वरिष्ठ नेता पौडेललाई जापानको विभूषण

वरिष्ठ नेता पौडेललाई जापानको विभूषण


■ त्रिभुवनचन्द्र वाग्ले

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई जापान सरकारले राजकीय महत्वको अति सम्मानित विभूषण ‘ग्राण्ड कार्डन अर्डर अफ दि राइजिङ सन् अवार्ड’ ले विभूषित गर्ने निर्णय गरेको छ । नेपालस्थित जापानी राजदूतावासले सोसम्बन्धी निर्णय सार्वजनिक गरेलगतै (१८ वैशाख) पङ्क्तिकार सामाजिक माध्यममा राखेको त्यससम्बन्धी जानकारीबारे गोरखापत्रका पूर्वसहकर्मी अजुर्न अधिकारीले लेख्नु भएको छ– ‘आफ्नो देशले नचिने पनि पराइ देशले चिनेछ ।’ यो कमेन्ट पढेपछि एउटा लेख मेरो रचना गर्भमा बसिहाल्यो ‘आफ्नो देशले नचिने पनि पराइ देशले चिनेछ ।’ यो कमेन्टमा मैले धेरै कुरा देखेँ । बुझेँ ।

जापान सरकारले यस वर्षका धेरै सम्भावितहरूको मूल्याङ्कन गर्दै वरिष्ठ नेता पौडेललाई उक्त विभूषण प्रदान गरेको जनाएको छ । जापान सरकारको भनाइ र सहकर्मी अधिकारीको कमेन्ट एकदमै मिलेको पाएँ, जापानले पौडेललाई ‘चिनेकै हो’ । सन् १८७५ मा जापानको काउन्सिल अफ द स्टेटद्वारा स्थापित अति उच्च र सम्मानित यो विभूषण अन्तर्राष्ट्रिय मञ्चमार्फत् विश्व सम्बन्ध स्थापनामा विशिष्ट भूमिका निर्वाह गरेका, जापानसँगको कुटनीतिक तथा साँस्कृतिक सम्बन्ध विस्तारमा विशिष्ट योगदान गरेका, दिगो विकास तथा वातावरण संरक्षणमा अतुलनीय योगदान दिएका व्यक्तिलाई प्रदान गरिन्छ । यो विभूषणलाई जापानमा मात्र नभएर अन्तर्राष्ट्रिय जगतमा नै उच्च प्रतिष्ठाका साथ हेरिन्छ ।

प्रतिनिधि सभाका तत्कालीन पूर्वसभामुख पौडेलले नेपाल–जापानबीच साजनीतिक, सामाजिक–साँस्कृतिक सम्बन्ध विस्तारमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएकाले उक्त विभूषण प्रदान गरेको काठमाडौँस्थित जापानी राजदूदावासले जनाएको छ । पौडेलले तत्कालीन प्रतिनिधिसभाको सभामुख भएका बेलामा नेपाल–जापान फ्रेन्डसीप पार्लियामेन्टेरियन कमिटि गठन गरेर दुबै देशका सांसद बीचमा अनुभव साटासाट गर्न नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएको थियो । यसका साथै संसदीय व्यवस्थामा जापानको अनुभवबाट दुबै देशबीच राजनीतिक, साँस्कृतिक तथा जनस्तरको सम्बन्ध स्थापनामा पौडेलले गर्नुभएको विषेश योगदानलाई जापानले ‘चिनेछ’ । जापानी कृषि प्रविधि, जापानी कृषि तथा फलफूलका बिउबिजनको नेपालमा विस्तार, नेपालमा सञ्चालित जापानी परियोजनाका उच्च मूल्याङ्कन गर्दै आउनुभएका पौडेललाई अन्तर्राष्ट्रिय व्यक्तित्वका आधारमा जापान विभूषित गरेछ । ‘चिनेछ’ ।

यसअघि भारतका प्रधानमन्त्री मनमोहन सिंह, मलेसियाका प्रधानमत्री महमद महाथिर, सिङ्गापुरका राष्ट्रपति ली कुआन यी, अमेरिकी प्रतिष्ठित सिनेटर जोन म्याककेन, न्युजिल्याण्डकी पूर्व प्रधानमन्त्री हेलन क्लार्क, अमेरिकाकी संसद्की सभामुख न्यान्सी पेलोसी, वेलायतका प्रधानमन्त्री जोन मेजरलगायतलाई प्रदान गरिएको यो विभूषण प्राप्त गर्ने व्यक्तिको योगदान मात्र नभएर उनीको सामाजिक राजनीतिक चरित्र, सदाचार, विश्वले ऊबाट ग्रहण गर्नुपर्ने आदर्श आदिलाई पनि मध्यनजर गर्दछ ।

नेपालको सच्चा विकास साझेदार तथा उदार दातृमुलुक हो जापान । नेपालीहरू जापान र त्यहाँका नागरिकलाई असाध्यै सम्मान गर्छन् । त्यो किनभने, जापानले नेपालको आन्तरिक राजनीतिमा कहिल्यै हस्तक्षेप गरेन । सहयोग, ऋण तथा अनुदान दिँदा कुनै पनि अवाञ्छित सर्त राख्ने गरेको छैन । जापानले मानव क्षमता विस्तारका नाममा तारे होटलमा गरिने बैठक, कागजी प्रगति, भाषण कला विस्तारका परियोजनामा रकम दिँदैन । खुद विपन्न नेपाली लाभान्वित हुने भौतिक विकास, पूर्वाधार निर्माणमा ठोस अनुदान तथा सहयोग गर्छ । गफ सिकाउन होइन, विकासमा प्रतिवद्ध हुन सिकाएको छ जापानले ।

दोस्रो विश्व युद्धले थिलथिलो भएको जापान हरेक वर्षजस्तो भूकम्प र समुद्री आँधीका कारण तहसनहस हुने गर्छ तर हरेक पटकको विनाशपछि ऊ थप उत्साह र प्रतिज्ञाका साथ उठ्छ । जापानको विकास मोडल नै यही हो भने हुन्छ । असाध्यै नैतिकवान जापानीले कुनै पनि सम्मान तथा पुरस्कार प्रदान गर्दा त्यस्तै विकासप्रति प्रतिवद्ध, नैतिकवान र उदाहरणीय व्यक्तिलाई मात्र चयन गर्छ । जापानले पूर्व सभामुख भनेर पौडेललाई सम्मानित गरेको भए पनि पौडेलले राजनीतिक जीवनमा देखाउनुभएको सदाचार, विकास प्रेम र शान्तिका लागि यो विभूषण दिएको स्पष्ट हुन्छ ।

यसअघि भारतका प्रधानमन्त्री मनमोहन सिंह, मलेसियाका प्रधानमत्री महमद महाथिर, सिङ्गापुरका राष्ट्रपति ली कुआन यी, अमेरिकी प्रतिष्ठित सिनेटर जोन म्याककेन, न्युजिल्याण्डकी पूर्व प्रधानमन्त्री हेलन क्लार्क, अमेरिकाकी संसद्की सभामुख न्यान्सी पेलोसी, वेलायतका प्रधानमन्त्री जोन मेजरलगायतलाई प्रदान गरिएको यो विभूषण प्राप्त गर्ने व्यक्तिको योगदान मात्र नभएर उनीको सामाजिक राजनीतिक चरित्र, सदाचार, विश्वले ऊबाट ग्रहण गर्नुपर्ने आदर्श आदिलाई पनि मध्यनजर गर्दछ । यस्तै निम्न कारणले आदर्श नेता पौडेललाई उक्त विभूषण प्रदान गरिएको हो । नेपालमा पहिलोपटक नेता पौडेललाई दिइएको यो सम्मान उहाँको व्यक्तिगत मात्र नभएर सम्पूर्ण नेपाल र नेपालीको सम्मान हो र गौरव पनि । पौडेललाई यस्तो विभूषण दिन जापानले निम्न मापदण्डबाट उहाँको मूल्याङ्कन गरेको स्पष्ट हुन्छ ।

सदाचार : नेपाली राजनीतिमा रामचन्द्र पौडेललाई सदाचारको प्रतिमूर्ति मानिन्छ । आम्दानीअनुसार खर्च गर्नुपर्ने, फजुल खर्च गर्न नहुने, कृषकभन्दा आफूलाई भिन्न राख्न नहुने र श्रमिककै बीचमा सधैँ आफूलाई राख्नुपर्छ भन्ने पौडेल हरेक नेता तथा कार्यकर्ताको लवाइखवाई सामान्य पदीय मर्यादा कायम राख्दै आमकृषक र श्रमिककै समान हुनपर्छ भन्ने मान्यता राख्नुहुन्छ । लामो समय राजनीतिक पदमा रहनुभएका उहाँलाई ‘लोभी’ भन्ने गरेको मैले सुनेको छु । उहाँ यस्ता भनाईमा खासै ध्यान दिनुहुन्न र भन्नुहुन्छ– ‘पारदर्शी कमाइ गर्नेले अपारदर्शी खर्च गर्न सक्दैन ।’

हुन पनि औसत नेपालीमा रहेको दोहोरा चरित्रले पौडेल र पौडेल प्रवृत्तिमाथि अन्याय गरेको छ । सबै दलका मतदाता तथा कार्यकर्ताहरू नेता गान्धीजस्तो निष्कलङ्क हुनुपर्छ भन्छन् तर आफूहरूलाई भने मजैले आर्थिक सहयोग गर्नुपर्छ भन्छन् । यो कसरी सम्भव हुन्छ ? पौडेलले नाजायज तरिकाले पैसा कमाएका छैनन् भने कसरी अथाह खर्च गरेर पार्टी वा संसदीय चुनाव लड्न सक्छन् ? कसरी ‘दानी’ हुन सक्छन् । मतदाताले यहाँ विवेक पुऱ्याउनु पर्छ, जो पुऱ्याएका छैनन् । रामचन्द्र पौडेलको वरिपरी धेरै मानिस बस्न सक्दैनन् भन्ने उहाँमाथिको अर्को गुनासो छ । पौडेलसँग जीवनशैली, सादगीपन, कृषि प्रेमसँग आत्मियता भएका मानिसमात्र लामो समय जोडिएर रहन सक्छन् । तत्कालै फाइदा, नियुक्ति, मनोनयन, आर्थिक चलखेलका मानिसहरू उहाँसँग टिकेको देखिँदैन । ‘क्षणे रुष्टाः क्षणे तुष्टाः रुष्टा–तुष्टा क्षणेःक्षणे’ होइन, ‘या गच्छ या तुष्ट’ पौडेलको जीवनशैली हो । यस्तो केमिकलसँग नमिल्ने पदार्थ पौडेलसँग नजिक घुम्न सक्दैनन् । यस सन्दर्भमा दानी कि लोभी, कुन राजनीति ठिक हो ? नेपाली खासगरी कांग्रेस कार्यकर्ताले पर्गेल्नुपर्छ । सहकर्मी अजुर्नजीले भनेजस्तै पौडेललाई नेपाल चिन्न नसकेकै हो, सात सुमद्रपारीको जापानले चिनेकै हो ।

नेपाल जापान सम्बन्ध : नेपाल जापान सम्बन्ध विस्तामा पौडेलले सभामुख वा कृषि र स्थानीय विकास मन्त्री हुँदा विभिन्न कोणबाट योगदान दिनुभएको छ । खासगरी कृषि र समुदायमा आधारित विकास जो जापानको विकास मोडल पनि हो, लाई नेपालमा विस्तार गर्न पौडेलले ग्रामीण आत्मस्वावलम्बन जस्ता कार्यक्रममार्फत् विषेष योगदान दिनुभएको छ । आफूले दिएको सम्मान विवादास्पद नहोस् भनेर दशौँपटक मूल्याङ्कन गर्ने जापानले पौडेललाई समाजवादी राजनीतिका प्रयोगी, नेपाल जापान संसदीय सम्बन्ध विस्तारकर्ता, विकास प्रेमी, जापानी खेती तथा प्रणालीको नेपालमा विस्तार गर्न दिनुभएको योगदानको मूल्याङ्कन गरेर विभूषित गरेको हो । हुनपनि पौडल जापान र इजरायलको कृषि क्रान्ति देखेर पटकपटक भन्नुहुन्छ– हरेक वर्ष प्राकृतिक विपद्मा पर्ने जापान र माटो किनेर इजराइलले कृषि क्रान्ति गर्न सक्ने नेपालले किन नसक्ने ?

बुद्ध, शान्ति र पौडेल : जापानीहरू शान्तिका उपासक हुन् । कोमल दृहयका जापानीहरू बुद्धको सच्चा अनुयायी हुन् । पौडेल राजनीतिमा हिंसाको स्थान रहँदैन र रहनु हुँदैन भन्ने पक्षमा हुनुहुन्छ । पञ्चायती कालकोठरीमा १७ वर्ष जेल जीवन बिताउँदा पनि पौडेलले अहिंसाको राजनीति कहिल्यै परित्याग गर्नुभएन । कांग्रेसले सञ्चालन गरेको भद्रअवज्ञा आन्दोलन तथा सत्याग्रहजस्ता अहिंसात्मक आन्दोलनलाई नै राजनीतिक परिवर्तनको साधन बनाउनु पर्छ, संसदीय व्यवस्थामा सबै समस्याको समाधान संसदभित्रबाट खोज्नु पर्छ भन्ने मान्यता राख्ने पौडेलले सशस्त्र आन्दोलनरत माओवादीलाई मूलधारको राजनीतिमा ल्याउन निर्वाह गर्नुभएको भूमिका महत्वपूर्ण छ ।

कांग्रेसले तयार गरेको माओवादीसँगको १२बुँदे सहमति र विस्तृत शान्ति सम्झौताका मस्यौदाकार पौडेलले शान्तिलाई नै जीवनको साध्य र साधन बनाउनु भएको सत्यलाई शान्तिप्रिय जापानले अनुमोदन गरेको हो, ‘चिनेको’ हो । रिपोर्टिङका क्रममा जाँदा एकपटक माओवादी अध्यक्ष पुष्पकमल दाहालले हामी पत्रकारतिर हस्यौलो पारामा भन्नुभएको थियो–आज तपाईहरूलाई धेरै कुर्नुपर्ने छैन, किनकि पौडेलजी आजको बैठककमा सहभागी हुनुहुन्न । प्रत्येक राजनीतिक शब्दका अर्थ खोज्ने पौडेल र डा. बामुराम भट्टराईबीच बहुलवाद र बहुदल शब्दका लागि भएको रस्साकस्सी पत्रकारबीच निकै चर्चित छ ।

यसै सन्दर्भमा गिरिजाबाबुले भन्नुभएको थियो– पौडेलजी पनि के, के शब्द ल्याउनुहुन्छ, पछि गिरिजाबाबुलाई राजनीतिमा बहुलवाद र बहुदलीय शब्दको ग्य्राभिटी बताएपछि भन्नुभएछ–पौडेलजीले भन्नुभएजस्तै हुनुपर्छ । शान्तिप्रक्रियाका हरेक मोडमा सङ्घीय लोकतन्त्रप्रति पौडेलले देखाउनुभएको प्रतिबद्धता र त्यसमा हिंसात्मक द्वन्द्वमा संलग्न तत्कालीन शक्तिलाई विश्वस्त बनाउन उहाँले निर्वाह गर्नुभएको भूमिका कारण आज मुलुक वामपन्थी नेतृत्वमा सञ्चालन भए पनि उनीहरूले ‘कम्युनिष्ट’ शासन चलाउन पाएका छैनन् । ‘मोर अर लेस यो वेष्टमिनिष्टरल सिष्टम’कै प्रजातन्त्र हो ।

अन्त्यमा, राष्ट्रिय नेता पौडेल : कोरानो सङ्क्रमणलाई सरकारले राष्ट्रिय/अन्तर्राष्ट्रिय समस्या बताउँदै आएको छ । राष्ट्रिय समस्या हो भने यसको समाधानका लागि पनि राष्ट्रिय दृष्टिकोण, कार्यक्रम तथा संयन्त्र बनाउनु आवश्यक थियो त्यसो गरिएको छैन । सङ्क्रमण देखिएसँगै वरिष्ठ नेता पौडेलले सर्वदलीय राष्ट्रिय संयन्त्रमार्फत् समस्या समाधान गरौँ भन्ने प्रस्ताव गर्नु भएको थियो । धेरैले यसमा ध्यान दिएनन् । कतिपयले यस्ता यसलाई सत्ता साझेदारीको प्रस्तावका रूपमा बुझेर खण्डन गरे । सत्तासीन दलका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले पनि सबै प्रतिपक्षी सहितको संयन्त्रको आवश्यकता व्यक्त गर्नुभएको थियो । यसलाई पनि अनावश्यक भनियो ।

आज मुलुकभरका कतिपय स्थानीय तहबाट वितरित राहतबाट खुद पाउनुपर्नेले भन्दा चिनजानका लाभान्वित भएका, पार्टीकरण गरिएको, वितरित सामग्रीको परिणामलाई १० को २० गरिएको, गुणस्तरहीन सामग्री वितरण गरिएको भनिएको छ । घरफिर्ता भएकाको व्यवस्थापनमा स्थानीयको सहयोग जुट्न सकेको छैन । जनचेतना तथा सङ्क्रमितको सहज जीवनका लागि पार्टीका कार्यकर्ता परिचालन गर्न सकिएको छैन । निजी क्षेत्र, सामाजिक संघसस्था उदासिन छन् । कोरोनाविरुद्ध ‘एकजुट’ भन्ने नारा लगाइएको छ तर त्यस अनुसारको व्यवहार छैन । सर्वदलीय संयन्त्रको अभाव खड्किएको छ ।