संविधान संशोधन प्रस्ताव छिट्टै आउने प्रधानमन्त्रीको प्रष्टोक्ति

संविधान संशोधन प्रस्ताव छिट्टै आउने प्रधानमन्त्रीको प्रष्टोक्ति


नेपालको लिम्पियाधुरा, कालापानी र लिपुलेकसहितको नयाँ नक्शा, निशान छाप र प्रतीकचिह्नसहितको व्यवस्थाका लागि संविधान संशोधन प्रस्ताव संसदमा ल्याइने प्रधानमन्त्री केपी शर्मा ओलीले बताउनुभएको छ । राष्ट्रियसभाको मंगलबारको बैठकमा आगामी आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्न एवं जिज्ञासाबारे जवाफ दिँदै प्रधानमन्त्री ओलीले संविधानको अनुसूची ३ सँग सम्बन्धित संशोधन प्रस्ताव चाँडै संसदमा ल्याइने जानकारी दिनुभएको हो ।

यसअघि मंगलबार नै प्रधानमन्त्रीले प्रतिनिधिसभाको बैठकमा उक्त अनुसूचीसहित आवश्यकतानुसार अन्य विषयमा पनि संशोधन गर्न सकिने जनाउनुभएको थियो । नेपालको गुमेको भूभागमा मन कुँड्याएर बसिरहने नभई अब फिर्ता ल्याउनुपर्छ भन्दै उहाँले दबेर वा हीनग्रन्थीबाट वा कसैले धम्क्यायो भने लच्किएर छिमेक सम्बन्ध नहुने स्पष्ट गर्नुभयो । उहाँले भन्नुभयो, ‘सरकारले नयाँ नक्शा ल्याएको छ । अब अतिक्रमित भूमि फिर्ता ल्याउँछ । केही दिनमा उक्त नयाँ नक्शा प्राप्त हुनेछ ।’