नेम्वाङ्गको अनुरोध प्रचण्डद्वारा अस्वीकार

नेम्वाङ्गको अनुरोध प्रचण्डद्वारा अस्वीकार


सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का एकथरी नेताहरूले सरकारद्वारा प्रस्तुत नीति तथा कार्यक्रमबारे संसदमा मन्तब्य राख्न अस्वीकार गरेका छन् । जेठ २ गते राष्ट्रपति विद्या भण्डारीद्वारा संसदमा आगामी वर्षको लागि नीति तथा कार्यक्रम प्रस्तुत भएको थियो ।

उक्त नीति र कार्यक्रमका विषयमा बोल्दै बिपक्षी सांसदहरूले खिल्ली उडाएका छन् । सत्तापक्षका भने कोही पनि ठूला नेताहरू नीति तथा कार्यक्रमको पक्षमा बोल्न अग्रसर भएनन् । पार्टीको महासचिव बिष्णु पौडेल समेत बोल्न इच्छुक नभएपछि सुबास नेम्बाङबाट टेलीफोन मार्फत विशेष अनुरोध भएको थियो।

नेम्बाङको अनुरोधपछि सोमबार (५ जेठ) संसदमा उपस्थित भएर पौडेलले अप्ठ्यारो मान्दै नीति तथा कार्यक्रमबारे बोलेका थिए। यसैबीच नेम्बाङ्गले प्रचण्डलाई पनि बोल्न आग्रह गरे, तर प्रचण्डले नीति र कार्यक्रमबारे बोल्न अस्वीकार गरे ।

प्राप्त जानकारीअनुसार प्रचण्ड, माधवकुमार नेपाल र झलनाथ खनालसहितका एकथरी नेताहरूले सरकारको समर्थनमा कुनै हालतमा नबोल्ने निर्णय लिएका छन् । बजेटपछि वर्तमान सरकारलाई जसरी भए पनि हटाउने दृढ अठोट सत्ताभित्रका विपक्षी नेताहरूले गरेको बुझिएको छ।