सर्वोच्चको आदेशमा रिहा भएलगत्तै प्रतिबन्धित नेकपाका नेता पुनः पक्राउ

सर्वोच्चको आदेशमा रिहा भएलगत्तै प्रतिबन्धित नेकपाका नेता पुनः पक्राउ


प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय तहका एक नेता लेखराज गजमेरलाई बुधबार (१४ जेठ) साँझ काभ्रे (धुलिखेल)बाट गिरफ्तार गरिएको छ । विप्लव नेतृत्वको नेकपाअन्तर्गत दलित मुक्ति मोर्चाका केन्द्रीय सदस्य गजमेरलाई जिल्ला प्रहरी कार्यालय धुलिखेलले थुनामुक्त गरेलगत्तै सादा पोशाकका प्रहरीले पुनः गिरफ्तार गरेका हुन् ।

गजमेरलाई पुनः गिरफ्तार गरी प्रहरीले काठमाडौं ल्याएका बताइएको छ । सङ्गठित अपराधअन्तर्गत विस्फोटक पदार्थ मुद्दामा केही महिनाअघि पक्राउ परेका गजमेरलाई बुधबार सर्वोच्च अदालतको आदेशमा थुनामुक्त गरिएको थियो । सर्वोच्चको आदेशानुसार जिल्ला अदालत काभ्रेपलाञ्चोकका श्रेस्तेदार गोविन्दप्रसाद घिमिरे र अधिकारकर्मी हिरामान लामाको रोहवरमा गजमेरलाई थुनामुक्त गरिए पनि लगत्तै पक्राउ गरिएको हो ।

बताइएअनुसार गजमेरलाई धुलिखेल प्रहरीले थुनामुक्त गरेलगत्तै प्रहरी निरीक्षक सुरेश खत्री नेतृत्वको सादा पोशाकका प्रहरी टोलीले जिल्ला प्रहरी कार्यालय काभ्रे (धुलिखेल)को अघिल्तिरबाट गिरफ्तार गरिएको हो । उनलाई गत वैशाख १८ गते जिल्ला प्रहरी कार्यालय रामेछापको हिरासतबाट काभ्रेपलाञ्चोक ल्याइएको थियो । केही महिनाअघि सिन्धुपाल्चोकबाट गिरफ्तारीमा परेका गजमेरलाई सङ्गठित अपराधअन्तर्गत विस्फोटक पदार्थ मुद्दामा दोलखा, रामेछापपछि काभ्रेपलाञ्चोकमा मुद्दा चलाइएको थियो ।

गजमेरले यही जेठ २ गते सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दिएपछि सर्वोच्चले थुनामुक्त गर्न आदेश दिएको थियो ।