२६ जेष्ठ २०८०, शुक्रबार

कालीमाटी तरकारी बजार क्षेत्रमा कोरोना परीक्षण

  प्रकाशित मिति
२ जेष्ठ २०७७, शुक्रबार ०३:१९


काठमाडौं उपत्यकामा कोभिड–१९ को सङ्क्रमण बढ्दै गइरहेको भन्दै काठमाडौं महानगरपालिकाले परीक्षणको दायरा बढाएको छ ।

कामपाले बिहीबार (१ जेठ) कालिमाटी तरकारी बजार क्षेत्रमा कोरोना सङ्क्रमितको पहिचानका लागि बिहान ११ बजे शुरु गरेको आरडिटी र पिसीआर परीक्षण साँझ साढे ६ बजेसम्म गरेको थियो । महानगरले कालिमाटी तरकारी तथा फलफूल विकास समिति र इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखासँग समन्वय गरेर परीक्षणको प्रबन्ध गरेको हो ।

बजार क्षेत्रभित्रबाट बिक्री हुने तरकारी, फलफूल र माछा ढुवानी गर्ने चालक र सहचालक, भरिया तथा मजदुर, कर्मचारी, सरसफाइ मजदुर, सुरक्षाकर्मीसहित बजारसँग सम्बन्धित व्यक्तिहरुमा कोरोना भाइरस भए/नभएको पत्ता लगाउन यस प्रकारको परीक्षण गरिएको महानगरपालिकाले जनाएको छ ।

कामपाका प्रमुख विद्यासुन्दर शाक्यले उपत्यकामा सङ्क्रमित व्यक्तिहरु देखिन थालेका र यसले लकडाउनको पालना गरेर बस्नेहरुलाई सशङ्कित बनाएको भन्दै यो आशङ्कालाई निवारण गर्नका लागि परीक्षण शुरु गरिएको जानकारी दिए । महामारी नियन्त्रणका लागि खटिने जनप्रतिनिधि र कर्मचारीलाई क्रमशः परीक्षण गरिने उनको भनाई छ ।

परीक्षणका क्रममा महानगरपालिका उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले पनि पिसीआर परीक्षण गराइन् । उपप्रमुखलगायत सबैको परीक्षण नतिजा भने आउन बाँकी रहेको जनाइएको छ ।

उपप्रमुख खड्गी श्रेष्ठले अहिले जसलाई भेटे पनि शङ्का गर्नुपर्ने अवस्था रहेको भन्दै यो शङ्का हटाउन पनि जनप्रतिनिधिले परीक्षण गराउनुपर्ने जिकिर गरिन् ।

इपिडियोमोलोजी तथा महामारी नियन्त्रण शाखाका प्रमुख डा. अमृत पोखरेलका अनुसार कम जोखिममा रहेका ७० प्रतिशत नागरिकको आरडिटी र जोखिममा रहेका ३० प्रतिशतको पिसीआर परीक्षण गर्ने गरी काम भइरहेको छ ।

कालिमाटी तरकारी तथा फलफूल विकास समितिका उपनिर्देशक विनय श्रेष्ठका अनुसार कालिमाटीमा इजाजत लिएर थोक तथा खुद्रा व्यापार गर्ने ५ सय ५० व्यापारी छन् । सामान्य अवस्थामा बजारमा हरेक दिन १० हजार बढी मानिसको आवतजावत हुन्छ । तरकारी, फलफूल तथा माछा लिएर दैनिक औषतमा एक हजार बढी सवारी आउँछन् भने दुई हजार बढी मोटरसाइकल आवतजावत गर्छन् । बजारसँग आश्रित ५०० भरिया मजदुर छन् । बजार व्यवस्थापनका लागि ६३ कर्मचारी र सुरक्षाकर्मी कार्यरत छन् भने २० मजदुर सरसफाइमा कार्यरत छन् ।

तस्बिर : प्रवीण श्रेष्ठ


0
Shares

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

‘धेरै पटक शरणार्थीको हैसियतका लागि आवेदन दिएका विदेशी नागरिकलाई देश छोड्न बाध्य तुल्याउन सक्ने’ जापानी संसदको माथिल्लो सदनले आप्रवासन तथा

गणतन्त्र दिवसका अवसरमा यही जेठ १५ गते खुला गरिएको पोखराको फेवा किनारास्थित रत्न मन्दिर घुम्ने विदेशी पर्यटकको सङ्ख्या अति न्यून

यसपालि नेपालका धेरैजसो स्थानमा अधिकतम तापक्रमले ‘रेकर्ड ब्रेक’ गर्ने देखिएको छ । केही स्थानमा रेकर्ड ब्रेक भइसकेको र अझै तातो

चालु आर्थिक वर्षको १० महिनामा कूल रु १० खर्ब पाँच अर्ब विप्रेषण मुलुकभित्र भित्रिएको छ । वैदेशिक रोजगारीमा जाने कामदारको