कर्णाली छिऱ्यो कोरोना, देशभरमा ३ सय ७५ संक्रमित

कर्णाली छिऱ्यो कोरोना, देशभरमा ३ सय ७५ संक्रमित


कोभिड–१९ को संक्रमण सोमबार (५ जेठ) थप १८ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, भेरी अस्पताल नेपालगञ्ज र कोशी अस्पताल विराटनगरमा परीक्षणका क्रममा नयाँ संक्रमण देखिएको बताउनुभयो ।

उहाँका अनुसार नयाँ देखिएका संक्रमितमा दैलेख र खोटाङ जिल्लाका पनि छन् । दैलेखमा संक्रमित देखिएसंँगै कर्णाली प्रदेशमा पनि संक्रमण देखिएको छ । नयाँ संक्रमित सबै पुरुष छन् ।

डा. अधिकारीका अनुसार संक्रमण देखिएकामध्ये धनुषा निवासी दुई, खोटाङ हलेसी निवासी, बाँके नरैनापुर गाउँपालिका निवासी १२, दैलेख आठबीस वडा नंं १ निवासी एक, सुनसरी निवासी र झापा निवासी एक छन् ।

यसअघि सोमबार नै ६२ जनामा संक्रमण देखिएको थियो । बिहान ९ र अपराह्न ५३ जनामा संक्रमण देखिएको थियो । अहिले देखिएका १८ जनासंँगै सोमबार मात्रै ८० जनामा संक्रमण देखिएको छ । आज देखिएका संक्रमितमा सबभन्दा बढी बाँकेमा ५९ जनामा देखिएको मन्त्रालयका सहप्रवक्ता डा. अधिकारीले बताउनुभयो ।

सोमबार देखिएको संख्या सबभन्दा बढी हो । थप देखिएकासंँगै संक्रमितको संख्या ३ सय ७५ पुगेको छ भने हालसम्म दुई जनाको कोभिड–१९ का कारणले मृत्यु भएको छ ।