कपिलवस्तुमा सातमहिने बालकसहित ५२ जनामा कोरोना सङ्क्रमण

कपिलवस्तुमा सातमहिने बालकसहित ५२ जनामा कोरोना सङ्क्रमण


नारद कोहार, तौलिहवा

कपिलवस्तुमा शुक्रबार नाबालकसहित ५२ नयाँ सङ्क्रमित थपिएका छन् । थपिएकामध्ये ३६ जना यशोधरा गाउँपालिकाका र बाँकी अन्य चार पालिकाका रहेका जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ ।

जिल्लाका कोरोनो फोकल पर्सन कुमार थापाका अनुसार सङ्क्रमितमध्ये सातमहिने नाबालक वडा नम्बर ५ को अनिरुथ माविको क्वारेन्टिनमा बसेका थिए । अन्य २२ जना वडा ६ को वासुदेव जनता माविको क्वारेन्टिनमा, चार जना वडा नम्बर ३ को तीर्थधार्मिक माविमा र सात जना वडा नम्बर ७ मा रहेको जनता माविमा रहेको गाउँपालिकाका स्वास्थ्य संयोजक ज्योतिप्रकाश दुबेले बताए ।

जिल्लाको कृष्णनगर नगरपालिकामा शुक्रबार ११ जनामा कोरोना पुष्टि भएको छ । तीमध्ये दुई जना नगरपालिकाकै कर्मचारी रहेको नगरपालिकाका स्वास्थ्य संयोजक अनिलकुमार विश्वकर्माले बताएका छन् । उनका अनुसार अन्य नौ जना १४ दिनअघि भारतबाट आएका थिए जसमा वडा नम्बर १० मा दुई, वडा नम्बर १ मा चार, वडा नं ५ मा एक र वडा नम्बर २ मा दुईमा कोरोना पुष्टि भएको छ ।

उनीहरु आ–आफ्नो वडामा निर्माण गरिएको क्वारेन्टिनमा बसेका थिए । विजयनगर गाउँपालिकाको वडा नम्बर ७ मा दुई र वडा नम्बर ३ मा एकमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको गाउँपालिका अध्यक्ष गोपाल थापाले जानकारी दिए । तीनैजना भारतबाट केही साताअघि निर्माण गरिएको रामशरण प्राविको क्वारेन्टिनमा बसेका थिए । उनीहरुलाई गाउँपालिकामा निर्माण गरिएको आइसोलेशनमा राखी उपचार गरिने बताइएको छ ।

बुद्धभूमि नगरपालिकामा एक सञ्चारकर्मीसहित अर्का वडा नम्बर ८ का एकमा सङ्क्रमण पुष्टि भएको छ । उनी केही दिनअघि भारतबाट आएर वडामा निर्माण गरिएको निमडाँडा माविको क्वारेन्टिनमा बसेको बुद्धभूमि नगरपालिकाका स्वास्थ्य प्रमुख डोलविक्रम बेल्वासेले जानकारी दिए । दुई जनाको अवस्था सामान्य छ । कपिलवस्तुमा अहिलेसम्म चार सञ्चारकर्मीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पुनः एकमा सङक्रमण देखिएसंँगै सङक्रमित पत्रकारको सङख्या चार पुगेको हो । यसअघि बाणगङ्गामा दुई र कपिलवस्तु नगरपालिकामा एक सङ्क्रमित देखिएका थिए ।

पत्रकारमध्ये तीन पुरुष र एक महिला सङक्रमित भएका हुन् । सङ्क्रमण पुष्टि भएका दुई पत्रकार तौलिहवास्थित माहुरी होमको गेष्टहाउसमा सञ्चालित आइसोलेशनमा तथा दुई जना बुटवलस्थित एन्फा एकेडमीको आइशोलेशन अस्पतालमा छन् । यससंँगै कुल सङ्क्रमितको संख्या जिल्लामा १ सय ८८ पुगेको जिल्ला स्वास्थ्य कार्यलयले जनाएको छ । सङ्क्रमित ५२ मध्ये ४९ भारतबाट केही साताअघि आएका थिए ।