कोरोनासंक्रमित बहत्तर थपिए, नेपालभर कुल संक्रमित संख्या ६ सय ७५

कोरोनासंक्रमित बहत्तर थपिए, नेपालभर कुल संक्रमित संख्या ६ सय ७५


बढ्दो क्रममा रहेको कोरोना भाइरसको संक्रमण सोमबार (१२ जेठ) थप ७२ जनामा पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार नेपालभर कुल संक्रमित संख्या ६ सय ७५ पुगेको छ ।

देशका विभिन्न प्रयोगशालामा भएका परीक्षणमा उल्लिखित संख्यामा नयाँ संक्रमित पुष्टि भएका जानकारी दिँदै मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधिकारीले नयाँ संक्रमित हुनेमा बारा र रौतहटका धेरै रहेका बताए । उनका अनुसार रौतहटका २६ तथा बाराका २३ जनामा संक्रमण पुष्टि भएको छ ।

रौतहटको फरदहवा–२, ६ र ८ तथा इशनाथ–२ का १८ देखि ५३ वर्षसम्मका २६ पुरुषमा संक्रमण पुष्टि भएको हो । यस्तै, बाराको गडीमाइ नगरपालिकाका १८ देखि ५० वर्षसम्मका २१ पुरुषमा संक्रमण पुष्टि भएको छ भने बाराको कलैया–१ कोटवालीका २५ र ३२ वर्षका पुरुषमा पनि संक्रमण देखिएको छ ।

सोमबार बिहान संक्रमण पुष्टि हुनेमा धनुषाको नगराइन–३ का ३०, ३१ र ४५ वर्षका पुरुष, कपिलवस्तुको शिवराज नगरपालिका–४, ५ र ६ का १९, २० र २३ वर्षका पुरुष, काठमाडौँको टोखा–३ र ६ तथा बुढानिलकण्ड–३ का २७, ४१ र ३७ वर्षका पुरुष, सप्तरीको डाक्नेधरी गाउँपालिकाका २२ र ३४ वर्षका पुरुष रहेका छन् । यस्तै, बर्दियाको बासगढी–९ का २५ वर्षे युवा, बाँकेको दुधवा–२ र राप्ती सोनारी–७ का १६ देखि २४ वर्षका चार युवा तथा दैलेखको चार युवा र एक युवतीमा पनि संक्रमण पुष्टि भएको छ ।