फेरि पनि शुभकामना.. उदाउँदै गरेका दिवेशलाई !

फेरि पनि शुभकामना.. उदाउँदै गरेका दिवेशलाई !


■ अर्पण तिवारी

‘दिवेश.., भगवान पशुपतिनाथले रक्षा गरुन्, कृष्ण दाहिना हुन् !’
यो वाक्यांश हाल अमेरिकाको एबीसी च्यानलमा सञ्चालन भइरहेको विश्वप्रसिद्ध गायनको खोजी कार्यक्रम ‘अमेरिकन आइडल’को लागि आफ्नो नातिलाई भोट अपिल गर्दैगर्दा दिवेश पोखरेलकी ९२ वर्षीया हजुरआमाबाट दिइएको आशीर्वादको अंश हो ।

दिवेशको हजुरआमालाई जस्तै हामी सबैलाई थाहा भएको कुरा हो कि भगवान् कृष्णले आफ्नो संगीत साध्यबाट नै सोह्र सय गोपिनीहरूलाई आफ्ना बनाएका थिए । त्यही कृष्णको सिको गर्दै अहिले विश्व मानवजगतलाई आफ्नो स्वर र संगीत साध्यबाट मन्त्रमुग्ध तुल्याउँदै गीत-संगीतको महासागरमा सयर गर्न दिवेश निस्केका छन् ।

गीत-संगीत अहिले सम्पुर्ण मनुष्यजगतको एउटा अभिन्न अङ्गको रुपमा विकसित हुँदै आएको पाइन्छ । गीत-संगीत हाम्रो समाजमा एउटा शिशुको जन्मपश्चात् गरिने पुजाआजामा प्रयोग हुने भजन, उसलाई खाना खुवाउँदा भुलाउन प्रयोग गरिने लोरी (बालक भुलाउन गाइने गीत) देखि उसको अन्तिम अवस्थामा सुनाइने पुराणका श्लोकहरू हुँदै उसको अस्तपछि ‘राम नाम सत्य हो’को गायनसँगै सकिन्छ । गीत-संगीत नै माया, मोह, सुख, दुःखको अवस्था ब्यक्त गर्ने माध्यम बनेको छ । आफ्नो शरीरलाई नै समय दिन नसक्ने गरी ब्यस्तताले निम्त्याएको मानसिक तथा शारीरिक तनाव र यसको व्यवस्थापनको लागि रचिएका सम्पूर्ण योग ध्यान विधिहरूमा पनि गीत-संगीतको बाध्यात्मक प्रयोग प्रायः निश्चित भएको देखिन्छ ।

यतिसम्म कि बिरामीलाई सान्त्वना प्रदान गर्न डाक्टरहरूले नै हस्पिटलमा गीत-संगीतको माध्यम प्रयोग गरेका समाचारहरू समेत बेला-बेला प्रकाशमा आइरन्छन् । यी सबै तथ्यहरू हेर्दा संगीत मानवजीवनको एक अभिन्न अगंको रूपमा विकसित हुँदै आएको पाइन्छ । गीत-संगीत जस्तो गहन विषयमा दिवेशले नेपालको नाम गुञ्जाउँदै ‘अमेरिकन आइडल’का सिँढीहरू जसरी उक्लिरहेका छन्, उनको सफलता नेपाल र नेपालीका लागि अवश्यमेव गौरवको विषय बन्ने छ ।

अमेरिकन आइडल अमेरिकाको एबीसी च्यानलमा सञ्चालन भैरहेको गायन प्रतिभाको खोजीको लागि विश्वप्रसिद्ध रियलिटी शो हो । सन् २००२ जुन ११ बाट सुरु भएको यस ‘शो’कोे विशुद्ध उद्देश्य उत्कृष्ट गायकीको छनोट नै हो । १८औँ श्रृङ्खलासम्म आइपुग्दा अमेरिकन आइडलमा अहिलेसम्म नेपाली प्रतिस्पर्धी नभएसँगै दिवेश नै अमेरिकन आइडलमा नेपाली मूलबाट सहभागी हुने पहिलो नेपाली हुन् । अहिले दिवेश लाखौँबाट छानिएर ७औँ प्रतिस्पर्धीको रूपमा छानिँदै गर्दा सबैभन्दा बढि मत प्राप्त गर्ने प्रतिस्पर्धी बनेका छन् । अब उनी पाँचौँ र तेस्रो स्थानका लागि प्रतिस्पर्धामा छन् । सुरुवाती चरणदेखि नै निर्णायक मण्डलका सदस्यहरूले दिने हौसला वा उत्प्रेरणा दिवेशको तुलनामा उनका प्रतिस्पर्धीहरूले प्राप्त गर्न सकेका छैनन् । उसो त निर्णायकहरूले नै ‘दिवेश अमेरिकन आइडल बन्न सक्ने’ सम्भावनाबारे उनलाई हौस्याउने क्रममा मन्चबाटै बेला–बेला अभिव्यक्ति प्रकट गर्दै आएका छन् ।

वि.सं. २०५५ मा आमा मैंया पोखरेल र बाबा दाताराम पोखरेलको कोखमा जन्मेका दिवेशले काठमाडौको एस कलेज इन्स्टिच्युटबाट व्यवस्थापन विषयमा प्लस टु सकेका हुन् । दिवेशको परिवारमा चार दिदीबहिनी पनि छन् । विगत ६ वर्षदेखि उनी हाल सपरिवार अमेरिकाको कन्सास राज्यस्थित विचिटा शहरमा बस्दै आएका छन् । सानोमा आमाले उपहारस्वरुप किनिदिएको गिटारबाट संगीतको भाग्यरेखा कोर्न थालेका दिवेशले स्कुलमा हुने कार्यक्रममा गीत गाउँदै प्लस टु सम्म पुग्दा काठमाडौंका विभिन्न क्लब, पप तथा कन्सर्टहरूमा गीत गाउन थालिसकेका थिए । सन् २०१८ मा निस्केको पहिलो एल्बम ‘ग्रहण’बाट उनको संगीतमा कोरेको सपनाले सार्थकता पाएको थियो ।

सो एल्बममा समेटिएका न्यानो घर, समुन्द्रपारि, मन, प्रलय ए, प्रलय बी, जस्ता गीत नेपाली श्रोताद्वारा अत्याधिक रुचाइए । उनको सो पहिलो एल्बममा ८ वटा गीत समावेस छन् । यही एल्बमपछि उनले आफ्नो स्टेज नाम आर्थर गन राखेका हुन् । २०१९ मा उनले खोज, म, कर्नाली (द रिभर) गीत निकाले जुन गीतहरू पनि नेपाली श्रोताले अत्याधिक रुचाएका छन् । दिवेशको सांगीतिक यात्रा अमेरिका गइसकेपछि पनि रोकिएन । नेपाली गीत गाइरहेका दिवेशले अमेरिकामा अङ्ग्रेजी गीत गुनगुनाउन थाले । उनले विटिचा शहरका रेस्टुरेन्ट, बार, पवहरूमा अग्रेजी गीतहरू गाउन थाले र आफ्नै साथीहरूले भनेका भरमा अमेरिकन आइडलमा जोडिन पुगे, र अहिले उनी नै अमेरिकन आइडलको यो श्रङ्खलाको उपाधिविजेताको रूपमा उभिएका छन् ।

अमेरिकन आइडललाई अन्य देशमा गायन प्रतिभाको लागि गरिने रियलिटी शो जस्तै एक सामान्य शो को रूपमा लिने जमात पनि नभएको होइन । तर अमेरिकाले विश्वमा आफूलाई अब्बल स्थानमा राख्न सकेको हुनाले यहाँ हुने जस्तोसुकै रियलिटी ‘शो’मा विश्वसमुदायको ध्यान जानु सामान्य हो । नेपालीका लागि यो अवश्य सामान्य विषय बन्ने छैन । जसरी गौतम बुद्धको देश भनेर नेपाल चिनिन्छ, दिवेशले नेपालको नाम आफ्नै मौलिकताका साथ विश्वसामु फैलाउनका लागि प्रयासरत छन् । दिवेशले शुरुको अडिसनमा नमस्तेबाट आफ्नो प्रस्तुति थाल्दै गर्दा निर्णायकहरूले नमस्ते सम्बोधन गरेका छन् ।

उनको पहिलो अडिसनको भिडियो धेरै दिनसम्म युट्यूबको ट्रेन्डिङ लिस्टमा छ जुन भिडियोमा खुलेर नेपालको काठमाडौं तथा हिमालहरूका दृश्य देखाइएको छ । दिवेश अहिले युट्युबमा सबैभन्दा बढि खोजीने पात्र हुन् । सामाजिक सन्जालहरूमा उनको फ्यान फलोइङ एकदमै बढेर गएको छ । दिवेश पोखरेलको भिडियो विश्वका सयौँ देशका नागरिकले युट्युबमा राखिरहेका छन् जसमा उनीहरूले स्पष्ट रुपमा नमस्ते भन्ने शब्द प्रयोग गरिरहेका छन्, नेपालको बारेमा खुलेर बोलिरहेका छन् । दिवेशले राख्ने भिडियोहरूमा नेपाली पोशाक, नेपाली खानाहरू पनि समावेश गरेका छन् जसले नेपाली भाषा, रीतिरिवाज, खानपानको बारेमा विश्वसामु चिनाउने अवसर मिलेको छ । दिवेशले नेपालका लोकगीतका पर्यायजस्तै बनेका झलकमान गन्धर्बको ‘तिम्रो नै मया लाग्दछ साहिँली’ जस्तो टिपिकल गीतमा कभर गीत बनाएर गाएका छन् र यतिबेला विश्वले यसलाई हेरिरको छ जसले निर्वाध रूपमा नेपाली लोकगीत-संगीतलाई एउटा उचाइमा पुऱ्याउने होड चलेको मान्न सकिन्छ । आफ्ना प्रस्तुतिहरू दिँदै गर्दा दिवेशका बाबाआमाले नेपाली भाषा नै प्रयोग गरेर उनलाई शुभकामना तथा आशीर्वादहरू दिएका अभिव्यक्ति-अंशहरू अहिले अमेरिकाको एबीसी च्यानलमा देखाएसँगै युट्युबबाट ससांरभर यसलाई हेरिरहेको छ, जसले नेपाली भाषा पनि विश्वसामु चिनाइरहेको छ ।

यसरी, दिवेश अमेरिकन आइडलमा चर्चित भैरहँदा नेपालको नाम विश्वसामु कोरोनाको गतिभन्दा ज्यादा फैलिरहेको छ । अहिले दिवेश अमेरिकन आइडलको पर्यायवाची बन्न खोज्दै गर्दा उनीसँगै नेपालको नाम जोडिएर आएको छ जुन हाम्रो लागि गौरवको कुरा हो । दिवेशले नेपाललाई चिनाउन गरेको प्रयास यतिले मात्रै पूरा भने हुने छैन । दिवेशले दिएका कयौँ अन्तरवार्तामा संगीतमा लाग्नुको प्रेरणाको स्रोत भनेर सोध्दै गर्दा जसरी John Martyn, Nick Drake, Bob Dylan, Bukka White, Robert Johnson, Howlin’ Wolf, Sonny Boy Williamson, and John Lee Hooker खुलेर बोलेका छन्, यसको तुलनामा नेपाली संगीतको चर्चा गर्न भने चुकेका छन् । अबको पर्खाइ दिवेशले मातृभूमिका लागि स्टेजमा नै सकेसम्म नेपाली गीत–संगीतको पनि खुलेर प्रशंसा गर्ने छन्, नेपालको महिमा पनि त्यहाँ पोख्ने छन् । आशा छ, दिवेशले नेपालको बारेमा अझै खुलेर मुक्तकण्ठले पक्कै प्रशंसा गर्नेछन् । उपाधि हात पारिसकेपछि पनि सम्पुर्ण नेपालीलाई एकताबद्ध गर्ने खालका प्रस्तुति अगाडि ल्याउनेछन् । नेपालको प्राकृतिक छटा, रीतिरिवाज विश्वसामु फैलाउन कुनै कसर बाँकी राख्ने छैनन् । दिवेशलाई फेरि पनि सफलताको शुभकामना ।