देश बचाउने बेला : एक सुरक्षाकर्मीको मनोवाद

देश बचाउने बेला : एक सुरक्षाकर्मीको मनोवाद


■ प्रमिला पाण्डे

न खाने ठेगान छ, न त सुत्नेकै ठेगान । छ त केवल ड्युटी बेमौसमी वर्षात् जस्तै । कतिबेला कता पर्छ थाहा हुँदैन । हुन त राष्ट्रको सेवा गर्छु भनेर भर्ती भएको हुँ म । देशका लागि आफू र आफ्नो परिवार भन्ने छैन बर्दी लगाउँदै गर्दा बाचा यस्तो थियो पल्टनको ।

अवस्था सामान्य हुँदा २ वर्षीय छोरीलाई ड्युटीमै ल्याउँथे । महामारी फैलिएुसँगै काखे छोरी बुढी भएकी सासुआमालाई छोडेर आँछु । दुधेछोरीलाई आमाको न्यास्रो त छँदैछ । भोक लागेको बेलामा आमाको दुधको तलतल कति हुँदो हो.. !? छाती गानिएर दुधले चर्कीरहँदा महसुस गर्छु । उनी उता दूध खान नपाएर रुन्छिन् । गानिएको दूध निचोरेर फाल्दै गर्दा म स्तनपान कक्षमा आफैलाई धिकार्दै रुन्छु ।

बुवा नभएपछि थोरै रहर अनि परिवारप्रतिको जिम्मेवारीले सताउँदै गर्दा खाएको नेपाल प्रहरीको जागीर हो यो । उहाँ पनि राष्ट्रसेवक नेपाली सेनामा । ड्युटी मिलाएकै जस्तो पर्थ्यो । जसले गर्दा परिवारमा हाम्रो अभाव हुँदैनथ्यो । तर अवस्था यस्तो रहेन । मेरोभन्दा बढी उहाँकै ड्युटी पर्छ सिनियर अफिसर भएर । ‘ड्युटी सकिने बितिकै घर जाऊ है, नानी आत्तिएर रोको रोइ छिन रे !’ उहाँ फोन गरेर भनिरहनुहुन्छ । छोरी रोएको पीडा त छँदैछ देश रोएको पीडाले ज्यादै पोल्छ अचेल ।

अहिले चारैतिरबाट देश पीडित छ । कोरोनाले घरभित्रै बसाएको सबैलाई छिमेकी राष्ट्रहरूले बाहिर निस्कन बाध्य बनाएछन् यतिबेला सीमा–विवादले । केही दिनअघि सिंहदरबारमै चिनियाँ नागरिकबाट डिएसपी कुटिए । भारतले लिपुलेखमा र चीनले सगरमाथामा दगा गर्दैछ अहिले । लकडाउन केही खुकुलो पार्दा र छिमेकीहरूको विस्तारवादले गर्दा ड्युटी अझ थपिएको छ सेना र प्रहरीको ।

सोच्छु … लकडाउनमा बाहिर ननिस्कनुस् भन्दा नटेरेकालाई एक–दुई लठ्ठी लगाउँदा पूरै देशका जनताले सेना रप्रहरीले ज्याजती गऱ्यो । जागीरबाट निकाल त्यसलाई भन्दै तहल्का मच्चाउन उक्सिएका थिए ।

तर जब सिंहदरबारमै अर्को देशका नागरिकबाट प्रहरीकै डिएसपी कुटिँदा किन तात्दैनन् जनता र सदन ?
अर्काको देशका सुरक्षाकर्मीमाथि हातपात गर्न कसले अधिकार दियो चिनियाँलाई ? किन मौन छ सिंहदरबार ? किन उठ्दैनन् यस्ता प्रश्न जनमानसबाट ?

नेतृत्वमा कमजोरी नभएको भए यस्तो दिन देख्न र सुन्न पर्दैन्थ्यो । यहाँ हामी भोगिरहेका छौँ ।
अरुको सुरक्षा गर्ने हामी आफैं असुरक्षित हुँदा अभिभावकको बन्छ त ?
सरकारले गरेको एउटा भत्सर्ना र खेद प्रकटले मात्र अभिभावकत्व पूरा होला त ?

यदि हामी सुरक्षाकर्मी पनि यसैदेशको नागरिक हौँ भने अभिभावक र आफ्नोपनको महसुस गराइदिनुस् न । नुन–चिउरा र चाउचाउका भरमा ड्युटी खटिएका छौँ पौष्टिक आहार खानुपर्ने बेलामा पनि । कसेकम कामलाई त सम्मान गर्नुस् हाम्रो ।

थाहा छ केही नियत खराव भएका बर्दीधारीले गर्दा तपाईंहरूले हामीप्रतिको विश्वास गुमाउनुभएको छ । र पनि त हामी सबै खराब छैनाँ । सिङ्गो प्रशासनलाई गलत नजरले नहेर्दा नै बेस हुन्छ । अप्ठ्यारो आफ्नै घरको काम लाग्ने हो । जति तपाईंले वाहवाह गरे पनि छिमेकी छिमेकी नै हुन्छ ।

ओरालो लागेका मृगलाई बाछोले खेदेझैँ भएको छ देशको हालत ।
संसदभवनमा चर्काचर्की नेताहरूको हुँदा फाइदामा छिमेकी देशले लुट्छन् ।
अनि खोसिन्छन् हाम्रा सम्पदा र मिचिन्छन् सीमानाहरू । परिवार फुट्दा घरबार लुटिएको देखे–सुनेकै हाँ नि हामीले ।

आउनुस् हातेमालो गरेर शत्रुलाई परास्त गरौँ ।
पुर्खा वीर गोर्खाली हुन् भन्ने मात्र होइन, अझै नि हामी वीर छौँ भन्ने देखाऔँ मिलेर ।

पार्टीको झण्डा लिएर मेरो पार्टीले गर्छ या तेरोले गर्छ भन्नु भन्दा पनि यतिबेला देशको झण्डा लिएर सिङ्गो देश जाग्नुपर्ने देखिएको छ । पार्टीको झण्डा त पार्टी बचाउन बोक्ने हो । अवस्था देश बचाउनु पर्ने आएको छ । रगतपसिना सिङ्गो नेपालीले बगाएमा मात्र देश बाँच्ने छ ।

यो पनि हेर्नुहोस्-

एक डाक्टरकी पत्नीको सविती बयान !

कोरोना भाइरसले गरायो परिवारको मिलन