खशोग्जीका छोराहरुले बाबुका हत्यारालाई माफी दिए

खशोग्जीका छोराहरुले बाबुका हत्यारालाई माफी दिए


इजिप्टमा हत्या गरिएका साउदी पत्रकार जमाल खशोग्जीका छोराहरुले बाबुका हत्याराहरुलाई क्षमादान दिएको अभिव्यक्ति दिएका छन् । अमेरिकी अखबार वासिङ्टन पोस्टका स्तम्भकार तथा साउदी राजतन्त्रका आलोचक समेत रहेका खशोग्जीका छोराहरुले ट्वीट गरी बाबुका हत्यारालाई माफी दिएको बताएका हुन् ।

खशोग्जी छोराको ट्वीटमा भनिएको छ, ‘जमाल खशोग्जीका हामी छोराहरु हाम्रा बाबुको हत्यामा संलग्नहरुलाई माफी र क्षमादान दिएको घोषणा गर्दछौँ ।’

साउदी अरेबियामा बस्दै आएका जमालका छोरा सलाहको घोषणाको कानुनी वैधानिकता के हुने भन्नेमा चाहिँ स्पष्ट भइसकेको छैन । पत्रकार खशोग्जीको टर्कीको स्तानबुलस्थित साउदी कन्सुलेटमा अक्टोबर २, २०१८ मा विभत्स हत्या गरिएको थियो ।

टर्की सरकारको भनाईमा साउदी अरेबियाका राजकुमार सल्मानद्वारा पठाइएका १५ जना गुप्तचरले जमाल खशोग्जीको हत्या गरेका थिए । हत्या पश्चात जमालको शरीर टुक्राटुक्रा पारेर फालिएको थियो ।

साउदीमा उक्त हत्याकाण्डमा संलग्न ११ जनालाई दोषी देखाइएको थियो जसमध्ये ५ जनालाई मृत्युदण्डको सिफारिस गरिएको छ । तीन जनालाई आजीवन कारावासको सजाय सुनाउनुका साथै अरुलाई छाडिएको छ ।

खशोग्जीका छोरा सलाहले यसअघि साउदी अरेबियाको कानुनी प्रणालीप्रति आफू पूर्ण विश्वस्त रहेको बताउनुभएको थियो । तर कतिपयले सलाहले बाबुको हत्यामा संलग्नलाई माफी दिन साउदी राजासँग मोलतोल गरिरहेको आरोप लगाएका थिए ।

वासिङ्टन पोस्टले गत अप्रिलमा एउटा समाचार प्रकाशित गरी खशोग्जीका सलाह समेतका छोराछोरीले साउदी सरकारबाट करोडौं डलर मूल्यका सम्पत्ति प्राप्त गरेको र मासिक हजारौँ डलर बुझिरहेको जनाएको थियो । तर सलाहले उक्त अखबारको समाचार खण्डन गरेका थिए । एएफपीका अनुसार उनले साउदी सरकारसँग आर्थिक लेनदेनका विषयमा छलफल नभएको भन्दै प्रतिवाद गरेका थिए ।