मकाउ क्यासिनोका बादशाह स्टान्लेको निधन

मकाउ क्यासिनोका बादशाह स्टान्लेको निधन


चीनमा आधुनिक क्यासिनाका पिता भनेर चिनिने मकाउका क्यासिनो बादशाह ‘स्टान्ले हो’को मंगलबार (२६ मे) हङकङमा निधन भएको छ । उनी ९८ वर्षका थिए ।

अर्बपति क्यासिनो लगानीकर्ता स्टान्लेको मकाउका क्यासिनोमा झण्डै चार दशक एकछत्र साम्राज्य थियो । उनले मकाउलाई क्यासिनोमा एसियाकै उत्कृष्ट गन्तव्य बनाउन प्रमुख भूमिका खेलेका थिए ।

पूर्व पोर्चुगाली उपनिवेश मकाउकै उनी सर्वाधिक धनी व्यक्ति थिए भने चीन र हङकङमा समेत उनको ठूलै प्रभाव थियो । अमेरिकी अधिकारीहरुले चाहिँ स्टान्लेको सम्बन्ध र सम्पर्क संगठित अपराधी समूहसँग पनि रहेको आरोप लगाउँदै आएका छन् । तर स्टान्ले आफैंले भने क्यासिनो नखेलेको विश्वास गरिन्छ ।

अग्ला, निकै आकर्षक र चिनियाँ तथा युरोपेली शैली सम्मिश्रण भएका स्टान्लेका चार जना पत्नीबाट १७ जना छोराछोरी जन्मेका थिए ।

एसोसिएटेड प्रेस (एपी) ले सन् २००१ मा लिएको अन्तर्वार्तामा स्टान्लेले भनेका थिए, ‘म जुवा खेल्दिनँ । मलाई त्यति धैर्य नै हुँदैन । यस्ता खेलबाट पैसा कमाउने आशा पनि गर्नु हुँदैन । यो घरभित्र खेलिने खेल हो र यो घरभित्रै सीमित हुन्छ ।’

स्टान्लेले क्यासिनोजस्ता मनोरञ्जन उद्योगदेखि हेलिकप्टर सेवा, होटल, डिपार्टमेन्ट स्टोर, मकाउको विमानस्थल र घोडादौड कोर्समा लगानी गरेका थिए ।

सन् २००९ मा मस्तिष्कको शल्यक्रिया गरिएपछिका दिनमा उनी अक्सर ह्वीलचेयरमा सार्वजनिक समारोहमा देखिने गर्दथे । पछिल्ला दिनमा उनी आफ्ना सन्तानलाई सम्पत्तिको बाँडफाँडका विषयमा तनावमा परेका एजेन्सीहरुले जनाएका छन् ।