स्वाद र गन्ध थाहा नपाउनु कोरोनाको लक्षण भएको पुष्टि

स्वाद र गन्ध थाहा नपाउनु कोरोनाको लक्षण भएको पुष्टि


स्वाद र गन्ध दुवै थाहा नपाउनु पनि कोरोनाको एक लक्षण भएको बेलायतको जनस्वास्थ्य विभागले पुष्टि गरेको छ । त्यहाँको नेशनल हेल्थ सर्भिस (एनएचएस)ले सोमबार (५ जेठ) आधिकारिक रूपमा सो कुरा बताएको हो ।

यसअघि यी लक्षणलाई एनएचएसले समावेश गरेको थिएन । गत महिना यी लक्षण पनि कोरोनासँग सम्बन्धित हुनसक्ने अनुमान मात्रै गरिएको थियो र पुष्टिका लागि थप अनुसन्धान थालिएको थियो ।

बेलायतको स्वास्थ विभागका एक अधिकृत प्रोफेसर जोनाथन भ्यान ट्यामले अनुसन्धानबाट यस्तो कुरा पत्ता लागेको बताएका हुन् । कसैमा यी दुई मात्र लक्षण देखिए एक हप्ता घरमा अलग्गै बस्न आग्रह गरिएको छ भने यीबाहेक अन्य पूर्ववत् लक्षणसमेत देखिए १४ दिन अलग्गै बस्न भनिएको छ ।

प्रो. ट्यामले कोरोनाको सङ्क्रमणबाट हालै भर्ना भएका नयाँ सङ्क्रमितमा यी लक्षण करिव ९३ प्रतिशतलाई देखिएको बताएका छन् । किङ्स कलेज लण्डनका अनुसन्धानकर्मी प्रो टिम स्पेक्टरको समूहले गत हप्ता प्रकाशित गरेको अनुसन्धानले यस्तो निष्कर्ष देखाएको हो ।