संसदमा सांसद् सिंहको गर्जन- ‘कमजोरलाई निर्वस्त्र पार्ने सत्ताको आयु लामो छैन !’

संसदमा सांसद् सिंहको गर्जन- ‘कमजोरलाई निर्वस्त्र पार्ने सत्ताको आयु लामो छैन !’


सरकारले अघि सारेको नीति तथा कार्यक्रमाथि संसद्मा छलफल जारी छ । विपक्षी दलका सांसदहरूले नीति तथा कार्यक्रमको आलोचना गर्नु सामान्य नै भए पनि सत्तापक्षकै कतिपय सांसदले खुलेर यसको समर्थन र प्रशंसा गर्न सकेका छैनन् ।

यसै सिलसिलामा प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सांसद डा. अमरेश कुमार सिंहले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम देश र जनतालाई राहत प्रदान गर्ने खालको नभई सरकारलाई नै सङ्कटमा पार्ने विशेषतायुक्त भएको टिप्पणी गरेका छन् ।

संघीय संसदको प्रतिनिधिसभामा जारी छलफलमा सोमबार (५ जेठ) सहभागी हुँदै काङ्ग्रेसका नेता एवम् सांसद डा. सिंहले यो संकटको घडीमा सरकारले अघिसारेको नीति तथा कार्यक्रम पूर्णतः गलत तरिकाले आएको दाबी गरे । वर्तमान कठिन परिस्थिति र कोभिड–१९ पछिको सम्भाव्य विकराल अवस्थालाई उचित तवरले सम्बोधन गर्ने स्पष्ट सन्देश दिनुपर्नेमा फगत् विद्यालयमा शिक्षकले विद्यार्थीलाई पढाउने कितावको ठेली जस्तो नीति–कार्यक्रम आएको भन्दै उनले ब्यङ्ग्य गरे । सांसद सिंहको भनाईअनुसार सरकारले देशमा सबै कुरा ठिकठाक छ भन्ने भ्रम फैलाएर जनतालाई गुमराहमा पार्न खोजेको छ ।

संघीयता बाँच्छ कि बाँच्दैन, लोकतन्त्र रहन्छ कि रहँदैन, गणतन्त्र हुन्छ कि हुँदैन भन्ने सन्देह उठ्न थालेको बेला सरकारको नीति तथा कार्यक्रमले यसतर्फ केही सोच्न नसकेको जिकिर गर्दै सांसद सिंहले भने– ‘अर्थमन्त्री युवराज खतिवडाको गलत नीति, गतिविधि र रवैयाकाका कारण सरकार अप्ठ्यारोमा परेको छ, कोरोना भाइरसको संक्रमण रोक्न लगाइएको लकडाउनपछि जनताले सरकारलाई नै लकडाउन गर्ने छन् ।’

सरकार भ्रष्टाचारका कारण गन्हाइसकेको, भ्रष्टाचारी र अपहरणकारीलाई सरकारले पश्रय दिएको र यस्तै यस्तै अनेक विकृति बढाएको आरोप लगाउँदै उनले भने– ‘म ठोकुवा गरेर भन्छु कि कमजोरलाई निर्वस्त्र पार्ने यो सत्ताको दिन धेरै लामो छैन ।’

आफ्नो भनाई प्रष्ट्याउँदै उनले अगाडि भने– ‘आर्मी प्रयोग भएका तीनवटा फोटो भाइरल भएको छ । एउटा, छिन्नमस्तामा जाँदाखेरि ‘महारानी’का छोराछोरीसमेतको चप्पल बोकेको । दोस्रो, कोभिड–१९ को महामारीका बेला संसदमै रातो कार्पेट बिच्छ्याएको र तेस्रो, श्रीमती बचाउन ब्लड लिन गएका व्यक्तिलाई त्यसलाई नंग्याइएको । यसरी पीडित तुल्याइएका घनश्याम झा कमजोर समुदायको प्रतीक थिए । जब–जब कमजोरलाई निर्वस्त्र गरिन्छ त्यो सत्ता टिक्दैन । बुझौँ ।’