नेप्लिज तेक्वान्दो एकेडेमीद्वारा ३ सय २३ परिवारलाई राहत वितरण

नेप्लिज तेक्वान्दो एकेडेमीद्वारा ३ सय २३ परिवारलाई राहत वितरण


नेप्लिज तेक्वान्दो एकेडेमीले शारीरिक अपाङ्गता, जेष्ठनागरिक, गर्भवती, सुत्केरी, दैनिक ज्यालादारी गरी खाने विपन्न र पीडित परिवारलाई गर्दै आएको राहत वितरण तथा सहयोग कार्यक्रम जारी राखेको छ ।

मुलुकमा लकडाउन शुरु भएको ५ दिनपछि अर्थात् चैत्र १६ गतेदेखि पीडित परिवारलाई निरन्तर सहयोग गर्दै आएको एकेडेमीका अध्यक्ष तथा अन्तर्राष्ट्रिय रेफ्री अशोक खड्काले जानकारी गराएका छन् । साथै लकडाउन नखुल्दासम्म आवश्यकता अनुसार सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेका छन् ।

सोही कार्यक्रमअनुसार एकेडेमीले चैत्र २९ गते सोमबार गोकर्णेश्वर नगरपालिकाअन्तर्गत पर्ने वडा नम्बर ३ र ४ का कोरोना माहामारीबाट प्रभावित पाँच परिवारलाई राहत सहयोग गरेको छ । एकेडेमीले ती पाँच पीडित परिवारका सदस्य रुपवीर राई, दिलमाया श्रेष्ठ, मन भण्डारी, जेठी तामाङ र अप्सरा भण्डारी प्रत्येकलाई १५ किलो चामल, १ किलो दाल, १ लिटर तेल र १ प्याकेट नुन राहत स्वरुप प्रदान गरेको थियो ।

गोकर्णेश्वर–४ निवासी जेष्ठ नागरिक तथा समाजसेवी भरतप्रसाद भण्डारीको अगुवाईमा एकेडेमीले पीडित परिवारका सदस्यलाई राहत सामग्री प्रदान गरेको हो । जेष्ठ नागरिक भण्डारीले ती विपन्न परिवारको खोजी गर्दै राहतको लागि एकेडेमीका अध्यक्ष खड्कालाई सिफारिस गरेका थिए । राहत वितरणपछि भण्डारीले खड्कालाई धन्यवाद दिदै राम्रो कामले सवैको भलो हुने भन्दै गरिवको पेट भोको नराख्ने कार्य गरेकोमा बधाई दिएका थिए ।

एकेडेमीले अहिलेसम्म ३ सय २३ जना परिवारलाई राहत सामग्री वितरण गरिसकेको छ । यतिबेलासम्म ३ लाख ५० हजारभन्दा बढीको राहत सामग्री वितरण गरिसकेको एकेडेमीलाई अमेरिका, अष्ट्रेलिया, बेलायत, इजराइल, हङकङ, मकाउ, चीन, भारत, जापानमा बस्ने नेपालका पूर्व राष्ट्रिय खेलाडी, समाजसेवी र नेपालका विभिन्न स्थानमा बस्ने मनकारी समाजसेवीले सहयोग गर्दै आएका छन् ।

त्यस्तै, अध्यक्ष खड्काले व्यक्तिगत रुपमा ४३ हजारको राहत सामग्री सहयोग गरेको खुलासा गरेका छन् । साथै डोनेसन प्राप्त नभएको अवस्थामा एकेडेमीको आन्तरिक स्रोतवाट खर्च गर्ने खड्काले जानकारी गराएका छन् ।

त्यस्तै एकेडेमीले खाद्यान्न वाहेक कागेश्वरी मनोहरा नगरपालिका वडा नम्वर १ र २ को स्वास्थ्य चौकी, थली प्रहरी प्रभाग, मूलपानी प्रहरी प्रभाग, राजधानी प्रतिष्ठान, टीभी टुडे र कागेश्वरी नगर प्रहरीलाई कोरोना भाइरससंग लड्ने स्वास्थ्य सामग्री मास्क, पन्जा, सेनेटाइजर, डिटोल साबुन हस्तान्तर गरी सहयोग गरेको छ ।

यसको अलावा एकेडेमीले मूलपानीमा रहेको मायाको घर अनाथ आश्रम, गागलफेदीमा रहेको वृद्ध आश्रम र सुन्दरी जलमा रहेको चेपाङ बालगृहलाई खाद्यान्न सहयोग गरेको अध्यक्ष खड्काले जानकारी गराए । यी तीन आश्रमहरूलाई खाद्यान्न सहयोग गर्न नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाशशम्सेर राणाले १० हजार र समाजसेवी माधव मैनालीले ७ हजार नगद सहयोग गरेका थिए ।

त्यस्तै राहत वितरण गर्ने क्रममा कुकुर, बाँदर र चराचुरुङ्गीलाई उनीहरूलाई मनपर्ने खानेकुरा खुवाएको खड्काले जानकारी गराए । त्यसको लागि पूर्व राष्ट्रिय तेक्वान्दो खेलाडी कल्पना क्षेत्रीले सहयोग गरेकी थिइन् ।