नगरकोटमा नेपाली सेनाको हाइयर कमान्ड तथा म्यानेजमेन्ट तालिम शुरु

नगरकोटमा नेपाली सेनाको हाइयर कमान्ड तथा म्यानेजमेन्ट तालिम शुरु


नगरकोटस्थित नेपाली सैनिक वार कलेजमा सातौँ समूहको हाइयर कमान्ड तथा म्यानेजमेन्ट तालिम शुरु भएको छ ।

नेपाली सेनाका उच्च तहमा पुग्न अनिवार्य रहेको उक्त तालिमको बलाधिकृत रथी शरदकुमार गिरी आइतबार (११ जेठ) उद्घाटन गर्दै शिक्षार्थी अधिकृतहरूको पेशागत ज्ञान बढ्न गई समग्र संस्थाको क्षमता अभिवृद्धि हुने बताउनुभयो । उहाँले भन्नुभयो, ‘हालको जटिल अपरेशनल वातावरणमा समयसापेक्ष निर्णय लिन सक्ने भावी नेतृत्व उत्पादनमा समेत तालीमले महत्वपूर्ण सहयोग पुऱ्याउनेछ ।’

उक्त तालीममा २५ जना महासेनानीको सहभागिता छ । नेपाली सेनामा पहिलोपटक सञ्चालन गरिएको अल आर्मस् कमाण्ड तथा स्टाफ कोर्स (एएसिएससी) को सैनिक तालीम तथा डक्ट्रिन महानिर्देशनालयका महानिर्देशक उपरथी निरञ्जनकुमार श्रेष्ठले प्रथम प्रवचन गर्नुभएको छ ।

अधिकृतस्तरको ५० जना प्रशिक्षार्थी समावेश उक्त तालीममा आर्मी कमाण्ड तथा स्टाफको प्रवेश परीक्षामा उत्तीर्ण भए पनि मर्यादाक्रममा नपरेका अधिकृतको सहभागिता रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । नगरकोटस्थित नेपाली सैनिक वार कलेजमा सञ्चालित उक्त तालीम कोभिड–१९ को सम्भावित सङ्क्रमणलाई ध्यानमा दिई शिक्षार्थी अधिकृतलाई पूर्ण रूपमा क्वारेन्टिनमा राखी सामाजिक दूरी कायम गरी सञ्चालन गरिएको हो ।