दैवको अन्तिम प्रहारपछि…

दैवको अन्तिम प्रहारपछि…


■ देवप्रकाश त्रिपाठी

तापको चापले गाँज्दै जाँदा पृथ्वीको ध्रुवीय हिमपहाडहरू रित्तिले गरी पग्लिएका कारण समुद्रहरूको आकार एकाएक बढ्न थाल्यो । हवाईदेखि माल्दिभ्सजस्ता टापुहरू समुद्रको एक धक्कामा विलीन हुन पुगे । दोस्रो धक्कामा जापान र फिलिपिन्सदेखि फकल्यान्ड र क्युवासम्म पनि समुद्रको गर्भमा पुगे । अकल्पनीय किसिमबाट बढेको समुद्र अब सबै महादेशहरू निल्ने गरी उर्लिए । जमिन छोपिँदै गयो, उचाइतिर सरेर केही मान्छे बाँच्ने अन्तिम प्रयास गर्दै थिए । तर, समुद्रको धक्का पलपल यसरी बढ्दै गयो कि मानिसको बाँच्ने इच्छा अति टीठलाग्दो देखियो । दुई साताभित्रै अमेरिका, युरोप, अफ्रिका, अस्ट्रेलिया र एसियाको सबैजसो भूभाग जलमग्न भइसकेको थियो । यसैबेला आँधी, तुफान, चक्रवात, ज्वालामुखी र भूकम्पजस्ता प्रकोपले पनि पृथ्वीलाई नराम्रोसँग सताउँदै थियो ।

प्राण जोगाउन अन्तिम प्रयास बाँचेकाहरू सबै गर्दै थिए ।

यसक्रममा केही मान्छेहरू शिखरहरूको उच्च शृङ्खलातिर नबढेका होइनन्, तर तीमध्ये पनि धेरैजसोले आफूलाई जोगाउन सकेनन् । सर्वोच्च शिखर सगरमाथाको टुप्पोमा पुग्न पाए बाँचिन्थ्यो कि भन्ने आशा गर्नेहरू पनि भए । उकालो लाग्दा बाँचिने विश्वासमा केही मानिसहरू उकालो हिँडिरहे, मृत्युले पछ्याइरहेको अवस्थामा मानिस कतिसम्म निरीह र टीठलाग्दो हुँदारहेछन् भन्ने यथार्थको एउटा सजीव दृष्टान्त त्यहाँ देखिँदै थियो । सिकन्दर, नेपोलियन, हिटलर, औरंगजेव, चगेज खाँ, माओत्सेतुङ र स्टालिनजस्ता महत्वाकांक्षी मानिस पनि यिनै जस्ता कोही हुन् भन्नै नसकिने गरी लोलाएका एक हुल मानिसहरू सगरमाथाको चुलीमा पुगेर ज्यान जोगाउने आशामा यात्रारत थिए ।

त्यहाँ पुगेर तत्काल आफूलाई जोगाए पनि उनीहरूको बचाइ कतिसम्मको हुँदो हो ? सगरमाथाको चुलीमा जोगिएको जिन्दगीको अर्थ कसरी खोजिँदो हो ? यस्ता अनेकौँ प्रश्न उठ्न सक्दथ्यो, तर उनीहरूमा यसको हेक्का थिएन । मृत्युलाई छल्नुबाहेक उनीहरूको अर्को कुनै अभीष्ट पनि थिएन ।

जुस, मिन्स, लिज, निराकार, अभ्यस्त, सचेत, नसिन, कुसा, जेमिन, राम, सत्यमलगायतका मानिसहरू जो पहिले भारतभूमिको बासिन्दा थिए, माल्दिभ्स र मुम्बई समुद्रमा विलय भएका दिन सचेत र निराकार विवाह–बन्धनमा बाँधिएका थिए । वर्जित र सरिनाका एक मात्र सन्तान हुन्– सचेत । सुनामीले मुम्बईसमेतलाई एकैपटक निल्दा उत्तरी गुजरातका कैयन् मानिस जोगिनेमा परेका थिए । हिमालहरू रित्तिएर नदी बग्न छोडेपछि नेपाल भूमिबाट मानिसहरू समुद्री किनारतर्फ पलायन भएका थिए । तिब्बतमा मानवजीवनको अस्तित्व समाप्त भइसकेको विश्वास गरिन्थ्यो । अफ्रिकी महाद्वीप पनि प्राणीविहीन बनिसकेको थियो । चीन, भारत र युरोप तथा अमेरिकाको केही खास–खास क्षेत्रमा मानवबस्ती जोगिएको थियो । सगरमाथामा पुगेर ज्यान बचाउन प्रयासरत उनीहरू सबैजसो गुजरातका बासिन्दा थिए ।

यसरी सगरमाथाको थाप्लोमा पुगेर बाँच्न गरिएको अन्तिम प्रयासस्वरुप उकालो चढिरहेका केही मान्छेमाथि थप बज्रपात त्यसबेला भयो जब आकाश गर्जंदै हात्तीको सुँढजस्तो मुसलधारे पानी वर्षन थाल्यो । कैयन वर्षपछिको पहिलो वर्षा ।

साँझको समय थियो त्यो । वर्षाको वेग रोकिएन । रात परिरहयो । झन्डै एक युगपछि भएको यो वर्षाको वर्णन मानवसिर्जित शब्दहरूमा गर्न सकिने प्रकारको रहेन । लाग्थ्यो, प्रकृति प्राणीहरूमाथि अन्तिम र निर्णायक कोर्रा वर्षाउँदै छ । उचालिँदो समुद्रबाट जोगिन खोज्नेहरू पानीका लौराले निर्मतापूर्वक चुटिँदै थिए । प्राणरक्षाको अन्तिम प्रयत्नमा जुटेका केही दर्जन मान्छे जो अघिल्लो साँझसम्म हातमा हात समातेर सँगै बाँच्ने र सँगै मर्ने इच्छा व्यक्त गर्दै थिए, उनीहरूलाई सँगै बाँच्ने र सँगै मर्ने अवसर प्राप्त भएन । वर्षाको वेगले उनीहरूलाई लथालिङ्ग बनाइदियो । को कता पुगे, को मरे या बाँचे भन्नेसम्मको जानकारी कसैले पाउन सकेनन् । मृत्युको अन्तिम प्रहार बनेर प्रकट भएको भीमकाय चट्याङको आवाज मात्र पनि मानिसको प्राण हरण गर्न पर्याप्त थियो । यसक्रममा कति मानिस चट्याङमा परेर मरे, कति पानीबाट चुटिएर मरे, कति बगे हेक्का रहेन । सबैले मृत्युवरण गर्न बाध्य हुनुपऱ्यो । अन्तिम प्रहार भयो दैवको ।

०००

भोलिपल्ट,

पूर्वतिरको आकाश रात्तिन थालेको देखियो, रात सकिन लागेको सङ्केत रात्तिएको आकाशले दिँदै थियो । बिस्तारै आकाश थामियो, पृथ्वीको यो कुनामा उज्यालोको मात्रा बढ्दै जान थाल्यो । सगरमाथालाई अगाडि पारेर सूर्य झुल्कने बेलासम्ममा वर्षात् पूरै रोकियो । सगरमाथालाई छोडेर सूर्य केही माथि पुग्दा उज्यालोले जगत् खोलिसकेको थियो । तर, सूर्यमा हिजोसम्मको दबदबापन आज थिएन । एक किसिमको न्यानोपन मात्र थियो । सूर्यले पहाडको सानो टाकुराको कुना–कुनासम्म आफूलाई पुऱ्याएको थियो, तर हिजो हिँडिरहेका दर्जनौँ मानिस थिएनन् । सबै मानिस सकिएको घोषणा त्यसबेलाको घोर मौनताले गरिरहेको थियो ।

तर, अचानक एउटा नारी–आवाजले प्रकृतिको सम्पूर्ण मौनता तोड्यो– ‘बाबु, बाहिर निस्क, वर्षात् रोकियो ।’

घनघोर वर्षा हुन थालेपछि अनायासै एउटा ओडारमा घुस्न पुगेका उनीहरू दुई त्यहीँ बस्दाबस्दै मृत्यु छलिएछ । हिजोसम्म बाँच्न सफल अरू सबै मानिस रातभरिमा अस्तित्वविहीन भइसकेका जानकारी बाँचेका ती दुईलाई हुन निमेषभर लागेन । आखिर पहाडको त्यो टाकुरो समुद्रमा छोपिनबाट जोगिएको सानो थिएन र त्यति धेरै फराकिलो पनि थिएन । एउटा ढिस्कोमा उभिएर उनीहरूले चारैतिर हेरे, कोही देखिएनन्, अनि चिच्याउन थाले, कोही छौ बाँचेका ?

जवाफ फर्किएन । बरू पहाडले प्रश्न नै फर्काइदियो ।

ती महिला जसको उमेर अन्दाजी २८ वर्षजतिको थियो र रहेको अर्को केटोले दश वर्ष पार गरेजस्तो लाग्दैनथ्यो । उनीहरू ढिस्कोबाट तल ओर्लिए, एकले अर्कोलाई अङ्कमाल गरे, चिच्याए, रोए, सुनिदिने कोही थिएनन् । तैपनि उनीहरू डाँको छोडेर रोए, घन्टौँसम्म रोइरहे ।

केटाले रूँदारूँदै सोध्यो, ‘बाबा खोइ ?’

उनका बाबा हराएका थिए, त्यहाँ चामत्कारिक ढङ्गले प्रकट हुने सम्भावना थिएन, तथापि पुत्रलाई सान्त्वना दिँदै तिनले भनिन्, ‘तिम्रा बाबा भोलि आउनुहुन्छ ।’ तर, निराकारलाई विश्वास थियो कि सचेत अब जीवित छैनन् ।

मृत्यु र संहारको लीला व्यहोर्दै यहाँसम्म आइपुगेकी निराकारलाई आफ्नो पति गुम्नुको पीडा जति गहिरो भए पनि त्यहाँ प्रकट भइरहेको थिएन । अझै तड्पिएर बाल–मस्तिष्कलाई चोट पुऱ्याउनु उचित नहुने ठानिन् उनले । वेदना छल्न खोज्दै निराकार बोलिन्, ‘तिम्रो हजुरबुबा, उहाँको नाम वर्जित, निकै ज्ञानी, गुणी र चर्चित पनि हुनुहुन्थ्यो । पृथ्वीको बढ्दो तापमानबारे जागरण ल्याउन उहाँले विश्वका धेरै मुलुकको भ्रमण गर्नुभएको थियो । उहाँकी पत्नी सरिनाले वर्जितको अभियानमा पूर्ण साथ दिनुभएको थियो । हजुरबुबा भन्ने गर्नुहुन्थ्यो, ‘बितेको मात्र आफ्नो हो, बित्न बाँकी हरेक क्षणहरू मृत्युकै हुन सक्छ । मृत्यु कसैको वशमा पनि छैन, आउन देऊ र लैजान देऊ, आफै पनि जान तयार होऊ ।’ उहाँको भनाइ मृत्युसँग नडराउनु भन्ने मात्र हो, मृत्युलाई अपनाऊ भन्नेचाहिँ थिएन नि !

‘हामी सबै मृत्युलाई छल्ने प्रयासमा थियौँ, संयोगवश हामी तत्कालका लागि छलियौँ तर सचेत छलिन सक्नुभएन, उहाँ बाँच्न सक्नुभएको भए मानव सृष्टिमा यति ठूलो सङ्कटको अवस्था पैदा नहुन सक्थ्यो’, भुइँमा थच्च बस्दै निराकारले भनिन् ।

सचेतलाई छातीभित्र गाँठो पारेर राख्दै पुत्रका निमित्त मुस्कुराउने अठोट गरिन् उनले ।

उनीहरू छुट्टिए, केही दूरीमा बसे, एकले अर्कोलाई हेरेर । हुन त त्यहाँ उनीहरूले हेर्ने कुरै पनि केही थिएन । एकले अर्कोलाई नहेरे उर्लिरहेको समुद्र हेर्नुपर्थ्यो या सूर्य, आकाश र पहाडका केही टाकुराहरू । उनीहरू अर्थात् सहोदर आमा–छोरा नै पृथ्वीको उभयचर प्राणीको दुर्लभ चिनो बनेर त्यहाँ प्रकट भएका थिए । मृत्युका सम्पूर्ण जाल छिचोलेर, यहाँसम्म आइपुग्दा पनि उनीहरू अझै निश्चिन्त थिएनन् आफ्नो जीवनप्रति । प्रकृतिले त्यहाँ पनि कतिबेला कुन डण्डा चलाएर सिध्याउने हुन् भन्ने चिन्ता उनीहरूमा थियो ।

प्यास उनीहरूमा थिएन, तर भोकले निकै सताइएका थिए ।

दिनहुँ उठ्दै आएको समुद्रमा अनेकौँ वस्तुहरू किनारामा तैरिरहेका थिए । उनीहरूले हात समातेर बिस्तारै तलतिर कदम बढाए । समुद्र भेट्न उनीहरूलाई धेरै समय लागेन । पानीमा तैरिरहेकामध्ये एउटा वनस्पतिको पातसहितको हाँगामा दुवैको आँखा पऱ्यो, आफू भएतिर ताने, सुँघे । के ठाने कुन्नि, त्यसपछि धमाधम चबाएर निल्न थाले ।

मध्याह्न भइसकेको थियो, तर हिजो–अस्तिजस्तो तापको सामना उनीहरूले गर्नु परिरहेको थिएन । अघिल्लो रात परेको पानीले पृथ्वीको वातावरणमा भारी परिवर्तन ल्याइसकेको थियो । वर्षौंपछि पृथ्वीमा केही स्वाभाविक वातावरण बहाली भएको थियो । रातका लागि समेत केही खानेकुरा छानेर लिई उनीहरू समुद्र किनारबाट माथितिर लागे । जुन ओडारले ज्यान बचाएको थियो उनीहरू त्यहीँ फर्किए । शरीरमा केही तागत पैदा भएको थियो ।

निराकारले घरभन्दा केही माथिको टाकुरोमा चढ्ने इच्छा राखिन् र अभ्यस्तलाई सोधिन्, ‘तिमी पनि जान्छौ ?’ अभ्यस्तले सहमति जनायो । दुवैजना टाकुरोतर्फ बढे । एकै घन्टापछि पुगे उनीहरू टाकुरोमा । चुलीमा उभिएर निराकारले चारैतिर हेरिन्, त्यसपछि चिच्याइन्, कोही छौ यस धर्तीमा ?

अभ्यस्तले पनि निराकारलाई साथ दिए– ‘कोही छौ धर्तीमा ?’ संयुक्त चिच्याहट चल्यो केहीबेर । जवाफ फर्केन । उनीहरू तल ओर्लिए । तर, दिनमा एकपटक टाकुरोमा पुग्ने र मानिसको खोजी गर्ने यो क्रम भने रोकिएन । चिच्याएर मान्छे खोज्ने क्रम धेरै दिनसम्म उनीहरूले जारी राखे ।

हरेक दिन साँझ परेपछि आकाश धुम्मिन्थ्यो र ठूलो वर्षा हुन्थ्यो, तर पछिल्लो समयको वर्षा अघिल्ला रातहरूमा जस्तो भयानक थिएन ।

रातभर पानी परिरहने हुनाले पृथ्वीमा बिस्तारै चिसोपन बढ्न थालेको थियो । त्यसै क्रममा एक बिहान उज्यालो हुँदासम्म साँच्चै नै जाडोले पृथ्वीलाई अँठ्याइसकेको थियो । घामको झुल्कोसँगै आमा–छोरा ओडारबाट बाहिर निस्किए, माथि शिखरतिर हिउँ परिरहेको देखे उनीहरूले । मध्याह्नमा हिउँ पर्न छोडे पनि पहाडको टुप्पो पूरै हिउँले ढाकिसकेको थियो । वर्षाअघिको अवस्थामा उनीहरूले त्यो पहाडलाई पाए । रातमा खाना सकिएको थियो, यो दिनको खानाको खोजीमा पुनः उनीहरू तलतिर ओर्लिए । समुद्र भेट्न पहिलेभन्दा अलिक बढी समय लाग्यो । सायद समुद्र केही तल झरेको थियो ।

पृथ्वीको दुवै ध्रुवमा सायद फेरि हिउँ जम्न थालेको थियो ।

पानीमा तैरिएको डङ्गुरबाट खानयोग्य जस्तो लाग्ने वस्तु निकालेर उनीहरू आफ्नो वासस्थानतिर फर्किए । यो क्रम महिनौंसम्म चलिरह्यो ।
(क्रमशः)

यसअघिको खण्ड हेर्नुहोस्–

यसरी ‘ढुङ्गा’ बन्दै थिए मानिस