मध्यमवर्गीय कठिनाई

मध्यमवर्गीय कठिनाई


■ बबिता बस्नेत

‘हिङ नभए पनि हिङ बाँधेको टालोे’ ! सानैदेखि आमाको मुखबाट बारम्बार सुनेको यो शब्दको अर्थ आफूसँग खासै केही नभए पनि ‘योसँग केही छ’ जस्तो भ्रम दिनुपर्छ भन्ने रहेछ । यसलाई आफ्नो पृष्ठभूमि नबिर्सिनका लागि तयार गरिएको सोच पनि भन्न सकिन्छ । हिङ बाधेको टालोमा हिङ नभए पनि त्यसको गन्ध आइरहन्छ, जसका कारण ‘हिङ छ’ भन्ने भ्रम मानिसमा भइरहन्छ । यद्यपि, हिजोआज हिङलाई टालोमा बाँध्ने चलन छैन, बट्टामा पाइन्छ ।

सानो छँदा चाडबाडदेखि पाहुना आएको बेला हुँदै रीतिरिवाजसम्म हिङ बाँधेको टालो भएर ढाकछोपमै बिते । टार्न–पुऱ्याउन गाह्रो भए पनि घरमा टन्नै छ जस्तो गरी देखाउनु पर्ने । लुगा कतै च्यात्तिएको छ भने छोपेर लाउनु पर्ने, देखिए इज्जत जान्छ, मान्छेले के भन्छन् ? घरमा असरल्ल कपडा छरिएका छन्, पाहुना आउन लागेको थाहा पाएपछि हतार–हतार ती सबलाई एउटै पोको बनाएर अर्को कोठा या कुनातिर छोपेर राख्ने । एकैछिनमा कोठाको रूप–रङ्ग फरक, सधैं त्यत्तिकै मिलाएर राखे जस्तो । दलानको खाटमा गुन्द्री सधैं हुन्थ्यो, मान्छे आउने भएपछि राडी ओछ्याउने । चप्पलको फित्ता चुँडिएको छ भने बरु हातमा बोकेर हिँड्ने तर जोडेको नलाउने । सँगै स्कुल जाने कतिपय साथीहरू सिएको जुत्ता–चप्पल लगाएर जान्थे तर नयाँ चप्पल नकिनुञ्जेल बरु स्कुलै नजाने । सिलाएको चप्पल खुट्टामा देख्दा मान्छेले के भन्छन् ? समयक्रममा भोग्दै, बुझ्दै जाँदा थाहा भयो यसलाई ‘मिडल क्लास मेन्टालिटी’ भनिँदो रहेछ, मध्यमवर्गीय सोच । जुन मानसिकताबाट निर्देशित भएर हामीमध्ये धेरै हुर्किएका हौँ ।

हेर्दा सहज जस्तो भोगाईमा अप्ठ्यारो जीवन धान्दै आएका मध्यमवर्गीयहरूका लागि कोभिड–१९ बडो असहज बनेर आएको छ । मुलुक ‘लक डाउन’मा छ, घरमा खानेकुरा सकियो, किन्नलाई पैसा छैन । एक जनाको कमाइले चलिरहेको घर चल्नै नसक्ने अवस्थामा पुगिसक्यो । घर बस्दाबस्दै कतिको जागिर गुमिसक्यो, अब कसरी अगाडि बढ्ने ? योजना बनाउन सक्ने अवस्था छैन । भान्सा सुनसान छ तर नजिकै बाँडिएको राहतको लाइनमा बस्न सक्दैनन् । आर्थिक रूपले सम्पन्नहरूलाई ‘लक डाउन’ले अन्य कुरामा फरक पारे पनि खाने, टार्ने, पुऱ्याउने कुरामा फरक पारेको छैन । निम्न वर्गलाई ठुलो असर परेको छ, चुलाहरू चिसा छन् तर कम्तीमा उनीहरूले आफुसँग छैन भन्न सक्छन् । मध्यम वर्गले आफूसँग नभए पनि छैन भन्न सक्दैनन्, अभाव देखाउन सक्दैनन् । ‘लकडाउन’ खुलेपछिको अवस्था झनै असहज हुने निश्चित छ । किस्ताबन्दीमा भएको गाडी, घरलगायतको किस्ता काम गरेर महिनैपिच्छे बुझाइन्थ्यो, अब कसरी बुझाउने ? जागिरका अलावा कति मानिसहरू परामर्शदाताको काम गर्थे, कतिले प्रशिक्षण दिन्थे, कति विभिन्न अध्ययन–अनुसन्धानमा संलग्न थिए । वर्षभरिको कामबाट आउने पैसाको हिसाब–किताब गरेर अगाडि बढिरहेको जीवन एकाएक ठप्प भयो । बैंकको ऋण लिएकाहरूले आगामी केही वर्ष निकै अफ्ठ्यारो अवस्था झेल्नुपर्ने देखिन्छ ।

भान्सा सुनसान छ तर नजिकै बाँडिएको राहतको लाइनमा बस्न सक्दैनन् । आर्थिक रूपले सम्पन्नहरूलाई ‘लक डाउन’ले अन्य कुरामा फरक पारे पनि खाने, टार्ने-पुऱ्याउने कुरामा फरक पारेको छैन । निम्न वर्गलाई ठुलो असर परेको छ, चुलाहरू चिसा छन् तर कम्तीमा उनीहरूले आफुसँग छैन भन्न सक्छन् । मध्यम वर्गले आफूसँग नभए पनि छैन भन्न सक्दैनन्, अभाव देखाउन सक्दैनन् ।

मध्यम वर्गको परिस्थितिको कुरा गर्दा मध्यमवर्गीय को हुन् ? भनी बुझ्नुपर्ने हुन्छ । न धनी र न गरिव या भनौँ धनी र गरिवबीचको वर्ग मध्यम वर्ग हो । मध्यमवर्गीय मानिसहरूमा प्रायः पढेलेखेका, जागिरे, विभिन्न पेशा, ब्यवसायमा रहेकाहरू पर्छन् जसको घर, गाडी त हुन्छ तर प्रायः किस्ताबन्दीमा हुन्छ भनिन्छ । अरुको बारेमा बोल्ने वकालतकर्ता, लेख्ने लेखक, पत्रकारहरू प्रायः यही वर्गमा पर्छन् । अरुका दुःखसुख बाहिर ल्याए पनि आफ्नो बारेमा खासै लेख्न, बोल्न सक्दैनन् । अमेरिकी पत्रकार तथा लेखक निल गाब्लेरले ‘द सेक्रेट सेम फर मिडल क्लास’ शीर्षकमा मध्यमवर्गीय अमेरिकनका वास्तविकता उजागर गर्दै लामो लेख लेखेका छन् । किन्न मन लागेको कुरा हेर्दै फर्कंदै मध्यमवर्गीयहरूले कसरी अड्कली अड्कली सामान किन्नुपर्छदेखि ढाकछोपका धेरै कुरा लेखमा समेटिएका छन् ।

‘मिडल क्लास’ आर्थिक हैसियतसँगै मानसिकता पनि हो । पसलमा जाँदा महँगा–महँगा सामान हेऱ्यो अनि किन्ने बेलामा ‘सेल’मा राखिएका सामान किन्नु आर्थिक बाध्यताभित्र पर्छ भने वास्तविकतालाई पन्छाउदै सकेसम्म चटक्क मिलाएर लाउने र अलि अलि ‘सो अप’ गर्ने कुरा मानसिकताभित्र पर्छ । मध्यमवर्गीयहरू प्रायः कमाएर महिना टार्ने वर्ग हुन् । महिनाभरी काम गऱ्यो, कमाएको पैसाले घर छैन भने घरभाडा तिऱ्यो, गाडीको किस्ताबन्दी, घरको किस्ताबन्दी, सन्तानको पढाइ शुल्क, खानेकुरा यताउता गर्दागर्दै पैसा सकिन्छ । आफ्ना निजी चाहनाहरूलाई थाँती राखेर परिवारका सानातिना आवश्यकता पूरा गर्दै जीवन धानिरहेका मध्यमवर्गीयको सङ्ख्या हामीकहाँ ठुलो छ । विभिन्न पेशा, ब्यवसायमा नाम कमाएकाहरू, सेलिब्रेटीहरू प्रायः यही वर्गमा पर्छन् । उच्च वर्गका मानिसहरूलाई सामान मन पऱ्यो भने मूल्य हेर्नु पर्दैन, सिधै काउन्टरमा गएर पैसा तिरे हुन्छ । खाडी मुलुकका प्रायः नागरिकलाई मूल्यको ट्याग कता हुन्छ थाहा पनि हुँदैन रे । मन पर्नु पऱ्यो, सकियो । तर हामी कुनै सामान एकदम मन पऱ्यो भने पहिला मूल्य हेर्छौं, अनि घटाउन मिल्छ कि भनेर सोध्छौँ, किन्न सके लिन्छौँ नसके फर्कि–फर्कि हेर्दै त्यहीँ छोडेर हिँड्छौँ । निम्न वर्ग र उच्च वर्गलाई त्यसरी मन मार्नु पर्दैन, उच्चले किनिहाल्छ, निम्न त्यहाँसम्म पुग्दै पुग्दैन, त्यो के हो कसो हो थाहै हुँदैन । कतिपय कुरा थाहा नपाउनु आफैमा आनन्द हो ।

सन् २०१६ (वि.सं. २०७३) मा विश्व बैंकले नेपालका मध्यम वर्गहरू जोखिममा रहेको प्रतिवेदन सार्वजनिक गरेको थियो । ‘मुभिङ अप द ल्याडर ः पोभर्टी रिडक्सन एण्ड सोसियल मोबिलिटी इन नेपाल’ शीर्षकको अध्ययन प्रतिवेदनमा पछिल्लो १५ वर्षमा नेपालमा मध्यमवर्गीय नागरिकको संख्या एक तिहाइभन्दा माथिले बढे पनि उनीहरूको हैसियत जोखिममा रहेको उल्लेख गरिएको थियो । उक्त प्रतिवेदनमा उल्लेख भएअनुसार, वि.सं. २०५२ देखि २०६७ सम्म मध्यमवर्गीय नेपालीको संख्या कुल जनसंख्याको ७ प्रतिशतबाट २२ प्रतिशतमा पुगेको थियो । तर मध्यमवर्गीयहरू पूर्णतया जागिरमा आधारित भएकाले यो कुनै पनि बेला फेरि निम्न वर्ग अर्थात् गरिबीमै झर्न सक्ने पनि उल्लेख गरिएको थियो ।

मध्यम वर्गलाई कमाउन भन्दा बचाउन सिकाउँदै हुर्काइएको हुन्छ जसका कारण आफुले गरिरहेका कामबाहेक अन्य आर्थिक उपार्जनमा उनीहरूको ध्यान नै जाँदैन । घाँटी हेरेर हाड निल्नुपर्छ भनेको सुन्दै हुर्किएका हामीहरूमध्ये धेरैलाई आफूले गरिरहेको काम नहुँदा भोली के गर्ने भन्ने थाहै छैन ।

विश्वमा उच्च र निम्न भन्दा मध्यम वर्गको सङ्ख्या ठूलो छ । आम्दानीअनुरुप वर्गीय आधार तय गर्ने गरिन्छ । अमेरिकामा सन् १९७१ मा मध्यम वर्गको सङ्ख्या ६१ प्रतिशत रहेछ । सन् २०१६ मा यो संख्या घटेर ५२ प्रतिशत हुँदा बाँकी ती ९ प्रतिशत जनता उच्च वर्गमा पुगे कि निम्न ? भन्ने बहसले ठाउँ पाएको थियो । दक्षिण एसियामा महिनाको सरदर ३०–३५ हजार माथि आम्दानी हुनेलाई मध्यमवर्गीयमा गनिन्छ । आम्दानी भइरहेको अवस्थामै पनि मध्यम वर्गलाई गाह्रो थियो, अहिलेको परिस्थिति झन्–झन् कठिन बन्दै गएको छ । मध्यम वर्गलाई कमाउन भन्दा बचाउन सिकाउँदै हुर्काइएको हुन्छ जसका कारण आफुले गरिरहेका कामबाहेक अन्य आर्थिक उपार्जनमा उनीहरूको ध्यान नै जाँदैन । घाँटी हेरेर हाड निल्नुपर्छ भनेको सुन्दै हुर्किएका हामीहरूमध्ये धेरैलाई आफूले गरिरहेको काम नहुँदा भोली के गर्ने भन्ने थाहै छैन । उद्यम गर्नुपर्छ, पैसा कमाउनु पर्छ भन्दा पनि जे छ त्यसैमा रमाउनु पर्छ, टार्नु या पुऱ्याउनु पर्छ भन्ने सोचले आर्थिक हाँगाबिगा कता–कता छन् थाहै छैन । जागिरे मानसिकताले कमाएको कुरा लगानी गर्नुपर्छ भन्ने मान्यता राख्दैन । काममा अल्झिएर परिवार पाल्नुपर्छ, आफ्नो र परिवारको जीवन सुखी बनाउनु पर्छ भन्ने बाहेक जीवनमा अर्को उद्देश्य नहुनेहरूको सङ्ख्या ठूलो थियो, छ । जागिर खाने भन्दा जागिर दिने कामतिर पनि लागौँ न भनेर नसोच्ने भएकै कारणले ‘मिडल क्लास’हरूलाई उच्च वर्गमा पुग्न गाह्रो हुने गरेको हो । मध्यम वर्ग भन्दा निम्न या निम्नमध्यम वर्गलाई प्रतिनिधित्व गर्नेहरू चाँडै उच्च वर्गमा पुग्छन् भन्ने अनुसन्धानहरूले देखाएका छन् ।

विश्व बैंकको प्रतिवेदनले देखाएको बढ्दै गएको ‘मिडल क्लास’को ग्राफ अब चाँडै नै तल झर्नेछ । वैदेशिक रोजगारीले धेरैको आर्थिक हैसियत बढाएको थियो । विदेशमा काम गरेर कमाएका कारण निम्न या निम्नमध्यम वर्गीयहरू मध्यम वर्गमा पुगेका थिए । अब पुनः पुरानै ठाउँमा फर्कने अवस्था आउन सक्छ । नेपालले सन् २०३० सम्ममा मध्यम आयको मुलुक बन्ने लक्ष्य राखेको छ । मध्यम वर्गको सङ्ख्यात्मक वृद्धिसँगै यो लक्ष्य प्राप्ति हुने हो तर मध्यम वर्गले अहिले जुन कठिनाई भोगिरहेका छन् त्यसले अबको १० वर्षमा मध्यम आयको मुलुकमा पुऱ्याउन निकै मेहेनत गर्नु पर्नेछ । मध्यम वर्गले अहिले जुन कठिनाई भोगिरहेका छन्, परिस्थिति यस्तै रहेमा यो झन् बढ्ने छ । हिङ बाँधेको टालो हिङ पखालिएको कपडामा परिणत हुनुअघि जागिरे मानसिकताबाट अलि पर खेती, उद्यम के गर्दा हुन्छ सोच्नुपर्ने देखिन्छ । बुढापाकाले ‘उत्तम खेती, मध्यम ब्यापार, निम्न जागिर’ किन भनेको होला जस्तो लाग्थ्यो । अहिले हेर्दा त्यो किन भनेको भन्ने स्पष्ट भएको छ । पछिल्लो समय विश्वमै करोडौँको संख्यामा मानिसहरू जागिरबाट हटाइएपछि बेरोजगार बनेका छन् । जो प्रायः ‘मिडल क्लास’लाई प्रतिनिधित्व गर्थे ।