मुलुकको स्वतन्त्रता र स्वाधीनतालाई धान्न नसक्ने राजनीतिको स्तर र चरित्र

मुलुकको स्वतन्त्रता र स्वाधीनतालाई धान्न नसक्ने राजनीतिको स्तर र चरित्र


■ केशवप्रसाद भट्टराई

‘सधैं स्वतन्त्र राष्ट्र रह्यौँ, परतन्त्रअन्तर्गत रहेनौँ’ भनेर हामी ठुल्ठूला दाबी गरिरहन्छौँ, आकाश–पाताल जोडेर हावादारी गुड्डी हाँक्छौँ । तर हाम्रो राजनीतिको स्तर र चरित्रले भने हाम्रो त्यो दाबीलाई निरन्तर खण्डन गरिरहेको छ ।

हामीले सात सालको क्रान्ति गऱ्यौँ, राणा शासन हटायौँ, तर नेपालको मन्त्रीपरिषद्को बैठकमा भारतीय राजदुत रहने र राजाका प्रमुख सचिवमा भारतीय निजामती सेवाका बहालवाला उच्च अधिकारीलाई ल्यायौँ !

भारतीय राजदुतले मन्त्री र प्रधानमन्त्रीसम्मलाई स्पष्टिकरण सोध्ने व्यवस्था ल्याएका थियौँ हामीले ।

हाम्रो मन्त्रीपरिषदभित्रका सदस्यहरूको विवाद भारतीय प्रधानमन्त्री र मन्त्रीहरूले मिलाइदिने दिन पनि देख्यो नेपालले ।

०००

त्यसको स्वरूपमा परिवर्तन आएको छ, सारमा छैन ।

सत्तारूढ दलभित्रको केही दिनअघिको सम्हालिनसक्नु जस्तो देखिने विवाद चिनियाँ सरकारको सशक्त हस्तक्षेपपछि एकाएक मिलेको देखियो ।

प्रभुसत्ता सानो र ठूलो हुँदैन, समान स्तरको हुन्छ भनेर फलाक्न नथाक्नेहरूले यसलाई कसरी लिएका छन्, यो कुरो उनै जानुन् !

नेपालका प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीहरूको स्तरको विवाद हल गर्ने व्यक्ति एउटा विदेशी मुलुकको सहसचिव स्तरको कर्मचारी हुने स्तरको छ हाम्रो राजनीति र हाम्रो स्वतन्त्रता !

०००

भारत संलग्न नभई नेपालले सात साल, ०४६ साल र ०६२–६३ को आन्दोलन सञ्चालन गर्न र थाम्न सकेन ।

भारतकै प्रत्यक्ष–परोक्ष सहयोग र प्रेरणामा काङ्ग्रेसले ०७ साल, १८ साल र ०३०–३१ सालमा सशस्त्र गतिविधि चलायो ।

भारतले रोक भन्ने बित्तिकै रोकेको इतिहास छ ।

नेपालमा सुरुङ युद्ध चलाउने गुड्डी हाँक्ने तर भारतको प्रेरणा, सहयोग र संरक्षणमा माओवादीको कथित विद्रोह सञ्चालन भएको अब घामजत्तिकै टड्कारो भइसकेको छ !

०००

भारतीय र चीनियाँ राजदुतहरू एवम् अधिकारीहरूसँगको नेपालका राष्ट्रपतिदेखि प्रधानमन्त्री र सेना प्रमुखहरूसम्मको सम्बन्धको लामो समयदेखिको प्रोटोकलको स्तर र चरित्रले एउटा स्वतन्त्र र सार्वभौम राष्ट्रको मर्यादा राखेको छ ?

काङ्ग्रेस, एमाले, माओवादी सबैलाई शक्ति र सत्तामा पुऱ्याउन भएका आन्दोलन, क्रान्ति र परिवर्तनहरूमा सहयोग गर्ने,

र साविकको सत्तालाई विस्थापित गर्न निर्णायक राजनीतिक, आर्थिक र रणनीतिक दबाब दिने शक्तिले साविकको सत्ता विस्थापित भएपछि आएको नयाँ सत्तासँग त्यसको मूल्य लिँदैन ?

माग्दैन ?

उसको हिस्सा लाग्दैन ?

यति निस्वार्थ चल्छ अन्तर्राष्ट्रिय राजनीति ?

शक्तिराष्ट्रहरूले आफ्नो रणनीतिक स्वार्थ नजोडिने कुनै मुलुकको आन्तरिक राजनीतिमा चासो राख्छन् ? सहयोग र हस्तक्षेप गर्छन् भन्ठान्नु हुन्छ ?

०००

हाम्रो प्रजातन्त्र वा लोकतन्त्र भनेको अत्यन्त सतही, निर्वाचनमुखी र केही व्यक्ति तथा दलको स्वार्थ र महत्वाकांक्षाको वरिपरि मात्रै घुमिरहने गरेको छ ।

हिंसाको स्वरूप अलग–अलग होला तर हिंसा नेपाली राजनीतिको मूलमा सधैँ रहने गरेको छ ।

नेपालमा राजनीतिक हिंसा र समूहले गर्ने हिंसालाई दण्ड दिने संविधान, नियम, कानुन, सरकार, अदालत बन्नै सकेन ।

०००

कानुन र कानुन कार्यान्वयन गर्ने संरचनाहरूको कमजोरी र कायरताका कारण नेपालमा दण्डहीनता, हिंसा र भ्रष्टाचार मात्रै मौलाएको छैन राज्यमा नियन्त्रण र सन्तुलन सधैँ गुम्ने गरेको छ ।

त्यसले राज्य–संरचनाहरूलाई झनै कमजोर बनाएको छ ।

बनाइरहेको छ ।

०००

मुलुकका साधन र स्रोतहरूमा र मुलुकलाई प्राप्त अवसरहरूमा योग्यता र क्षमताको आधारमा सबैलाई निर्वाध पहुँच नभएर केही व्यक्ति र दल वरिपरिका व्यक्तिहरूका लागि मात्र निर्धारित हुने गरिएकोले राष्ट्र र समाज सधैं आक्रोशित र कुण्ठित रहने गरेको छ ।

चुनाव जित्नु सत्ता र सरकारमा पुग्नु जीवन–मरणको सवाल बन्न पुग्ने गरेको छ नेपालमा !

सरकारहरूको स्वच्छता, राजनीतिक वैधता, र उत्तरदायित्वमा निरन्तर प्रश्नहरू उठिरहने अवस्थाले नेपालको राजनीतिले हिंसा र वाह्य हस्तक्षेपलाई सधैं आमन्त्रण गरिरहेको हुन्छ ।

अतिवादलाई प्रेरणा दिइरहेको हुन्छ ।

०००

दलहरू बीचको सम्बन्धमा अतिवाद,

दलभित्रका नेताहरू बीचको सम्बन्धमा अतिवाद,

सरकारका सदस्यहरूबीचको सम्बन्धमा अतिवाद र दलहरूका नेता, कार्यकर्ता, समर्थक र मतदाताहरूमा अतिवाद ।

विदेश सम्बन्धमा अतिवाद र अन्य मुलुकहरूलाई हेर्ने नेतादेखि कार्यकर्ता सम्मको दृष्टिकोणमा अतिवाद !

०००

हिंसा र द्वन्द्व जन्माउने चुनाव,

भ्रष्टाचार बढाउने चुनाव,

मतदाताहरू किनबेच हुने चुनाव,

जातिगत मतदानलाई प्रोत्साहन र संरक्षण गर्ने चुनाव,

विचारहीन र मूल्यहीन चुनाव अनि त्यस्तो चुनावपछि केन्द्रदेखि स्थानीय स्तरसम्म हुने चुनाव !

राम्रो र प्रभावकारी सरकार छान्न नभएर दल, जात र स्वार्थ छान्न हुने चुनाव !

०००

आमूल राजनीतिक परिवर्तन भनेको सत्ता सञ्चालनको स्वरूपमा मात्रै होइन, चिन्तनमा परिवर्तन हो !

संस्कृतिमा परिवर्तन हो ।

त्यस्तो चिन्तन र संस्कृतिमा परिवर्तन ल्याउने राज्यस्वरुप निर्माण हो !

चुनावको मर्यादा र व्यवस्थापन हो !

अतिवादलाई अन्त्य गर्ने राजनीतिको स्वरुप र चरित्र हो !

०००

हेरौँ शासन र शासनमा बस्नेको चिन्तनको शैली– कसैले आरोप लगायो एक जना सभामुख हटाइए !

को ल्याइए ?

कस्ता ल्याइए ? भनिरहन नै परेन !

एक जना कुनै मन्त्रीले कमिसन मागेको विवादित अडियो सार्वजनिक भयो, उनी हटे र हटाइए तर कस्ता–कस्ताचाहिँ पदमै टाँसिएर बसेका छन् भन्न परेन !

०००

कोही चुनाव हार्दछ तर चुनाव हारेको भोलीपल्टदेखि उसले विजयी व्यक्तिलाई सामूहिक रुपमा नै पाइलैपिच्छे काम गर्ने नदिने, अवरोध मात्रै पुऱ्याइरहने, कुनै निर्णय गर्ने नदिने र निर्णय गर्न नसक्ने भनेर छेकारो काटिरहने अवस्था हो !

यो कुनै व्यक्तिविशेषको कुरा होइन नेपाली राजनीतिको चरित्र हो !

यो स्तर र चरित्रको राजनीतिले प्रजातन्त्र र राष्ट्रको स्वाधीनता र स्वतन्त्रतालाई थाम्न सक्दैन ।

अनि मुलुकको स्वतन्त्रता र स्वाधीनताविरूद्ध जाने स्वतन्त्रता र स्वाधीनताको सडकछाप नारा उरालिन्छ !

०००

मुलुकमा जतिखेर जे पनि हुन सक्दछ !

प्रजातन्त्र भनेको सबैले सुरक्षित मर्यादित जीवन बाँच्न पाउने अधिकारसहितको शासन प्रणाली हो !

त्यसको लागि दलहरू, सरकारहरू र राज्ययन्त्रहरू मर्यादित र अनुशासित हुनुप ऱ्यो !

त्यो स्वैच्छिक कुरो होइन,

बलियो राजनीतिक, कानुनी, नैतिक बन्धन र व्यवस्थाको कुरा हो ।

त्यसको लागि मुलुकले एउटा केन्द्र निर्माण गर्नु पर्दछ !

मियो गाड्नु पर्दछ !

अम्पायर चाहिन्छ !

मुलुकको केन्द्र मासिएकोले, मियो ढालिएकोले अब लैनचौर वा हात्तिसार र बालुवाटार केन्द्र बन्न पुगेको छ ।

अनि भारतीय र चीनियाँ राजदूतहरू हातमा सिठ्ठी लिएर नेपाली राजनीतिमा अम्पायरिङ गरिरहेका छन् ।

त्यसले नेपालको सङ्कटलाई अत्यन्त जटिल र संवेदनशील बनाएको छ !

नेपालको स्वतन्त्रता, स्वाधीनता र प्रभुसत्ता ???