प्रहरीसँगको भीडन्तमा मारिए लागुऔषध कारोबारी

प्रहरीसँगको भीडन्तमा मारिए लागुऔषध कारोबारी


महोत्तरी जिल्लाको रामगोपालपुर नगरपालिका–७ सहसौलामा गए राति लागुऔषध कारोबारीसँग प्रहरीको भीडन्त हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रामगोपालपुर–७ निवासी सुरेन्द्र यादवका छोरा १६ वर्षीय राजन रहेको प्रहरीले जनाएको छ ।

प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीका अनुसार जारी लकडाउनका बेला पनि ठूलो मात्रामा लागुऔषध कारोबार गरेको गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिगएका सादा पोशाकका प्रहरी र लागुऔषध कारोबारीबीच रामगोपालपुर ७ स्थित सडकमा राति करीब ८ बजेतिर भीडन्त भएको थियो । चारैतिरबाट घेरा हाली लागुऔषध कारोबारीले आक्रमण गर्न खोजेको र प्रहरीले आत्मरक्षाका लागि गोली चलाउँदा अभियुक्त राजनको घटनास्थलमै मृत्यु भएको हो ।

उनमाथि ६ राउण्ड गोली लागेको थियो भने लागुऔषध कारोबारी भनिएका सोही ठाउँ बस्ने ५० वर्षीय सुरेन्द्र र २७ वर्षीय राहुल यादवलाई पक्राउ गरिएको छ । घटनास्थलबाट केही मात्रामा लागुऔषध नाइट्रोभेट पनि बरामद गरिएको छ ।

सो भीडन्तमा प्रहरी हवल्दार सञ्जीव पासवान तथा प्रहरी जवान रामविहारी पासवान, मनोज साह र लालबाबु यादव गम्भीर घाइते भएको र उनीहरुको उपचार जिल्ला अस्पताल जलेश्वरमा भइरहेको जनाइएको छ ।