रा.यु. परिषद्का उपाध्यक्षमा पुनर्नियुक्ति पाएका ढुङ्गेलद्वारा पदभार ग्रहण

रा.यु. परिषद्का उपाध्यक्षमा पुनर्नियुक्ति पाएका ढुङ्गेलद्वारा पदभार ग्रहण


राष्ट्रिय युवा परिषद्को कार्यकारी उपाध्यक्षमा माधवप्रसाद ढुङ्गेलले पदभार ग्रहण गरेका छन् । युवा तथा खेलकूदमन्त्री तथा परिषद्का अध्यक्ष जगतबहादुर विश्वकर्माले शुक्रबार (१६ जेठ) पद तथा गोपनीयताको सपथ खुवाएपछि परिषद्को कार्यालयमा पुगी ढुङ्गेलले पदभार ग्रहण गरेका हुन् ।

सपथग्रहण समारोहमा मन्त्री विश्वकर्माले युवालाई उद्यमशील बनाई मुलुकलाई समृद्ध बनाउनुपर्ने धारणा राखे भने कार्यकारी उपाध्यक्ष ढुङ्गेलले युवालाई स्वरोजगार बनाई आत्मनिर्भर बनाउनेतर्फ आफ्नो ध्यान केन्द्रित हुने बताए । आफ्ना पुराना कामलाई निरन्तरता दिँदै थप युवाका विभिन्न काममा निरन्तर रहने पनि उनले बताए ।

गत जेठ १२ गते बसेको मन्त्रिपरिषद् बैठकले ढुङ्गेललाई चार वर्षका लागि सो पदमा नियुक्त गरेको हो । यसअघि पनि उनी विसं २०७२ फागुन १९ गते चार वर्षका लागि नियुक्त भएका थिए । उनको कार्यकाल गत फागुन १८ गते सकिएपछि परिषद्का कार्यकारी उपाध्यक्षको पद खाली रहेको थियो ।

तत्कालीन नेकपा (एमाले)को विद्यार्थी सङ्गठन अनेरास्ववियुका पूर्वकेन्द्रीय अध्यक्षसमेत रहेका ढुङ्गेलले आफ्नो अघिल्लो कार्यकालमा ७५ जिल्लामा युवाको नेतृत्वको विकासका लागि एउटा सङ्घीय, सात प्रदेश, ७७ जिल्ला र ९१ स्थानीय तह नमूना युवा संसद्, युवालाई उद्यमतिर आकर्षित गर्नका लागि बिना धितो ऋण उपलब्ध गराउने युवा उद्यम कार्यक्रम, शैक्षिक प्रमाणपत्र आधारमा उद्योगका लागि ऋण उपलब्ध गराउने कार्यक्रम ल्याएका थिए ।

सरकारले विसं २०७२ मा युवा क्षेत्रमा काम गर्ने भनेर परिषद् गठन गरेको थियो ।

pict: rss