कोरोना कानुन उल्लङ्घन गरेकोमा अष्ट्रियन राष्ट्रपतिले माफी मागे

कोरोना कानुन उल्लङ्घन गरेकोमा अष्ट्रियन राष्ट्रपतिले माफी मागे


Sagar Subedi, Vienna

अष्ट्रियन राष्ट्रपति भान देर बालेन शनिबार (२३ मे) रातको १२ बजेर केहि मिनेट जाँदै गर्दा आफ्ना दुइ मित्र एवम् अष्ट्रियन प्रथम महिला डोरिस सामिदाओरका साथ भियनाको सिटी सेन्टरआसपासको एक रेस्टुरेन्टमा प्रहरी चेकजाँचमा फेला परेका खुलासा भएको छ । सो विषय आइतबार दिउँसो एक सञ्चारकर्मीले प्रश्न गरेपछि सोही सवालको आधारमा अष्ट्रियन प्रहरीले आधिकारिक रुपमा पुष्टि गरेको हो ।

यस प्रकरणको खुलासा भएपछि सो वापत राष्ट्रपति बालेनले आइतबार सामाजिक सञ्जालमार्फत कोरोना कानुन उल्लङ्घन गरेकोमा अष्ट्रियन जनतासँग सार्वजनिक रुपले माफी मागेका छन् ।

राष्ट्रपति बालेनले सामाजिक संजालमा लेखेका छन्, ‘कोरोना कहरको लामो समयमा म सरकारले निर्देशन गरेको परिधिभित्र रहेर काम गरिरहेको थिएँ, लकडाउनपछि प्रथम पटक गत हप्तादेखि खुलेका रेस्टुरेन्टमा म मेरी श्रीमतीका साथै मेरा दुई मित्रहरुसँग पहिलोपटक आएको थिएँ, भलाकुसारी गर्दागर्दै समय बितेको पत्तो भएनछ । म मेरो गल्तीमा माफी चाहन्छु, भलै सरकारी निर्णयलाई नमान्ने मेरो कुनै मनसायचाहिँ थिएन ।’

स्मरण रहोस्, अष्ट्रियन सरकारले क्रमवद्ध रुपमा ‘लकडाउन’ खोल्दै गर्दा केही प्रावधानलाई मानेर अघिल्लो हप्ता रेस्टुरेन्ट ब्यवसाय रात को ११ बजेसम्म मात्र खोल्न पाइने प्रावधान लागु गरेको थियो ।

अब के हुन्छ ?

कानुन सबैका लागि बराबर हुन्छ । नेपालमा जस्तो व्यक्तिभन्दा शक्तिको आधारमा कानुन ठुलो यहाँ हुँदैन । राष्ट्रपति ‘डेढ घण्टा मात्र ज्यादा समय रेस्टुरेन्टमा बसेको’ भनेर उनले छुट पाउने छैनन्, कानुन उल्लङ्घन गरेकोमा उनले सजाय भोग्नैपर्छ । ब्यबसाय गर्ने व्यक्तिले पनि समयमा आफ्ना पाहुनालाई रेस्टुरेन्ट बन्द हुने समय अवगत नगराएकोमा जरिवानाको भागेदार बन्नेछन् । यो जटिल अवस्थामा रेस्टुरेन्टले तिर्नुपर्ने जरिवाना पनि आफैले ब्यहोरिदिने कबुल राष्ट्रपतिले गरेका छन् ।