भीमसेनपथ कि जङ्गवाद ?

■ देवप्रकाश त्रिपाठी



कोरोना आक्रमणबाट कसरी सुरक्षित हुने र यो युद्धमा विजय भइसकेपछिको जीवनलाई कसरी सहज तुल्याउने भन्ने आम चिन्ताले समाज जलिरहेका बेला नेपालीलाई राष्ट्रियताको अर्को चिन्ता थपिएको छ । २०३१ सालमा सिक्किम भारतमा विलय हुनु र २०३२ सालदेखि नेपालको नयाँ (लिपुलेखदेखि लिम्पियाधुरासम्मको भूभाग छोडेर बनाइएको) नक्सा प्रचलनमा ल्याइनु सम्भवतः संयोग मात्र थिएन । लामो समयदेखि दुई मुलुकबीच विवादको विषय बनेको भूभागलाई ‘क्यान्सर लागेको अङ्ग काटेर जीवनरक्षा गर्न खोजेको’ शैलीमा चटक्कै बाहिर पारी नयाँ नक्सा जारी गर्न तत्कालिक राजा वीरेन्द्र किन बाध्य भएका होलान् भन्ने विषयमा खोजिनीति भएको छैन ।

सामान्यतया सबै राजाहरू देशभक्त हुन्छन् र, विभिन्न कारणवश राजा वीरेन्द्रलाई अलिक बढी नै देशभक्त ठान्ने गरिन्छ । २०४६ सालमा तत्कालिक भारतीय संस्थापनको प्रस्ताव अस्विकार गरी बहुदलीय व्यवस्था प्राप्तिका निम्ति आन्दोलनरत पक्षसँग सम्झौता गरेको र नागरिकतासम्बन्धी विषयमा बलियो अडान लिएका कारण वीरेन्द्रलाई देशभक्त राजाका रूपमा हेरिएको हो । त्यस्ता राजाले विना कुनै कारण नक्साको आकार बदलेको ठान्न सकिन्न । सिक्किमको विलयलगत्तै भारतले उपभोग गरिरहेको जमिन प्रचलित नक्साबाट हटाएर नयाँ नक्सा जारी गर्नुले त्यसबेला भित्रभित्रै केही गम्भीर घटनाको आभास गरिएको सङ्केत गर्दछ । त्यसरी राष्ट्रवादी राजाको कार्यकालमा बदलिएको नक्सा पुनर्स्थापित गर्ने प्रयास प्रधानमन्त्री केपी शर्मा ओलीको समयमा भएको छ ।

देशको क्षेत्रफल बढ्ने या गुमेको भूभाग फिर्ता लिइने प्रयासका विरुद्ध कोही उभिन सक्दैनन् । नेपाल सरकारले लखनउ नै दाबी गरेको भए पनि धेरैजसो नेपाली त्यस्तो दाबीको समर्थनमा हुन्थे भने कालापानी क्षेत्र भोगचलन भारतले गर्दै आएको भए पनि नेपालले विधिवत आफ्नो स्वामित्व परित्याग नगरेको क्षेत्र हो । त्यसैले प्रधानमन्त्री केपी ओलीको नक्सा ‘बदल्ने’ प्रस्तावको विपक्षमा खडा हुन कुनै पनि नेपालीले खोज्ने छैनन् । हरेक देशभक्त र राष्ट्रवादी नेपाली केपीको पक्षमा उभिएका छन् । त्यसैगरी भारत–विरोधलाई राष्ट्रवादको आधार बनाउनेहरू र भारतको वर्तमान संस्थापन (भाजपा तथा नरेन्द्र मोदी) सँग नेपालको मधुर सम्बन्ध नचाहनेहरूका निम्ति पनि केपीको कदम ‘अत्यन्त स्वागतयोग्य’ हुन पुगेको छ ।

आफ्नो नेतृत्वको सरकार विस्थापित गर्न ‘बाह्य शक्ति’ लागिपरेको ठहर गरिनु र त्यसलगत्तै नेपालको ‘नयाँ नक्सा’ जारी गर्न केपी ओली तयार हुनुलाई पनि संयोग मात्र मान्नुपर्छ भन्ने होइन । ‘नयाँ नक्सा’ जारी भएलगत्तै केपी शर्मा ओलीको उचाइ स्वात्तै बढेको छ, हिजोसम्म केपीको पदमुक्तिका निम्ति सडकमा उत्रन तयार रहेकाहरू अब केपीको प्रतिरक्षामा खडा भएका छन् ।

पुरानो नेपालको नयाँ नक्सा जारी गर्न प्रधानमन्त्री केपी ओली अचानक अग्रसर हुनुभयो । राष्ट्रिय जनता पार्टीलाई सरकारमा सामेल गराउन नसक्नु, हाल समाजवादी नाममा रहेको मधेशकेन्द्रित समूहका सांसदहरूलाई पुनर्संङ्गठित हुन सहज होस् भन्ने हेतुले ल्याइएको राजनीतिक दलसम्बन्धी अध्यादेश तत्काल फिर्ता लिने स्थिति बन्नु, रातारात मधेशकेन्द्रित समूहहरूबीच पार्टी एकीकरणको घोषणा हुनु र पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाललाई प्रचण्डबाट छुटाएर आफ्नो पक्षमा ल्याउन भएका अनेकौँ प्रयास सफल नहुनुमा केपीले ‘बाह्य शक्तिको हात’ देख्नुभएको बुझिन्छ । आफ्नो नेतृत्वको सरकार विस्थापित गर्न ‘बाह्य शक्ति’ लागिपरेको ठहर गरिनु र त्यसलगत्तै नेपालको ‘नयाँ नक्सा’ जारी गर्न केपी ओली तयार हुनुलाई पनि संयोग मात्र मान्नुपर्छ भन्ने होइन ।

‘नयाँ नक्सा’ जारी भएलगत्तै केपी शर्मा ओलीको उचाइ स्वात्तै बढेको छ, हिजोसम्म केपीको पदमुक्तिका निम्ति सडकमा उत्रन तयार रहेकाहरू अब केपीको प्रतिरक्षामा खडा भएका छन् । केपीलाई विस्थापित गरेर नयाँ सरकार बनाउन तम्सिएकाहरू पनि नक्सा जारी भएपछि ‘ठण्डा’ भएका छन् । ‘नयाँ नक्सा’ लाई बदलेर पुरानै नक्सा यथावत राख्ने हिम्मत अब कुनै राजनीतिक दल या तिनका नेताबाट जाहेर हुन असम्भवप्रायः छ । ओलीले सच्याएको नक्सा नसच्याएसम्म नेपाल र भारतबीचको सम्बन्ध सामान्य अवस्थामा फर्कने देखिँदैन र, अब प्रचण्ड, बाबुराम, विमलेन्द्र, राजेन्द्र या महन्थ नै सरकारप्रमुख बने पनि तिनले केपीद्वारा जारी नक्सा खारेज गरी पुरानै नक्सा यथावत राख्न महाकठिन छ ।

भारत लिपुलेख र कालापानी क्षेत्रको स्वामित्वका बारेमा जति स्पष्ट छ, उसले नेपालको उक्त भूभाग कुनै हालतमा नछोड्ने पनि त्यति नै स्पष्ट छ । सरकारले ‘नयाँ’ नक्सा जारी गरेपछि भारतीय संस्थापन स्तब्ध र क्रुद्ध भएको बुझिन्छ । तथापि यसअघि कालापानी क्षेत्रको विषयलाई लिएर सामान्य संवादसम्म गर्न तयार नभएको भारत नेपालमा संविधान संशोधन प्रक्रिया तत्कालका निम्ति स्थगित भए द्विपक्षीय संवाद शुरु गर्न राजी भयो । भारत यसरी वार्ताद्वारा सीमा विवाद अन्त्य गर्न अग्रसर हुनु नेपालका निम्ति सुखद र केपी ओलीका निम्ति सफलताको विषय मान्न सकिन्छ । तर संविधान संशोधन प्रक्रिया रोकेर भारतसँग संवाद सुरु गर्ने इच्छ केपीले दर्शाउनुभएन र, संविधान संशोधन गरी नयाँ नक्सालाई वैधता दिइएको अवस्थामा सम्भवतः भारत नेपालसँग सम्वादका निम्ति इच्छुक हुने छैन । त्यस्तो अवस्थामा भारतले नेपाललाई कुन स्तरको प्रतिक्रिया जनाउन सक्छ, त्यो यतिबेला प्रतीक्षाको विषय बन्दैछ । नयाँ नक्सालाई दिइने वैधता भारतका निम्त नेपालका तर्फबाट थपिएको नयाँ चुनौती हुनेछ । यतिबेला लद्दाखलगायत भारतको सीमा क्षेत्रमा चीनले सैन्य उपस्थिति अचानक स्वात्तै बढाएको छ । कोरोनासँगको युद्धमा भारत अमेरिका निकट देखिएसँगै चीनले भारतसँगको सीमा क्षेत्रमा सैन्य गतिविधि बढाउनुलाई सामान्य रुपमा बुझ्नु हुँदैन । यसको सिधा असर अब कालापानी क्षेत्रमा पनि पर्नेछ र, त्यहाँ भारतले आफ्नो सैन्य उपस्थिति थप सुदृढ तुल्याउने सम्भावना बढेको छ, जुन नेपालका निम्ति सुखद होइन ।

यसअघि कालापानी क्षेत्रको विषयलाई लिएर सामान्य संवादसम्म गर्न तयार नभएको भारत नेपालमा संविधान संशोधन प्रक्रिया तत्कालका निम्ति स्थगित भए द्विपक्षीय संवाद शुरु गर्न राजी भयो । भारत यसरी वार्ताद्वारा सीमा विवाद अन्त्य गर्न अग्रसर हुनु नेपालका निम्ति सुखद र केपी ओलीका निम्ति सफलताको विषय मान्न सकिन्छ । तर संविधान संशोधन प्रक्रिया रोकेर भारतसँग संवाद सुरु गर्ने इच्छ केपीले दर्शाउनुभएन र, संविधान संशोधन गरी नयाँ नक्सालाई वैधता दिइएको अवस्थामा सम्भवतः भारत नेपालसँग सम्वादका निम्ति इच्छुक हुने छैन ।

विगतमा भारत र चीनबीच तनाव र द्वन्द्वको स्थिति रहँदा पनि नेपाली भूमिबाट आफू असुक्षित ठान्ने स्थितिमा भारत थिएन । तर नेपालको कम्युनिष्ट सरकारप्रति अब भारत विश्वस्त नरहन सक्छ र, त्यस कारणले नेपालीका निम्ति थप दुःखका दिन शुरु हुनसक्ने आशङ्का बढाएको छ । काठमाडौंप्रति विश्वस्त हुन नसक्ने अवस्थामा भारत नेपालको सीमाभित्रै ‘बफर जोन’ उत्पत्ति गराउने कार्यमा जुट्यो भने पनि त्यो आश्चर्यको विषय नहुन सक्छ । भारतसँगको तनाव नेपालको आर्थिक, राजनैतिक, सामाजिक र भौगोलिक समस्याको मूल कारण बन्न सक्नेतर्फ सचेत रहँदै नेपाल सरकारले अहिले नै परिपक्व कुटनीतिक ब्यवहार दर्शाउन सक्नु पर्दछ ।

मानिसको मूल्याङ्कनका आधार अनेक हुन सक्छन् । कसैलाई खराब, असल या उच्च कोटिको भन्न उसको चरित्र, व्यबहार, बोलिवचन, इमानदारी र कार्य क्षमता जस्ता विषयलाई आधार मानिन्छ । तर, सार्वजनिक जिम्मेवारीमा रहेका मानिसको मूल्याङ्कन मूलतः तीनवटा आधारमा गरिनुपर्दछ । भूमिका अर्थात् जिम्मेवारीमा रहेका व्यक्तिको नियत, निजको कार्य र कार्य–परिणाम नै मूल्याङ्कनका मूख्य आधार हुन् ।

हामी सबै मानिस सामान्यतया दुई प्रकारका हुन्छौँ, एकथरी बुद्धि अर्थात् दिमागप्रधान र अर्काथरी मन अर्थात् भावनाप्रधान । युवावयमा अधिकाङ्श मानिस भावनाको वशमा पर्ने भए पनि परिपक्वतासँगै प्रायः मानिस बुद्धिप्रधान व्यक्तिमा रुपान्तरित हुन थाल्छ । यद्यपि, कतिपय मानिस उमेरले नेटो काट्न लाग्दा पनि तिनको व्यवहारमा परिपक्वता भेटिँदैन । भावना र बुद्धिको सन्तुलन कायम राख्दै जीवन बिताउन सक्नुलाई उत्तम किन मानिन्छ भने जो दिमाग मात्र चलाउँछन् ती कठोर एवम् निजी स्वार्थप्रधान चरित्रका हुन्छन् र, जो भावनाप्रधान छन् ती तत्कालिक परिस्थितिको दास बन्छन् । तरल स्वभावको हुने हुनाले भावनाप्रधान व्यक्तिहरू आफूले गरेको कामले भोलि भविष्यमा पार्ने असर–प्रभावबारे हेक्का राख्न खोज्दैनन् । आवेगमा निर्णय लिने र फुर्सदमा पछुताउने या पटक–पटक गल्ती गरिरहने ब्यवहार उनीहरूबाट हुने गर्दछ । बुद्धिले मानिसलाई स्थिर बनाउँछ र भावनाले चलायनमान, त्यसैले बुद्धि र भावनाको सन्तुलन नभएका मानिसको ब्यवहार तथा कार्य परिणाम सामान्यतया अस्वाभाविक नै हुने गर्दछ ।

‘नयाँ नक्सा’ लाई बदलेर पुरानै नक्सा यथावत राख्ने हिम्मत अब कुनै राजनीतिक दल या तिनका नेताबाट जाहेर हुन असम्भवप्रायः छ । ओलीले सच्याएको नक्सा नसच्याएसम्म नेपाल र भारतबीचको सम्बन्ध सामान्य अवस्थामा फर्कने देखिँदैन र, अब प्रचण्ड, बाबुराम, विमलेन्द्र, राजेन्द्र या महन्थ नै सरकारप्रमुख बने पनि तिनले केपीद्वारा जारी नक्सा खारेज गरी पुरानै नक्सा यथावत राख्न महाकठिन छ ।

यसै सन्दर्भमा स्विडेनमा कुनै राजाले राजनीतिक विचारसँग जोडेर मानिसको रोचक वर्गीकरण गरेको स्मरण हामीमध्ये धेरैलाई छ । ती राजाको विचारमा जो मानिस पच्चीस वर्षको उमेरसम्म कहिल्यै कम्युनिष्ट बन्दैन तिनको भावना (Heart) हुँदैन र, जो पच्चीस वर्षको उमेर पार गरे पछि पनि कम्युनिष्ट भइरहन्छन् तिनको बुद्धि (Head) हुँदैन । यो भनाइलाई धेरै हदसम्म सही मानिस पनि निरपेक्ष ढङ्गले बुझ्नु किन अनुचित छ भने कैयन गैरकम्युनिष्ट मान्छे पनि जीवनभर भावनाप्रधान देखिएका हुन्छन् र त्यस्ता मानिस लहडी निर्णय लिन्छन् । नेपालको सन्दर्भमा कम्युनिष्ट भएर पनि मदन भण्डारीका विचार र व्यवहार सन्तुलित मानिन्छ भने कुनै समय कम्युनिष्टविरोधी मानिएका गिरिजाप्रसाद कोइरालाका हरेक कदम प्रतिक्रियात्मक अर्थात् भावावेसी रहेको पाइन्छ । त्यस्तै ऐतिहासिक पात्रहरूतर्फ दृष्टिगोचर गर्दा भीमसेन थापा पूर्ण रुपले भावनाप्रधान अर्थात् लहडी शिद्ध भएका छन् । पृथ्वीनारायण शाह, जङ्गबहादुर राणा, राजा महेन्द्र, बीपी कोइराला र कृष्णप्रसाद भट्टराईमा बुद्धि र भावनाको अद्भूत सङ्गम भेटिन्छ । मनोविज्ञानले सम्वेदनाहरू असामान्य भएका बेला कुनै पनि निर्णय लिइनुलाई जायज मान्दैन । रिसाएका बेला, खुशी या दुःखी र दिग्दारीको समयमा लिइने निर्णयहरू प्रायः सही हुँदैनन् भन्ने मनोविज्ञानको मान्यता हो । तर नेपालमा बुद्धिले काम लिन खोज्नेहरू भन्दा भावनामा बग्नेहरूको उच्च मुल्याङ्कन हुने गरेको छ ।

भीमसेन थापाको देशभक्तिपूर्ण भावना सबैका निम्ति अनुकरणीय छ, उनले देशका निम्ति पुऱ्याउन खोजेको योगदानको सदा स्मरण पनि गर्ने गरिन्छ । जबकि कार्य र कार्य परिणामले भीमसेन थापालाई योग्य र सही ठहर गर्दैन । भीमसेनको स्वाभिमान तथा देशभक्तिपूर्ण भावनाको उच्च मूल्याङ्कन गर्दै राज्यले उनलाई राष्ट्रिय विभूति घोषणा गरेको पनि छ । भीमसेन थापालाई सम्झँदा हामी उनको स्वाभिमान र साहस अतुलनीय भएको स्मरण गर्छौं, जबकि उनको लहडी निर्णयका कारण नेपालले एक लाख पाँच हजार वर्ग किलोमिटर क्षेत्रफल जमिन गुमाउनु परेको यथार्थलाई हामी सम्झन खोज्दैनौँ । वास्तवमा आफूलाई लोकप्रिय एवम् अमर तुल्याएर राष्ट्रलाई अपुरणीय क्षति पुऱ्याउने व्यक्ति भीमसेन थापा हुन् भनियो भने त्यो गलत हुने छैन, तर यो यथार्थ स्विकार गर्न खोज्दैनौँ र आफ्नो बुद्धि र कौशल प्रयोग गरी परिणाम नेपालको पक्षमा ल्याउने जङ्गबहादुर राणाको उचित मुल्याङ्कन गर्न पनि हामी चाहँदैनौँ । जङ्गबहादुर आफू उपेक्षित र अपमानित छन्, आफूलाई लोकप्रिय तथा अमर बनाउने भन्दा देशलाई बढिभन्दा बढि लाभ पुऱ्याउनेतर्फ उनी सदैव सचेत र संवेदनशील रहेको अवस्थामा इतिहासमा भेटिन्छन् ।

मनोविज्ञानले सम्वेदनाहरू असामान्य भएका बेला कुनै पनि निर्णय लिइनुलाई जायज मान्दैन । रिसाएका बेला, खुशी या दुःखी र दिग्दारीको समयमा लिइने निर्णयहरू प्रायः सही हुँदैनन् भन्ने मनोविज्ञानको मान्यता हो । तर नेपालमा बुद्धिले काम लिन खोज्नेहरू भन्दा भावनामा बग्नेहरूको उच्च मुल्याङ्कन हुने गरेको छ ।

सार्वजनिक जिम्मेवारीमा रहेका मानिसलाई निजको नियत, कार्य र कार्य–परिणामका आधारमा मूल्याङ्कन गरिने सैद्धान्तिक कोणबाट हेर्दा भीमसेन थापाको नियत मात्र राम्रो र सफा देखिन्छ । नियत कार्य र कार्य–परिणामका आधारमा जङ्गबहादुरलाई अब्बल ठहर गर्न सकिन्छ । भीमसेनले औधि देशभक्तिको भावनाले ओतप्रेत भएर ब्रिटिस इण्डियासँग युद्ध लडी एक लाख पाँच हजार वर्ग किलोमिटर नेपाल भूभाग गुमाएको भए पनि उनको नियत र भावना पक्षको उच्च सम्मान गर्दै हामीले राष्ट्रिय विभूति बनाएका छौँ, तर नियत कार्य र कार्य–परिणाममा अब्बल भएर पनि हामी जङ्गबहादुरलाई एउटा ‘हत्यारा’ र ‘विदेशी दलाल’का रूपमा बुझ्न खोज्दैछौँ । त्यसैले यो मुलुकमा परिणामका लागि काम गर्नेहरूभन्दा भावनाको भेल बगाएर आफूलाई नायक बनाउन खोज्नेहरूको बोलवाला बढेको छ । देशलाई क्षति पुऱ्याएर पनि स्वाभिमान र साहस प्रस्तुत गर्नुलाई ‘भीमसेन पथ’ भन्न सकिन्छ भने आफूलाई बदनामीको वास्ता नराखेर पनि देशको पक्षमा परिणाम हासिल गर्ने विचारलाई ‘जङ्गवाद’ भन्नु उपयुक्त हुन्छ । प्रधानमन्त्री केपी शर्मा ओली ‘भीमसेनपथ’ र ‘जङ्गवाद’ मध्ये कुनै पनि मार्ग अवलम्बन गर्न पाउने सुविधामा यतिबेला हुनुहुन्छ । अर्को सुगौली सन्धि गर्नुपर्ने बाध्यात्मक अवस्थामा देशलाई पुग्न नदिने हो भने केपी ओलीले निकै सुझबुझपूर्ण कार्य व्यवहार प्रस्तुत गर्न सक्नुपर्छ ।

प्रमुख राजनीतिक दलका अरु कुनै पनि शीर्ष तहका नेताहरूबाट कालापानी क्षेत्र समेटिएको नक्सा जारी हुन सम्भव थिएन । केपी ओलीको ‘आत्मविश्वासपूर्ण साहसिक’ क्षमताका कारणले मात्र यो कार्य सम्भव भएको हो । तर नक्सा जारी गरेर य संविधान संशोधन गरी त्यसलाई वैधानिकता दिएर मात्र यो कदमले पूर्णता प्राप्त गर्छ भन्ने होइन । केपीको अघिल्तिर नक्सामा समेटिएको भूगोलमा नेपालको भोगचलन स्थापित गर्ने जस्तो कठिनतम् चुनौती खडा भएको छ । यससँगै भारतसँगको सम्बन्धलाई सहज एवम् मित्रवत बनाउने अर्को चुनौती पनि थपिएको छ । भारत बक्री भएको अवस्थामा नेपालले सामना गर्नुपर्ने समस्याहरूको व्यवस्थापन र समाधानप्रति केपी सचेत रहनुभएको छ कि छैन भन्ने पनि आगामी दिनमा उहाँको मूल्याङ्कनको एउटा आधार बन्नेछ ।

यदि अबका चुनौतीहरूको सामना गर्ने सामर्थ्य केपीले दर्शाउनु सक्नुभएन र, देशलाई गम्भीर क्षति पुग्यो भने उहाँलाई भीमसेन थापाझैँ लहडी मानिनेछ, जसले देशलाई क्षति पुऱ्याए पनि आफूलाई इतिहासमा अमर बनाएका छन् । सम्भावित चुनौतीहरूको कुशल व्यवस्थापन गर्ने क्षमता पनि केपीले परिणामतः दर्शाउनुभयो भने उहाँ जङ्गबहादुर राणा र भीमसेन थापाझैँ नेपालको इतिहासमा स्मरणीय बनिरहनुहुने निश्चित छ । त्यसपछि जीवनकालमा पार्टीभित्र र बाहिरबाट पनि केपीलाई उछिन्न अरु कसैले सक्ने सम्भावना रहन्न । तर, नक्शा जारी गर्न सफल भए पनि त्यसलाई कार्यान्वयनमा ल्याउन र उत्पन्न हुने कठिन चुनौतीहरूको सामना गर्ने क्षमता प्रमाणित गर्न सक्नुभएन भने उहाँ इतिहासको ‘प्रतिकुल पात्र’ बन्नुहुनेछ र, उहाँको अग्रसरतामा लागेको घाउ निकै बनाउन देशलाई धेरै समय लाग्नेछ । त्यसपछि भारतले तत्काल वार्ताबाट समस्याको समाधान खोज्न राखेको प्रस्ताव स्विकार नगरी नक्सालाई वैधता दिन अग्रसर हुनु नै केपीको गम्भीर भुल थियो भनी अहिले उहाँको प्रशंसामा फूलको वर्षा गराउनेहरूले नै भन्न थाल्नेछन् ।

प्रतिक्रिया