शेयर कारोबार अब लकडाउन अवधिभरका लागि बन्द

शेयर कारोबार अब लकडाउन अवधिभरका लागि बन्द


लकडाउनका कारण बन्द भई ५०औँ दिनमा गत मङ्गलबार खुलेको शेयर बजार पुनः बन्द गर्न नेपाल धितोपत्र बोर्डले नेपाल स्टक एक्सचेञ्जलाई निर्देशन दिएको छ ।

बोर्डको निर्णयका आधारमा नेप्सेले मङ्गलबार र बुधबार शेयर कारोबार गरेको थियो । दुई कारोबार दिनमा समेत बजार पूरा समय टिक्न सकेन । दुई प्रतिशतभन्दा बढीले बजार ओरालो लागेपछि नेप्सेले सर्किट ब्रेक लगाएर बजार बन्द गरेको थियो ।

मङ्गलबार बजार झण्डै डेढ घण्टा टिकेको थियो भने बुधबार कारोबार शुरु भएको ४० मिनेटमा नै सर्किट लागेर बन्द भएको थियो । बोर्डले दुई प्रतिशतका आधारमा बजार उकालो लागे पनि वा ओरालो लागे पनि सर्किट ब्रेक लगाउने व्यवस्था गरेको थियो ।

लकडाउन जारी रहे पनि बजार सञ्चालन गर्ने निर्णयअनुसार खुलेको बजार आज (१ जेठ) पुनः बोर्डको निर्देशनअनुसार नै बन्द गरिएको नेप्सेले जनाएको छ ।

कोरोना भाइरसको जोखिम काठमाडौं उपत्यकामा परेको र सरकारले यही जेठ ५ गतेसम्म लकडाउन जारी राखेका कारण त्यसलाई कडाइका साथ लागू गर्नुपर्ने भएकाले बजार बन्द गरिएको नेप्सेले जनाएको छ ।

लकडाउनलाई पूर्ण रुपमा पालन गर्न र मानिसको आवतजावत गर्न सवारी पासमा समेत कडाइ गरेको र यस्तो अवस्थामा लगानीकर्ताको धितोपत्रको पहुँचमा असहजता हुने देखिएकाले लगानीकर्ताको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर लकडाउन अवधिभर कारोवार स्थगन गर्न बोर्डले निर्देशन दिएको छ ।

अब लकडाउन अवधिभर बजार अब बन्द रहने बताइएको छ ।