अन्तर्जातीय प्रेम-सम्बन्ध छुटाउन दुई युवाको विभत्स हत्या

अन्तर्जातीय प्रेम-सम्बन्ध छुटाउन दुई युवाको विभत्स हत्या


दैलेख जिल्लाकी सांसद् पार्वती विशुन्केले यही जेठ १० गतेका दिन पश्चिम रुकुम जिल्ला चौरजहारी नगरपालिका वडा नं. ८ सोती गाउँकी गैरदलित महिला सुस्मितासँग केही वर्ष पहिलेदेखि प्रेममा परेका जाजरकोट जिल्ला भेरी नगरपालिका वडा नं. ४ का नवराज विश्वकर्माको हत्याको भत्सर्ना गर्दै दोषीलाई कार्वाहीको माग गर्नुभएको छ ।

आफ्नो प्रेमीले आफुलाई पटक–पटक लिन आउन आग्रह गरेपछि उनको आग्रहअनुसार लिन पुगेका विकलगायतको टिमलाई वडाको अध्यक्षसहित गाउँलेले ढुंगामुढा प्रहार गरी लखेटी–लखेटी भेरी नदिमा हाम फाल्न बाध्य पारी नदिमा को अवस्थामा समेत ढुंगा प्रहार गरी उनी र उनका साथी टीकाराम नेपालीलाई विभत्स हत्या गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ, केही महिनापहिला पनि दुवैले विवाह गर्न तयारी गरेका र सोही पालिकाको इलाका प्रहरी कार्यालयमा विवाह गर्ने उमेर नपुगेकाले उमेर पुगेपछि विवाह गर्ने सर्तमा प्रहरीले दुवैलाई आ–आफ्नो घरमा जान सुझाएको थियो । प्रेम सम्बन्धकै कारण ज्यान गुमाउनु पर्ला भन्ने सोच्न पनि नसकेका विकले ज्यान गुमाउनु पऱ्यो र बुहारी ल्याइ घर फर्कला भनी सोचेका उनका आमाबुबाले छोरोको मृत्युको खबर सुन्नु पऱ्यो । ‘नेपाल छुवाछुतमुक्त भयो’ भनि नारा लगाउने व्यवहारमा सामन्तवादी शैली परिवर्तन कहिल्यै नगर्ने, विभेद ‘बुढा आमाबुबाले गर्दा भयो’ भन्ने तर विभेदकारीलाई बचाउनमा पढेलेखेका सचेत वर्ग नै कम्मर कसेर लाग्ने प्रवृत्ति र परम्परा भएकै कारण आज सिङ्गो दलित समुदायले यो अवस्था भोग्नु पऱ्यो ।

वेपत्ता पारिएका ४ जनाको अवस्था अहिलेसम्म सार्वजनिक हुन नसकेको र उक्त ४ जनाको यथासक्य खोजी गरी उनीहरुको अवस्था सार्वजनिक गर्न सम्बन्धित निकायलाई आग्रह पनि उहाँले गर्नुभएको छ । उक्त घटनामा संलग्न चौरजहारी नगरपालिका वडा नं. ८ का अध्यक्ष, गुहारमागी गाउँले लगाई दलितले गैरदलितकी छोरी माथि आँखा लगाउने भनी ढुंगामुढासहित कुटपिट गरी भेरी नदिमा हाम फाल्न र हाम फालिसकेपश्चात् पनि ढुंगा प्रहार गरी केटापक्षका २ जनाको हत्या र ४ जना वेपत्ता पार्नमा संलग्न केटी पक्षका आमाबुबा र गाउँले सबैलाई कानुनी दायरामा ल्याई पीडकलाई नेपालको मुलुकी अपराध (संहिता) ऐन, २०७४ को कर्तव्य ज्यान सम्बन्धी र संविधानको धारा २४ को उपधारा १, २ र ३ बमोजिम हदैसम्मको कानुनी कार्वाहीको माग गरिएको छ । जनताको प्रतिनिधिले पदको धज्जी उडाई संविधानको खिलाफमा सिङ्गो दलित समुदायमाथि गरेको अपमानप्रति आपत्ती जनाउँदै छानबिनको दायरामा ल्याउन सरकारसंग सांसद विशुन्केले माग गर्नुभएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘अन्तरजातिय प्रेम सम्बन्धले ज्यान गुमाउने विक पहिलो व्यक्ति होइनन् । धादिङका अजित मिजार पनि हुन् जसको लाश ४ वर्षदेखि न्यायको खोजीमा शिक्षण अस्पताल महाराजगञ्ज, काडमाडौंमा छ । यस्ता समस्या यसरी नै बढ्दै जाने र राज्यको ध्यान नपुग्ने हो भने जातिय छुवाछुतविरुद्ध संवैधानिक व्यवस्थाको कुनै अर्थ हुँदैन । जातीय छुवाछुतको सवालमा सुन्य सहनशीलता प्रभावकारी रूपमा कार्यान्वन गरियोस् भनि सम्बन्धित निकायको ध्यानकर्षण गराउँदछु ।’