लकडाउनको नाममा शवको बाटोसमेत छेकियो

लकडाउनको नाममा शवको बाटोसमेत छेकियो


आरपी उपाध्याय, नवलपरासी

विश्वभर फैलिएको कोरोना भाइरसको महामारीले विश्व आक्रान्त बनाइरहँदा सो भाइरस संक्रमणबाट बच्न लकडाउनलाई प्रभावकारी बनाउन विभिन्न उपायहरु अपनाइँरहदा मुलुकका विभिन्न टोल, छिमेकलगायतमा बाटोहरु अवरोध गर्ने काम भएका पाइएपछि गृहमन्त्रालयले यही जेठ ४ गते लकडाउनको बेला बाटो ब्लक गर्न नपाइने भनी विज्ञप्ती जारी गरेको थियो । तथापि, गृह मन्त्रालयको उक्त सूचनाको अवज्ञा गर्दै बाटो अवरुद्ध गर्ने कार्य विभिन्न जिल्लासहित पश्चिम नवलपरासीमा पनि भइरहेको छ ।

लकडाउनका बेला बाटो ब्लक गरिँदिदा एम्बुलेन्समा बिरामी लैजान, मलामी जान, दमकल, तरकारी सवारीलगायतका अति आवश्यक सवारीसाधनको अवागमनमा बाधा पुग्ने भन्दै नेपाल सरकरले विज्ञप्तिमार्फत आग्रह गरे पनि सोको अटेरी गर्दै शनिबार पश्चिम नवलपरासीको सरावल १ बासाबसहीमा स्थानीयले बाटो अवरुद्ध गरि शव वाहनलाई पनि जान रोक लगाएका छन् ।

शनिबार बिहान सरावल २ तिलौलीका एक युवाको मृत्यु भएको र उनको दाहसंस्कारका लागि चुरे क्षेत्रको जंगलनजिक नदीमा लैजान खोज्दा वडा नम्बर १ का बसहीका स्थानीयवासीहरुले बाटो अवरुद्ध गरी सो शव त्यसतर्फ लैजान नदिएको मृतकका आफन्तले गुनासो गरेका छन् । सो विषयमा स्थानीय स्तरमा रहेका जनप्रतिनिधि, बुद्धिजीवी लगायतले पनि सो विषयमा चासो नदिएको र स्थानीय सरकार र प्रहरी प्रशासनसमेत मौन रहेको र सो कार्यले पीडित पक्षलाई दुःखी बनाएको समाजिक अगुवा जोगेन्द्रप्रसाद हरिजनले बताए ।

(जारी लकडाउन पालना गराउने प्रयास गर्दै विनयी त्रिवेणी केउलानीस्थित जनजागृति क्लबका सदस्यहरु । तस्बिर : आरपी उपाध्याय)