भरुवा बन्दुक पड्किएर बालकको मृत्यु, दुई युवा सुनकोसीमा बगे

भरुवा बन्दुक पड्किएर बालकको मृत्यु, दुई युवा सुनकोसीमा बगे


सिन्धुपाल्चोक जुगल गाउँपालिका–२ किप्चेका आठ वर्षीय बालक आयुष स्याङ्बो तामाङको भरुवा बन्दुक पड्किँदा ज्यान गएको छ ।

आइतबार दिउँसो सोही ठाउँका अर्का १२ वर्षका बालकले आफ्नै घरमा लोड गरिराखेको भरुवा बन्दुक झिकी घरको पिँढीमा सँगै खेल्ने क्रममा अचानक भरुवा बन्दुक पड्किन गई स्याङ्बोको घटनास्थलमै मृत्यु भएको हो ।

उनको पेटमा गोली लागेको र घटनाबारे आवश्यक अनुसन्धान तथा कारवाही प्रक्रिया जारी रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक माधव काफ्लेले जानकारी दिएका छन् ।

उता दोलखाको तामाकोशी नदीमा माछा मार्न र पौडी खेल्न गएका दुई युवा नदीले बगाउँदा बेपत्ता भएका छन् । दोलखाको मेलुङ गाउँपालिका–१ पवटी निवासी ३६ वर्षीय दीपक भुजेल आइतबार चैतेघाटस्थित तामाकोशी नदीमा माछा मार्न गएको र माछा मार्ने क्रममा उनलाई खोलाले बगाएको प्रहरीले जनाएको छ ।

त्यस्तै, कालीञ्चोक गाउँपालिका–७ ठूलाखेत बस्ने १९ वर्षीय नवराज पौडेल तामाकोशी नदीमा पौडी खेल्ने क्रममा नदीले बगाएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक रेशम बोहोराले जानकारी दिए । बेपत्ता दुवै युवा आइतबार फरक फरक ठाउँमा माछा मार्न र पौडी खेल्न गएका थिए । बेपत्ता भएका दुवै जनाको स्थानीय तथा प्रहरीको सक्रियतामा खोजी भइरहेको प्रहरीले जनाएको छ ।