शिव कङ्गाललाई मानवअधिकार तथा लोकतन्त्र पुरस्कार

शिव कङ्गाललाई मानवअधिकार तथा लोकतन्त्र पुरस्कार


तेज तीर्थ ट्रष्टले यस वर्षको मानवअधिकार तथा लोकतन्त्र पुरस्कार प्रजातन्त्र सेनानी शिव कङ्गाललाई दिने निर्णय गरेको छ । पञ्चायतविरुद्वको आन्दोलनका योद्धा कङ्गाललाई विगत पाँच दशकयता मूल्य र मान्यताको राजनीतिमा पुऱ्याउनुभएको योगदानका लागि उक्त पुरस्कार प्रदान गर्न लागिएको ट्रष्टले जनाएको छ । यो पुरस्कारको राशि एक लाख र प्रमाणपत्र रहेको छ ।

त्यसैगरी नेपाल भाषा, सहित्य र कलातर्फ जुजुभाइ नानीमैजु पुरस्कार इतिहासकार योगेन्द्रमान श्रेष्ठ र कवयत्री नारायणदेवी श्रेष्ठलाई प्रदान गर्ने निर्णय भएको छ । यो पुरस्कारको राशि जनही रु ५० हजार र प्रमाणपत्र रहेको छ । उहाँहरुलाई नेपाल भाषाको इतिहास र साहित्यतर्फ पुऱ्याउनुभएको योगदानको कदर गर्दै पुरस्कृत गर्ने निर्णय गरिएको हो ।

यस्तै, लोकतन्त्र र पत्रकारिता पुरस्कार सञ्चारकर्मीद्वय निर्मला आचार्य र अजयबाबु शिवाकोटीलाई प्रदान गर्ने निर्णय गरिएको निर्णायक समितिका संयोजक भीमसेनदास प्रधानले जानकारी दिनुभयो । उक्त पुरस्कारको राशि जनही रु ५० हजार र प्रमाणपत्र रहेको छ ।

सङ्घीय सांसद भीमसेनदास प्रधानको संयोजकत्वमा प्राध्यापक ओमकारेश्वर श्रेष्ठ र पत्रकार जगत नेपाल सदस्य रहेको समितिले पुरस्कार छनोट गरेको हो । हरेक वर्ष गणतन्त्र दिवसका अवसरमा प्रदान गरिँदै आएकामा उक्त पुरस्कार यसपालि भने कोरोना भाइरसको महामारी सामान्य भएपछि वितरण गरिने ट्रष्टले जनाएको छ ।

पूर्वस्वास्थ्य राज्यमन्त्री तीर्थराम डङ्गोलले आफ्नो अंशको सम्पत्ति बिक्री गरी ट्रष्टका नाममा एक करोड राशिको कोष स्थापना गर्नुभएको थियो । त्यसै कोषको व्याजबाट हरेक वर्ष, तीन विधामा उक्त पुरस्कार वितरण गरिँदै आएको छ । यसअघि एमनेष्टि इन्टरनेशनल, सहिद मुक्तिनाथ अधिकारी, प्रजातन्त्र सेनानी तिलकप्रकाश कायस्थलाई पुरस्कृत गरिएको छ । पत्रकारितातर्फ जगत नेपाल, रमिता लामा, चन्द्र किशोर पुरस्कृत भइसक्नुभएको छ ।