मनोवैज्ञानिक त्रासमा छन् अमेरिकामा नेपाली

मधुकर अधिकारी, वासिङ्टन डिसी,



कोरोना भाइरसको महामारीले आक्रान्त अमेरिकामा बस्दै आएका नेपाली भाषीहरुमा मनोवैज्ञानिक असर देखिन थालेको छ । कोभिड–१९ को प्रकोपले यहाँ मानिसको मृत्यु बढेसँगै जनजीवन सामान्य हुन नसक्दा नेपालीमा आफ्नो काम र व्यवसायको भविष्यका कारण चिन्ता बढेको हो । लामो समयदेखि कायम रहेको कोभिडको महामारीको अन्त्य अनिश्चित देखिनु र दिनहुँ मानिसको मृत्यु भइरहँदा यहाँका न्युयोर्क, न्युजर्सी, पेन्सलभेनिया, टेक्सास, मेरिल्याण्ड क्यालिफोर्निया, इलिनोइज राज्यमा बढी बसोबास रहेका नेपालीमा प्रतिदिन चिन्ता थपिएको हो ।

एकातिर महामारीको त्रास छ भने अर्कातर्फ आर्थिक दायित्वको सीमा, आफ्नो रोजगारी तथा व्यवसाय पुरानै अवस्थामा सञ्चालन हुने/नहुने अन्योलसमेत बढ्दै जाँदा यहाँका कतिपय नेपालीमा मनोवैज्ञानिक असर पर्न थालेको नेपाली समुदायमा क्रियाशील रहेका नेपालीभाषीको टिप्पणी छ ।

खासगरी विश्वव्यापीरुपमा नै मानिसमा महामारी तथा वित्तीय सङ्कटपश्चात् मानसिक तनाव बढ्ने गरेको अध्ययनले देखाएको छ । विश्वप्रसिद्ध म्यागेजिन फोब्र्सले सन् २०१३ मा सार्वजनिक गरेको तथ्याङ्कअनुसार सन् २००८ को वित्तीय सङ्कटपश्चात् करिब १० हजार अमेरिकीले आत्महत्यासम्मको बाटो रोजेका थिए ।

कोरोनापीडित तथा कोरोनापीडित भएर मृत्यु वरण गरेका परिवारसँग सामिप्यमा रहेर समन्वय, परामर्श र सल्लाह दिन अहोरात्र खट्दै आएका मेरिल्याण्ड जनरल एसेम्ब्लीका विधायक ह्यारी भण्डारीले भन्नुभयो, ‘मानिसहरुमा भाइरसको सङ्क्रमणबाट सुरक्षित कसरी रहने भन्ने तनाव त छँदैछ त्यसमाथि भविष्यमा आइपर्ने आर्थिक सङ्कट तथा आफ्नो रोजगारी या व्यवसायको पनि चिन्ता बढेको देखिएको छ ।’ तर भण्डारीले यस्तो महामारीको बेलामा अनावश्यकरुपमा चिन्ता नलिन नेपाली समुदायलाई अपिल पनि गर्नुहुन्छ । भण्डारीले भन्नुभयो, ‘सरकारी निकायले विभिन्न तरिकाले सहयोग प्रदान गरेका छन्, खानाको अभावलाई पूरा गर्न स्थानीय निकायले खाद्य भण्डार सञ्चालनमा ल्याएका छन्, म अमेरिकामा रहनुभएका नेपालीलाई स्थानीय निकायले प्रदान गर्ने सुविधा लिन आग्रह गर्छु ।’ खाद्य भण्डार सञ्चालन गरेका स्थानीय सरकारी निकायले जारी गर्ने सूचना र उपलब्ध सुविधाको अधिकतम उपयोग गर्न नेपाली समुदायलाई भण्डारी आग्रह गर्नुहुन्छ ।

मानव सभ्यतामाथि नै एउटा प्रमुख चुनौती बनेर आएको महामारीको घडीमा त्रासमा बसेर आफूलाई कमजोर बनाउनुभन्दा आइपर्ने चुनौतीसँगै जुध्न तत्पर हुनुको विकल्प नभएको उहाँ बताउनुहुन्छ ।

अन्तर्राष्ट्रिय विद्यार्थीका रुपमा अमेरिका आएका, पर्यटकको भिषामा आएका तथा व्यवसाय गरेर जमेर बसेकाहरु र अरु धेरै पेशा तथा व्यवसायमा बस्दै आएका सबैमा भविष्यको चिन्ताले सताएको देखिन्छ । पछिल्ला दिनहरुमा भ्रमण तथा कार्यक्रमका लागि अमेरिका आएकाहरु निकै प्रभावित भएका छन् । उनीहरुलाई कहाँ जाने र कसरी बस्ने भन्नेसमेत अन्योल देखिएको छ । कतिपय राज्यमा नेपालीहरु अलपत्र परेको भनिए पनि स्थानीय सङ्घसंस्थाको पहलमा उनीहरुलाई सहजीकरण गरिएको सामाजिक अभियन्ताहरुको भनाइ छ । महासङ्कटको यस अवस्थामा मानिसहरु मानसिकरुपमा विक्षिप्त हुनु स्वाभाविक रहेकाले त्यसलाई सहजीकरण गर्ने माध्यमको खोजी पनि हुनुपर्ने मनोचिकित्सकको भनाइ छ ।

आत्महत्या गर्ने प्रवृत्तिको रोकथामबारेमा सचेतना जगाउँदै आउनुभएका मेरिल्याण्डका डा श्याम कार्की भन्नुहुन्छ, ‘यस्तो महामारी होस् या वित्तीय सङ्कटको बेलामा मानिसले अगाडिको बाटो केही छैन जस्तोगरी अप्रिय निर्णयमा पुग्नसक्ने सम्भावना रहन्छ । कार्की कोभिड–१९ लाग्नेबित्तिकै मानिस एकान्तवासमा जानुपर्ने भएकाले उसलाई मनोचिकित्सकको परामर्श दिनुपर्ने आवश्यकता रहेको बताउनुहुन्छ । कार्कीले भन्नुभयो, ‘हामीले अमेरिकामा रहनुभएका व्यक्तिलाई समन्वय गरेर अनलाइनमार्फत भजन कीर्तनको समेत व्यवस्था गऱ्यौँ, यसले मानिसमा एकाग्रताबाट बाहिर निकालेर सामाजिक सञ्जालमा जोड्न बल पुऱ्याएको हामीले महसुस गरेका छौँ ।’

गैरआवासीय नेपाली सङ्घ ग्लोवल हेल्थ कमिटीका संयोजक डा सञ्जीव सापकोटाले एनआरएनले गठन गरेको परामर्श समूहमा मनोवैज्ञानिक त्राससम्बन्धी परामर्शका लागि पनि फोन आउने गरेको बताउनुहुन्छ । सापकोटाले भन्नुभयो, ‘सबैभन्दा पहिला हामीहरुले कोरोना भाइरसको सङ्क्रमण हुनेबित्तिकै जीवन गुमाउनुपर्छ भन्ने मान्यता राख्नुहुँदैन । हरेक बिरामीको रोग होस् या भाइरससँग लड्ने रोग प्रतिरोधी क्षमता विकास गर्न पनि बलियो आत्मबलका साथ बस्न हामीले भनिरहेका हुन्छौँ ।’

कोरोना भाइरसको सङ्क्रमणपश्चात् मध्यपूर्वमा दुईजना नेपालीले आत्महत्याको बाटो रोजेको र यसका कारण उनीहरुले मानसिक तनावलाई व्यवस्थापन गर्न नसकेको देखिएको डा सापकोटाको भनाइ छ । सापकोटा विश्वभर छरिएर रहेका नेपालीलाई सूचना आदानप्रदान गर्न र समुदायको कोही कसैलाई कोरोना लागेको अवस्थामा सहजीकरण गर्न अनुरोध गर्नुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘यो भाइरसको सङ्क्रमण देखिनेबित्तिकै अब जीवन समाप्त हुने भयो भनेर कसैले पनि नसोचौँ । यो सङ्क्रमणपश्चात् जीवन गुमाउनेभन्दा कैयौँ गुणा बढी निको भएर घर फर्किएका छन् भन्ने कुरालाई सबैले सकारात्मकरुपले लिनुपर्छ ।’

अमेरिकामा नेपाली मूलका केही चिकित्सक र नर्सले पनि आफूमा कोरोना भाइरसको उपचारमा खटिँदा अनावश्यक दबाब महसुस गरेर मनोचिकित्सकको परामर्श लिनुपरेको बताएका थिए । त्यसो त नेपाली सङ्घसंस्थाले तनाव व्यवस्थापन तथा मेडिटेसनको तालिम पनि दिँदै आएका छन् ।

कोरोना भाइरसको महामारीबीच न्यूयोर्कमा बसेर विद्यार्थीलाई खाद्यान्नलगायतका सामग्री प्रदान गर्न समन्वय गर्दै आउनुभएका आनन्द विष्ट विद्यार्थीलाई आफ्नो भविष्यको चिन्ता रहेको बताउनुहुन्छ । कूल १७३ जना विद्यार्थीलाई दैनिक उपभोग्य सामग्री वितरण गर्न एउटा समूह नै परिचालन गरेका विष्ट भन्नुहुन्छ, ‘मेरो सम्पर्कमा आउनुभएका कतिपय व्यक्तिलाई नेपाल कहिले जान पाइएला भन्ने चिन्ता रहेको पाएको छु भने कतिपय फेरि त्यही रोजगारीमा फर्किन सकिएला कि नसकिएला भन्ने चिन्ता रहेको पनि देखिएको छ, तर अहिले कोही पनि आत्तिनुपर्ने अवस्था छैन ।’

यहाँको नेपाली समुदायले हरेक प्रकारको अप्ठ्यारो अवस्थाको सामना गर्न विभिन्न संयन्त्रमार्फत काम गरिरहेको विष्टले बताउनुभयो । न्युयोर्कमा बसेर कोरोनाका पीडित, बाहिर निस्कन नसक्ने र विद्यार्थीलाई समेत आवश्यकतानुसारको सामग्री उनीहरुसमक्ष पु¥याइएको उहाँले बताउनुभयो ।

कोरोना भाइरसको इपिसेन्टरका रुपमा विगत ९० दिनमा नेपाली समुदायले हातेमालो गरेर गरेको मानवीय सहयोगलाई स्थानीय जनप्रतिनिधिहरुले समेत प्रशंसा गरेको विष्टले बताउनुभयो । न्युयोर्कमा रहेका सङ्घसंस्थाले ‘अर्जेन्ट नेपाली एड नेटवर्क कोभिड–१९’ नाम दिएर विभिन्न तरिकाले सहयोग आवश्यक पर्नेहरुलाई स्वयंसेवकमार्फत सहयोग गर्दै आएका छन् ।

यो आलेख तयार पार्दासम्म अमेरिकामा १७ जना नेपालीको निधन भइसकेको छ, त्यसमा एकजना मेरिल्याण्ड, एकजना भर्जिनिया, दुईजना कोलोराडो र १३ जना न्युयोर्कका हुन् । तर परिवारका सदस्यहरु त्यसलाई कोरोना भाइरसकै कारणले निधन भएको भन्न नचाहनु र हृदयाघात भन्नुको पछाडि पनि त्यही कारण रहेको छ । मनोवैज्ञानिक त्रासका कारणले उहाँहरु कोरोनाको कारणले भन्न नचाहनुभएको सापकोटाको भनाइ रहेको छ ।

अमेरिकामा रहेका नेपालीभाषी भुटानीहरुमा पनि मनोवैज्ञानिक सन्त्रास रहेको तर उनीहरुलाई नआत्तिन आग्रह गरिरहेको जर्जियामा रहनुभएका भुटनिज इन अमेरिकाका संयोजक दिलीप दाहालले बताउनुभयो । उहाँका अनुसार अमेरिकाभर सातजना नेपालीभाषी भुटानीले कोरोना भाइरसका कारणले ज्यान गुमाउनु परेको छ ।

अमेरिकामा कोरोना भाइरसका कारणले मानिसले सन्त्रासको जीवनयापन गर्न थालेको करिब १०० दिन पुगेको छ । योबीचमा कतिपय आफ्नो व्यवसाय गुमाउनुपरेको अवस्था छ भने अधिकांशले रोजगारीसमेत गुमाइसकेका छन् । तर अमेरिकामा वित्तीय संस्थाहरुले घरको ऋण, ब्याज तथा अन्य वित्तीय उपकरणको सेवा लिएका ग्राहकलाई अर्को तीन महिनासम्मको समय दिएका छन् । यसले मानिसलाई आफ्नो वित्तीय अवस्थालाई सुधार गर्न मौका मिलेको देखिन्छ । कोरोनाको महामारी भएको न्युयोर्कमा आगामी अगष्टसम्मको व्यावसायिक तथा व्यक्तिगत तवरले घर भाडा तिर्नु नपर्ने सरकारको निर्णय रहेको छ ।

आगामी दिनमा ठूला र बढी जनघनत्व भएका राज्यबाट सस्तो र उपयोग गर्न सहज हुने राज्यमा सर्नुपर्ने दिन आउन पनि सक्ने देखिन्छ । खासगरी बढी जनघनत्व भएका राज्यहरुमा बढी रकममा साँघुरो स्थानलाई नै उपयोग गर्नुपर्ने बाध्यता रहेको छ । अवसर हुने भए पनि अरु राज्यमा पनि पूर्वाधार र सुविधाहरु उस्तै भएकाले आगामी दिनमा नेपालीहरुको आकर्षण अरु राज्यतर्फ हुने सम्भावना नकार्न भने सकिन्न ।

न्युयोर्कमा बस्दै आएका परिवारहरु कोरोनाको महामारीपछि अलि खुला र आर्थिक दायित्व बहन कम गर्नुपर्ने स्थानमा सर्न चाहेका पनि छन् । विज्ञहरु कोरोना भाइरस लाग्दैमा अनावश्यक मानसिक तनावमा हुनुनपर्ने बताउँछन् । कोरोना भाइरसको सङ्क्रमणमा परिहाले पनि मरिन्छ भन्ने सोचाइ गलत भएको डा सापकोटाको विचार छ । घर वरिपरि सङ्क्रमित व्यक्ति भएको अवस्थामा मनोवैज्ञानिक असर त पर्छ तर त्यसलाई सचेतता अपनाएको खण्डमा बच्न सकिन्छ । सापकोटा ८० प्रतिशतभन्दा बढी सङ्क्रमितले सङ्क्रमणबाट मुक्त हुन सफल भएको तथ्याङ्क रहेको बताउँदै डा सापकोट कोरोना भाइरसका कारणले जीवन गुमाएकाहरु अधिकांशको मधुमेह, उच्च रक्तचाप, मिर्गौलामा समस्या, मुटुका बिरामी भएर औषधि उपयोग गरेकाहरु धेरै छन् ।

चीनको वुहानबाट युरोप हुँदै अमेरिका भित्रिएको कोरोना भाइरसका कारणले अमेरिकामा रहेकाहरुको दिनचर्या परिवर्तनमात्र भएको छैन यसले मानिसको स्वभाव र कार्यशैलीमा आगामी ३६ महिनासम्म असर गर्ने चेतावनी विज्ञहरुले दिँदै आएका छन् । अमेरिकामा कोरोना भाइरसका कारण यो आलेख तयार पार्दासम्म ९५ हजारभन्दा बढी नागरिकको ज्यान गएको छ भने १६ लाखभन्दा बढी सङ्क्रमित छन् ।

rss

प्रतिक्रिया