नेपालको नक्शानुसार सांसदको प्रतीकचिह्न परिमार्जन गरिने

नेपालको नक्शानुसार सांसदको प्रतीकचिह्न परिमार्जन गरिने


प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठकले सङ्घीय संसद्को प्रतीकचिह्न (लोगो) र प्रतिनिधिसभाका सदस्यले प्रयोग गर्दैआएका प्रतीकचिह्नलाई नेपालको वास्तविक सीमानुरुपको नक्सानुसार परिमार्जन गर्ने निर्णय गरेको छ ।

सिंहदरबारमा आइतबार सभामुख अग्निप्रसाद सापकोटाको अध्यक्षतामा बसेको समितिको बैठकले गरेको निर्णयअनुसार राष्ट्रमा राखिएको प्रतीक (लोगो) र सांसदले लगाउँदै आएका प्रतीक परिमार्जन हुनेछ । बैठकले सो निर्णय कार्यान्वयन गर्न तत्काल प्रक्रिया अघि बढाउन सङ्घीय संसद् सचिवालयलाई निर्देशन दिएको छ ।

राष्ट्रियसभाको बैठक मङ्गलबार बस्ने

राष्ट्रियसभाको सोमबारका लागि तय गरिएको बैठक मङ्गलबारका लागि सारिएको छ । सोमबार मुस्लिम समुदायको पर्व इदुल फित्र परेकाले बैठक स्थगन गरी मङ्गलबार बिहान ११ बजे बस्ने गरी तय गरिएको हो ।

मुस्लिम समुदायको महान् पर्व इदुल फित्र परेको र सो अवसरमा नेपाल सरकारले सार्वजनिक बिदा घोषणा गरेको हुनाले नियमावलीअनुसार सूचना टाँस गरी जेठ १३ गते ११ बजेका लागि बैठक तोक्ने भन्ने विषयमा राष्ट्रियसभाको आइतबार बसेको कार्यव्यवस्था परामर्श समितिले निष्कर्ष निकालेको थियो ।

यस्तै, नेपालको नक्सा अध्यावधिक भएको सन्दर्भमा सङ्घीय संसद्को लोगो (प्रतीक) र राष्ट्रियसभाका सदस्यले प्रयोग गर्दै आएको प्रतीकलाई अध्यावधिक नक्साअनुसार परिमार्जन गर्ने निर्णयसमेत बैठकले गरेको छ । साथै सङ्घीय संसद्का दुवै सदनमा सांसदले प्रयोग गर्दै आएको लोगोमा एकरुपता ल्याउने र त्यसका लागि प्रतिनिधिसभालाई अनुरोध गर्ने निष्कर्ष निकालिएको थियो ।

तस्बिर रासस