एकता र सहिष्णुताका पूँजी देशको समृद्धिमा सदुपयोग गर्न प्रधानमन्त्रीको आह्वान

एकता र सहिष्णुताका पूँजी देशको समृद्धिमा सदुपयोग गर्न प्रधानमन्त्रीको आह्वान


प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ को प्रकोपबाट बच्न विशेष सतर्कता अपनाउँदै इद उल फित्र मनाउन आग्रह गर्नुभएको छ ।

रमदानको रोजा पूरा गरी इद उल फित्र मनाइरहनु भएका इस्लाम समुदायका सम्पूर्ण दिदीबहिनीलाई शुभकामना दिँदै उहाँले विभिन्न धर्म र संस्कृतिमा आधारित यस्ता पर्वहरू हाम्रो राष्ट्रिय एकता, पारस्परिक सद्भाव र सहिष्णुताको मौलिक पहिचान भएको बताउनुभयो ।

बहुधार्मिक, बहुजातीय र बहुसांस्कृतिक विशेषतायुक्त सुन्दर देश नेपालमा यस्ता पर्व र विशेषता यहाँ मौलिक पूँजीका रूपमा रहेको बताउँदै एकता र सहिष्णुताको यस पूँजीलाई समृद्ध देश निर्माणमा सदुपयोग गर्नुपर्ने जनाउनुभएको छ ।

विभिन्न धार्मिक तथा सांस्कृतिक आस्थाहरू मुलुकमा सम्मानित र संरक्षित भएको बताउँदै प्रधानमन्त्रीले लोकतन्त्र, सामाजिक न्याय, राष्ट्रिय एकता, स्वाधीनता, राष्ट्रिय अखण्डता र देशभक्तिलाई केन्द्रमा राख्दै कायम गरिने अक्षुण्ण एकता, सद्भाव र सहिष्णुता हाम्रो राष्ट्रिय विशेषता भएको उल्लेख गर्नुभएको छ ।

देउवाद्वारा ‘इद मुवारक’

यसैगरी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले इस्लाम धर्मावलम्वीको पवित्र पर्व इद उल फित्रका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण मुस्लिम समुदायमा सुख, शान्ति एवम् समृद्धिको शुभकामना (इद मुवारक) व्यक्त गर्नुभएको छ ।

उहाँले शुभकामना सन्देशमार्फत पवित्र इद उल फित्र पर्वले मुलुकमा शान्ति, सद्भाव र समृद्धि ल्याउन सबैलाई प्रेरणा दिने विश्वास व्यक्त गर्नुभएको छ । लोकतन्त्रको स्थापना र पुनःस्थापनाका लागि विगतमा भएका हरेक लोकतान्त्रिक आन्दोलनमा इस्लाम धर्मावलम्बीको महत्वपूर्ण योगदान रहँदै आएको बताउँदै पूर्वप्रधानमन्त्री देउवाले लोकतन्त्रको रक्षार्थ मुस्लिम दिदीबहिनी तथा दाजुभाइ अझ बढी जिम्मेवार हुने उल्लेख गर्नुभएको छ ।

कोरोना भाइरसको जोखिमलाई दृष्टिगत गर्दै भौतिक दूरीलाई कायम राखी पारस्परिक एकता, विश्वास र प्रेमका साथ पर्व मनाउन उहाँले सबैलाई आग्रह गर्नुभएको छ । ‘इद उल फित्र’ले सम्पूर्ण जातजाति तथा धर्मावलम्बीमा एकताको सन्देश दिन सफल हुने विश्वास व्यक्त गर्दै सभापति देउवाले इस्लाम धर्मावलम्बीमा शुभकामना व्यक्त गर्नुभएको छ ।