पटके लुटेराहरु अवैध हातहतियारसहित पक्राउ

पटके लुटेराहरु अवैध हातहतियारसहित पक्राउ


विकास रौनियार, धादिङ

जिल्लाको खनियाबास गाउँपालिकास्थित किन्ताङफेदीबाट प्रहरीले अवैध हातहतियार सहित दुई जनालाई पक्राउ गरेको छ । झ्याप्ले भन्ने २७ वर्षीय राजु तामाङ र धानु भनिने ३३ वर्षीय हरिबहादुर तामाङ पक्राउ परेका हुन् ।

खुकुरी, चक्कुलगायतका अवैध हातहतियार झोलामा बोकेर हिँडिरहेको अवस्थामा फेला पारी उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय धादिङका प्रहरी नायव उपरिक्षक रुपक खड्काले जानकारी दिनुभयो । पक्राउ पर्ने राजु तामाङ खनियावास १ झार्लङका स्थायी बासिन्दा हुन् भने हरिबहादुर तामाङ झार्लाङबाट नीलकण्ठ नगरपालिका ८ ससाहमा बसाई सरि आएका व्यक्ति भएको डिएसपी खड्काले बताउनुभयो। हरिबहादुर तामाङ केही वर्षअघि दार्खा चौकीको हिरासतबाट प्रहरीको हत्कडीसहित भागेका फरार अभियुक्त रहेका बताइएको छ ।

यी दुवै अभियुक्त केही वर्षअघि मुस्ताङबाट लुटेर फर्कने क्रममा जोमसोममा लुटेर ल्याइएका सामान र हातहतियारसहित पक्राउ परी ६ वर्ष कैद भुक्तान गरेर आएका व्यक्ति भएका खुलासा पनि प्रहरीले गरेको छ । राजनीतिक आडमा गुण्डागर्दी गर्दै आएका तामाङद्वय गाउँको विकास निर्माणका काम गर्ने समिति, ठेकेदार, गाडी, होटेल र पसलवालाहरुलाई धम्क्याउँदै पैसा असुले गर्ने गरेको नाम गोप्य राख्ने सर्तमा एक जना स्थानीयले बताएका छन् । शनिबार पक्राउ परेका उनिहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरिक्षक (डिएसपी) खड्काले बताउनुभयो ।