन क्षेत्र, त्यहाँ सलहजस्ता शत्रुजीवलाई आहार बनाइदिने चराचुरुङ्गी सर्प आदिको लागि उत्तम बासस्थान र आहारको प्रबन्ध थियो भने वनजन्य रुखपात फलहरूले सलहलाई आहार दिएर उनीहरूलाई बालिनालीमा नपस्न पर्खाल पनि बनेका थिए ।

सलहको बथान उत्तर प्रदेश बिहार बंगाल हुँदै बर्मा पुग्यो भने त हामी बाँच्यौँ तर हामीमाथि हुँदै आयो भने, कोरनाको कहर त के कहर हुन्छ, सलहको कहर पो कहर हुन्छ ! तथापि, भारतमा हुने सलहको अतिक्रमणको पनि हामीमाथि परोक्ष प्रभाव त रहन्छ नै । यो आतङ्क राजस्थान गुजरात पञ्जाबबाटै समाप्त होस् ।