सरकारसँग कांग्रेसको आग्रह- ‘सरकार हुनुको दायित्व निर्वाह गरिदेउ’

सरकारसँग कांग्रेसको आग्रह- ‘सरकार हुनुको दायित्व निर्वाह गरिदेउ’


कैयन दिनदेखि नेपाली नागरिक भारतसाँगको विभिन्न सीमा नाकामा अलपत्र परेको अवस्थाकै बीच पछिल्लो चौबीस घण्टामा थप हजारौँ नेपाली सीमा क्षेत्रमा आइपुगेका छन् । यसरी सीमामा नेपाली नागरिक भेला भएका विवरण आफूलाई प्राप्त भएको प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले जनाएको छ ।

भारत सरकारले रेल र बसमार्फतको सुविधा दिएपछि भारतका विभिन्न शहरबाट यसरी नाकामा आइपुगेका नेपालीलाई प्रवेश गराउने बारे संघीय सरकारले प्रष्ट नीति तय गरेर निर्देशन जारी नगर्दा कतिपय नाकाबाट प्रवेश गराइएको विवरण प्राप्त छ भने कयौँ नाकामा प्रवेश नपाएर नेपालीहरु अलपत्र स्थितिमा रहेका कांग्रेसले जनाएको छ ।

उनीहरुलाई जोखिमरहित ढंगले मुलुक प्रवेश गराउन सरकारले तत्काल गम्भीरता साथ पहल नगर्ने हो भने एकातर्फ खाने—बस्ने कठिनाइमा हजारौँ नेपाली दसगजा क्षेत्रमा प्रताडित हुनेछन् भने अर्कातर्फ लुकिछिपी नेपाल प्रवेश गर्ने कतिपयको प्रयत्नले कोरोनाको जोखिम झनै बढ्ने कांग्रेसको ठहर छ । यसर्थ नाकामा आइपुगेका सबै नेपालीलाई ब्यवस्थित ढंगले प्रवेश गराउन तथा उचित क्वारेन्टाइनमा कडाइका साथ राखेर परिक्षणपश्चात् सुरक्षित रूपमा घर पुऱ्याउने प्रबन्ध गर्न नेपाली कांग्रेसले सरकारलाई आग्रह गरेको छ ।

लुकिछिपी प्रवेशबाट यसबीचमा संक्रमण फैलिन योगदान पुगेको परिदृश्य स्मरण गर्दै सतर्कता र उच्च मानवीय भावना साथ सरकार हुनुको दायित्व निर्वाह गर्न नेपाली कांग्रेसले सरकारलाई आग्रह गरेको पार्टी प्रवक्ता विश्वप्रकाश र्शाले जनाएका छन् ।