शरीरबाट गोली निकालेपछि घाइते गर्भिणी घोरल खतरामुक्त

शरीरबाट गोली निकालेपछि घाइते गर्भिणी घोरल खतरामुक्त


लाङटाङ राष्ट्रिय निकुञ्जको हेलम्बुस्थित तिम्बुको जङ्गलमा गोली लागेर घाइते भएकी गर्भिणी घोरलको गोली निकालिएको छ । ललितपुरस्थित सदर चिडियाखानामा घाइते घोरलको गोली निकालिएको हो ।

अहिले घोरल खतरामुक्त रहेको र स्वास्थ्यस्थित सुधारोन्मुख रहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।

हेलम्बु गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पाले दिएको जानकारीअनुसार गत शनिबार (१० जेठ) गोली लागेर घाइते भएकी घोरलको नेपाली सेनाले उद्धार गरेको थियो । घोरलको टाउको र दायाँ खुट्टाको पातोमा गोली लागेको छ ।

तिम्बुको जङ्गलस्थित अम्बाथान नजिकै जङ्गलबाट उद्धार गरिएको घाइते घोरलको उपचारका लागि गाउँपालिका र लाङटाङ राष्ट्रिय निकुञ्जको समन्वयमा सोमबार सदर चिडियाखाना ललितपुर लगिएको थियो । हेलम्बु हिमाली र मध्यपहाडी क्षेत्रमा पर्ने राष्ट्रिय निकुञ्जको क्षेत्र हो ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षणसम्बन्धी कानूनले निकुञ्ज क्षेत्रमा शिकार गर्न पाइँदैन र पनि घोरललगायतका बन्यजन्तुको मासु खानका लागि चोरी शिकारी हुने गरेको छ । गोली प्रहार गर्नेको खोजी भइरहेको निकुञ्जले जनाएको छ ।

symbolic picture: google