जनतामा रोगसँगै भोकले मर्ने चिन्ता बढेको सांसद् चौधरीको जिकिर

जनतामा रोगसँगै भोकले मर्ने चिन्ता बढेको सांसद् चौधरीको जिकिर


नेपाली कांग्रेसका सांसद विनोदकुमार चौधरीले कोरोनाले निम्त्याएको समस्याबाट जनतामा रोगसँगै भोकले मर्ने चिन्ता बढेकाले तत्काल भोकको समस्या समाधान गर्नेतर्फ सरकारको कार्यक्रम लक्षित हुनुपर्ने बताएका छन् ।

प्रतिनिधिसभाको सोमबार सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा उनले लकडाउनले आहत भएका सर्वसाधारणलाई जीवनरक्षाको प्रत्याभूति दिन नसकेको टिप्पणी गर्दै कोरोनाले निम्त्याएको समस्याबाट जनतामा रोगसँगै भोकले मर्ने चिन्ता बढेको जिकिर गरे । तत्काल भोकको समस्या समाधान गर्नेतर्फ सरकारको कार्यक्रम लक्षित हुनुपर्ने उनको तर्क छ ।

‘रोजगारी गुम्दै छ । उद्योगधन्दा बन्द छन् । सडकमा उभिएका दिनहुँ हातमुख जोर्नुपर्ने बाध्यता भएका कामदार कामविहीन छन् । नाङ्लो पसल, रिक्साचालक तथा समाजको हरेक वर्ग त्रसित छ, एकातर्फ कोभिडको कारण भने अर्कोतर्फ कोभिडभन्दा पहिले भोकले मरिने हो कि भन्ने त्रासबाट’, सांसद् चौधरीले भने, ‘भएका उद्योग पनि सञ्चालन हुन नसकेको वेला नयाँ उद्योग खोलेर रोजगारी दिन्छु भन्ने सरकारको आश्वासन दिवासपना मात्रै हो ।’

नेपालको कृषि उत्पादन भारत र चीनको प्रतिस्पर्धामा ३० प्रतिशतभन्दा बढी महँगो पर्ने भएकाले विदेशी उत्पादन र नेपाली उत्पादनबीचको मूल्य भिन्नताको खाडल सामान्य नीतिले पुर्न नसक्ने भन्दै उनले सरकारको ध्यानाकर्षण गराए ।