अशिक्षित जङ्गबहादुर र ‘पीएचडी’ बाबुराम !

अशिक्षित जङ्गबहादुर र ‘पीएचडी’ बाबुराम !


■ देवप्रकाश त्रिपाठी

आधुनिक संसार अशिक्षित मानिसलाई योग्य ठान्दैन र अपवाद बाहेक शिक्षित मानिस नै आफ्नो क्षेत्रमा काम गर्न सफल तथा समर्थवान मानिन्छन् । त्यसैले निजामति र अन्य सरकारी सेवामा प्रवेशको मूख्य सर्त नै शैक्षिक योग्यतालाई बनाइएको हुन्छ । नेपाली राजनीति ज्यादा विकृत एवम् कार्य परिणाममुखी नहुनुमा अशिक्षित र कम शिक्षित मानिसको बाहुल्य रहनुलाई मानिएको छ । राजनीतिमा शिक्षित मानिसहरूको सहभागिता बढाउन सकियो भने त्यसबाट मुलुक लाभान्वित हुन सक्छ भन्ने आम विश्वास छ र, यस्तो विश्वास गलत पनि होइन । तर, प्रश्न उठ्छ– के संसारका सबै मानिस शिक्षित भए भने विश्व अपराधमुक्त हुन्छ ? के त्यसपछि विश्वमा अनियमितता र भ्रष्टाचारको समाचार सुन्नुपर्ने हुँदैन ? अनि अर्को प्रश्न पनि उठ्छ– के अशिक्षित मानिस योग्य हुँदैहुन्नन् ?

अनेकवादका प्रणेता कणाद मुनीले कुन विश्वविद्यालयबाट डिग्री हासिल गरेका थिए ? अनेकवादी दर्शनका प्रवर्तक कणादले विश्वउत्पत्तिका सात पदार्थको ब्याख्या आफ्नो दर्शन ‘वैशेषिक’मा गरेका छन् । चेतना र पदार्थ (पुरुष र प्रकृति) लाई सृष्टिको मूल आधार मान्ने कपिलले पनि कुनै विश्वविद्यालयबाट डिग्री लिएका होइनन् । कपिलको साङ्ख्य दर्शनबाट प्रभावित गौतम बुद्ध पनि कुनै विश्वविद्यालयका ‘स्कलर’ होइनन् । तथापि, ऋषिकालदेखि नै पूर्वीय सभ्यताले शिक्षालाई उच्च महत्व दिँदै आएको हो ।

आममानिसलाई योग्य बनाउने प्रमुख साधनका रुपमा शिक्षालाई लिइएको छ, तर नेपालको सन्दर्भमा भने शिक्षितभन्दा अशिक्षित राजनीतिकर्मीले मुलुकलाई ठूलो योगदान दिएको पाइन्छ । यदि शिक्षित मानिस नै सर्वाधिक योग्य रहन्थे भने कर्मचारीतन्त्र (जहाँ ‘योग्य’ बाहेक अयोग्यको प्रवेश हुँदैन) को काम सदासर्वदा प्रशंसनीय हुनुपर्थ्यो, तर मानिसले सबैभन्दा सास्ती कर्मचारीबाट भोगिरहेका हुन्छन् भने भ्रष्टाचारको जरा खोज्दा पुगिने पनि त्यतै हो । श्री ५ पृथ्वीनारायणको समयमा पण्डित विद्वानहरू नभएका होइनन्, तर विद्वानभन्दा अरुहरूकै योगदान स्मरणयोग्य छ । विसे नगर्ची त्यसका एक दृष्टान्त हुन् । जङ्गबहादुर राणाले स्कूल देखेकासम्म थिएनन्, तर तिनको योग्यता, क्षमता, चातुर्य र कार्य–परिणामले नेपालको इतिहासमा पृथ्वीनारायणपछिका स्मरणीय व्यक्ति तिनै भएका छन् । राजा महेन्द्रले पनि राम्रो शिक्षा पाएका होइनन्, उनको योगदान पनि इतिहासले भुल्न सक्दैन । तर, शिक्षित र विद्वान् ठानिएका बाबुराम भट्टराईहरूको अभिव्यक्ति र ब्यवहारले नेपाली राजनीतिमा शिक्षितभन्दा अशिक्षित या कम शिक्षित मानिसले अविष्मरणीय योगदान पुऱ्याएको प्रमाणित गर्दछ ।

जङ्गबहादुर राणाले ‘स्कूल’ देखेका थिएनन्, देश देखे । विद्वता थिएन तर चातुर्य कौशल र बुद्धि अब्बल रहेको उनका कार्य–परिणामले शिद्ध गरेको छ । उनी अक्षर चिन्दैनथे तथापि मुलुकको हित कहाँनेर छ त्यो बुझ्थे । ‘प्रोटोकल’ शब्द उनले सुनेका थिएनन् तर राष्ट्रको मर्यादा राख्न कस्तो ब्यवहार गर्नुपर्छ भन्ने उनलाई थाहा थियो । त्यस्ता जङ्गबहादुरसँग बाबुराम भट्टराईलाई तुलना गरेर यहाँ जङ्गबहादुरको मानमर्दन गर्न खोजिएको होइन ।

जङ्गबहादुर राणाले ‘स्कूल’ देखेका थिएनन्, देश देखे । विद्वता थिएन तर चातुर्य कौशल र बुद्धि अब्बल रहेको उनका कार्य–परिणामले शिद्ध गरेको छ । उनी अक्षर चिन्दैनथे तथापि मुलुकको हित कहाँनेर छ त्यो बुझ्थे । ‘प्रोटोकल’ शब्द उनले सुनेका थिएनन् तर राष्ट्रको मर्यादा राख्न कस्तो ब्यवहार गर्नुपर्छ भन्ने उनलाई थाहा थियो । त्यस्ता जङ्गबहादुरसँग बाबुराम भट्टराईलाई तुलना गरेर यहाँ जङ्गबहादुरको मानमर्दन गर्न खोजिएको होइन, तथापि ‘विदेशी दलाल’, ‘हत्यारा’, ‘मुर्ख’ र अपठित भनिएका जङ्गबहादुरभन्दा ‘पीएचडीहोल्डर’ बाबुराम कति योग्य छन् भन्ने तथ्य स्पष्ट हुन यहाँ जङ्गबहादुर र बाबुरामबीच तुलना गर्नैपर्ने अवस्था आइपरेको छ ।

जङ्गबहादुर र बाबुरामबीचको समानता भनेको दुवै गाउँले वातावरणमा हुर्केका गरिब परिवारका सदस्य हुन् र दुवैमा तीव्र राजनीतिक महत्वकाङ्क्षा भएको देखिन्छ । तर जङ्गबहादुरले पढ्ने मौका पाएनन् या पढेनन्, बाबुरामले विदेशीको लगानीमा अक्षर पढे, जङ्गबहादुरले आफ्नै लगानीमा देश पढे । जतिबेला जङ्गबहादुर सत्ताको केन्द्रमा पुगे त्यसबेला मुलुकमा प्रजातन्त्र र प्रजातान्त्रिक प्रणाली अस्तित्वमा थिएन । आफूभन्दा अघिका शासकहरूले अवलम्बन गरेकै तरिका अपनाएर उनी सत्तामा पुगे, निर्वाचनका माध्यमबाट नै सरकार गठन गर्न सक्ने अवस्था–व्यवस्थालाई तोडेर जङ्गबहादुरले सत्तामा पुग्ने विभत्स मार्ग रोजेका होइनन् । तर, चुनावी प्रक्रियाबाट सत्तामा पुग्न पाउने विधि, ब्यवस्था र अवसर हुँदाहुँदै बाबुराम ‘मान्छेको गर्धन ताक्ने’ बाटो भएर सत्ताको मार्ग छोट्याउन सफल भएका हुन् ।

‘डिग्री’मा जङ्गबहादुर पछाडि भए पनि विवेक प्रयोगमा बाबुरामभन्दा लाखौँ गुणा अगाडि देखिए । प्रचण्ड–बाबुरामले प्रजातन्त्रविरुद्ध गरेको हिंसात्मक सङ्घर्षमा करिव सत्र हजार निर्दोष नेपालीले ज्यान गुमाउनुपरेको थियो, लाखौँ नागरिक स्वदेशमै शरणार्थी जीवन बिताउन विवश थिए, देश पचासौँ वर्ष पछाडि पर्ने अवस्था बन्यो । तर, जङ्गबहादुरले कोत र भण्डारखाल गरी दुई काण्डमा जम्मा त्रिपन्न जनाले मात्र ज्यान गुमाउनु परेको ऐतिहासिक तथ्यले बताउँछ । त्रिपन्नमध्ये अधिकांश सैन्य व्यक्ति रहेका छन् र ‘निर्दोष’ तथा साधारण मानिसले दुवै काण्डमा ज्यान गुमाउनु परेको थिएन ।

जतिबेला जङ्गबहादुर सत्ताको केन्द्रमा पुगे त्यसबेला मुलुकमा प्रजातन्त्र र प्रजातान्त्रिक प्रणाली अस्तित्वमा थिएन । आफूभन्दा अघिका शासकहरूले अवलम्बन गरेकै तरिका अपनाएर उनी सत्तामा पुगे, निर्वाचनका माध्यमबाट नै सरकार गठन गर्न सक्ने अवस्था-व्यवस्थालाई तोडेर जङ्गबहादुरले सत्तामा पुग्ने विभत्स मार्ग रोजेका होइनन् । तर, चुनावी प्रक्रियाबाट सत्तामा पुग्न पाउने विधि, ब्यवस्था र अवसर हुँदाहुँदै बाबुराम ‘मान्छेको गर्धन ताक्ने’ बाटो भएर सत्ताको मार्ग छोट्याउन सफल भएका हुन् ।

माओवादीको हिंसात्मक युद्धमा, शिक्षक, किसान, साधारण राजनीतिक कार्यकर्ता तथा सुरक्षाकर्मी कसरी मारिए त्यो कुनै नेपालीले भुल्न सकेका छैनन् । जङ्गबहादुरले आफ्नो शासनकालमा पहिले गुमेको भू-भाग (बाँके, बर्दिया, कैलाली, कञ्चनपुर) फिर्ता ल्याए, नेपालको सीमा सुनिश्चित गरी सीमा-स्तम्भ राखे, जनगणना गर्ने कार्यको शुभारम्म गरे, नेपाललाई अन्तर्राष्ट्रिय जगतमा परिचित गराए, छापाखाना भित्र्याए, हातहतियार तथा गोलीको निर्माण स्वदेशमै गराए, अत्याधुनिक भवन निर्माणको प्रविधि युरोपबाट नेपालमा ल्याए, सेनाको आधुनिकीकरण गरे, पहिलो विद्यालय (दरबार हाइस्कुल)को शुरुवात गरे, विफरविरुद्ध पहिलो पटक भ्याक्सिनको सुरुवात गराए, पूर्व-पश्चिम राजमार्ग (दायाँ-बायाँ रुखसहित) निर्माण गर्न बजेट बिनियोजन गराए, सर्भे गर्ने र नाप-नक्सा तयार गर्ने कार्यको थालनी गरे, इतिहासमै पहिलोपटक कानूनी शासनको प्रत्याभूति दिलाउन मुलुकी ऐन लागु गराए, सेनाको आधुनिकीकरण गरे र काठमाडौं उपत्यकाको पर्यावरण संरक्षणका निम्ति सुन्दरीजल, गोकर्ण र नागार्जुनलगायतका स्थानमा वृक्षारोपण गराउनेलगायत झण्डै तीन दर्जन जति स्मरणीय काम उनले गरे ।

यस्तै, देशको आत्मसम्मान र राष्ट्रिय सुरक्षाप्रति जङ्गबहादुर अति सचेत तथा संवेदनशील थिए । ब्रिटिस भारतमा आयोजित राजा–रजौटाहरूको सम्मेलनमा सार्वभौमसत्ता सम्पन्न मुलुकको प्रतिनिधिका हैसियतमा सहभागी हुन नपाउने भएपछि जङ्गबहादुरले ब्रिटिस भारतको निमन्त्रणा अस्विकार गरे र सम्मेलनमा सहभागिता जनाएनन् । बेलायत भ्रमणका क्रममा पनि जङ्गबहादुरले सार्वभौम मुलुकको प्रतिनिधिका हैसियतमा आएका प्रतिनिधिलाई सोहीअनुरुपको सलामी चढाउने व्यवस्था नगरिए जहाजबाट नओर्लिकन स्वदेश फर्कने चेतावनी दिए र ब्रिटिसलाई नेपाल सार्वभौम र स्वतन्त्र मुलुक भएको स्विकार गर्न बाध्य तुल्याए । तर, बाबुराम प्रधानमन्त्री बहाल रहेकै बेला भारतको एउटा प्रान्त (विहार) का मूख्यमन्त्रीको निम्ता मान्न आफ्नो प्रोटोकल र राष्ट्रिय सार्वभौमिकताको उपेक्षा गरी लावालस्कर सहित पटना पुगे । नेपालको ‘सवमर्ज’ हुन सक्छ भनी प्रधानमन्त्री रहँदै सार्वजनिक घोषणा गरे । अघिल्लो दिन आफैंले संविधानमा दस्तखत गरेर भोलिपल्टदेखि नै संविधानका विरुद्ध अभिव्यक्ति दिने काम बाबुरामले गर्दै आएका छन् । नेपाललाई हिन्दुराष्ट्रको पहिचान मेटेर संविधानमा धर्मनिरपेक्षता लेखाउन मूख्य भूमिका निर्वाह गर्ने तीनमध्ये एक व्यक्ति बाबुराम हुन् ।

रहस्यमयी पात्र ऋषिकेश शाहको कृपाबाट भारतमा अध्ययन गर्ने छात्रवृत्ति पाएका बाबुराम नेपालको सनातन धर्मसंस्कृति तथा मौलिक मूल्य-मान्यताविरुद्ध विभिन्न कार्य गर्नेमा पर्दछन् । काठमाडौंको परम्परागत पर्व इन्द्रजात्रा रोकाउन खोज्ने यिनले आफू प्रधानमन्त्री रहेका बेला आफ्नी इसाइ गुरुआमा भेट्न अमेरिकामा झण्डै दुई सय किलोमिटरको यात्रा गरेर पुगेका थिए । यिनी सनातन धर्मलाई विकासविरोधी भएको धारणा प्रकट गर्छन् । कहिले नेपालमा प्रचलित विक्रम सम्वत् बदल्ने कुरा गर्छन् त कहिले जातिविशेषलाई लक्षित गरेर भद्दा गाली गर्ने गर्छन् । शहरमा मान्छेका घर भत्काएर क्षतिपूर्ति नदिने बाबुराम राजा वीरेन्द्रको समयमा बनेको योजनाअनुसार काम गर्नुलाई आफ्नो विशिष्ट योगदान ठान्छन् । २०४० को दशकमा नेकपा चौथो महाधिवेशन, त्यसपछि मोहन वैद्य नेतृत्वको मशाल र उक्त दल छोडेर मोहनविक्रम नेतृत्वको मसाल हुँदै नेकपा एकताकेन्द्रको नेता बनेका उनी २०४७ सालमा जनमोर्चा नामको दल खोलेर त्यसको नेता बने । त्यसताक ‘माक्र्सवादसम्म चाहिँ भन्ने’ मानसिकताका उनी २०५२ सालमा माओवादी बनेर हिंसात्मक सङ्घर्षको निमित्त ‘नायक’ बने ।

माओवादीबाट प्रधानमन्त्री बनिसकेपछि उनले कम्युनिष्ट आन्दोलनको औचित्य समाप्त भएको घोषणासहित नयाँ शक्ति नामको दल खोलेर केही साता राजधानीमा रमिता गरे । २०७४ सालमा नेकपा एमाले र माओवादीबीच ‘एकता’ हुने भएपछि हस्याङफस्याङ गर्दै राष्ट्रियसभा पुगेर आफूले कम्युनिष्ट पार्टीहरूबीच एकता चाहेको भन्न भ्याए । एकीकृत पार्टीको उच्च तहको कुनै स्थान नदिने स्पष्ट भएपछि बाबुराम काङ्ग्रेसनिकट पुगेर काङ्ग्रेसकै निगाहमा चुनाव लडेर ‘नाक’ जोगाए । करोडौँ रुपैयाँ खर्च गरेर खोलेको नयाँ शक्ति नामको राजनीतिक कुटिर उद्योग नचलेपछि गत वर्षदेखि बाबुराम मधेशकेन्द्रित दलको नेता बनेका छन् र, नेपाललाई बहुराष्ट्रिय मुलुक भएको दाबी गर्दै अनेकौँ जातीय राज्यका रूपमा नेपालको नक्सा बदल्ने खतरनाक मिसनसहित क्रियाशील हुन थालेका छन् । बहुराष्ट्रिय राज्यका रूपमा नेपाललाई स्विकार गर्ने हो भने यहाँ जातीय राज्य बनाउँदा सवा सय वटा, भाषिक आधारमा राज्य खडा गर्दा करिव त्यति नै, धर्मका आधारमा राज्य बनाउँदा आठ र भौगोलिक मनोविज्ञानका आधारमा पूर्व–पश्चिम चिरिएका तीन राज्य निर्माण गर्नुपर्ने हुन्छ । यदि यसरी राज्य संरचना निर्माण गर्ने हो भने चरम द्वन्द्व पैदा गर्ने र अन्ततः नेपालको विघटन गराउने निश्चित हुन्छ । हो, यही अभियानमा बाबुराम जुटेका छन् ।

व्यक्तिले प्राप्त गर्ने शैक्षिक योग्यताको कागजी प्रमाणपत्रलाई मात्र योग्यता मान्दा हामी नेपाली नराम्रोसँग झुक्किएका छौँ । त्यहीँ छिमेकी मुलुक भारतका कुख्यात ठग नटवरलाल र हाल नेपालको कारागारमा रहेका कुख्यात अपराधी चार्ल्स शोभराजसमेत शिक्षित व्यक्ति भएको भुल्यौँ र बाबुरामको कुन्नि के विषयमा गरेको ‘पीएचडी’लाई देश बनाउने योग्यता ठान्यौँ । अब भ्रमित भएर बाँच्न पाइने समय समाप्त भएको छ ।

नेपालको विभाजन र विघटनको आधार खडा गर्न रहस्यमयी किसिमबाट सक्रिय भएका बाबुराम प्रधानमन्त्रीचाहिँ सिङ्गै नेपालको हुने सपना देखछन् । बाबुरामका सम्पूर्ण क्रियाकलाप नेपालको शान्ति, स्थिरता, सामाजिक सद्भाव, राष्ट्रिय एकता, सुदृढ सार्वभौमिकता, जातीय एकता र मौलिक धर्म-संस्कृतिविरुद्ध लक्षित छ । यिनको सोच र क्रियाकलापले नेपाललाई लाभ पुऱ्याउनुको सट्टा वृहद क्षति पुऱ्याइसकेको छ र थप अपुरणीय क्षति पुऱ्याउन बाबुराम कटिबद्ध देखिन्छन् । जङ्गबहादुर राणासँग तुलना गर्न योग्य पात्र बाबुराम कहिल्यै थिएनन् र हुन सक्दैनन् । नेपालसँग वैरभाव राख्ने बाबुरामसँग तुलना गर्नुपर्दा जङ्गबहादुरको मानमर्दन त हुने नै भयो, उनले लेखपढ गर्दैमा या ‘पीएचडी’को प्रमाणपत्र धारण गरेकै भरमा कोही व्यक्ति योग्य र असल हुन सक्दैनन् भन्ने सन्देश पनि दिएका छन् । अनपढ जङ्गबहादुरले आफ्नो राजनीतिक जीवनमा जे–जति योगदान पुऱ्याए त्यो सबै देशका निम्ति रह्यो । तर ‘पीएचडीधारी’ बाबुरामले देशको पक्षमा केही गरेको स्मरण गर्नुपर्दा देशहितमा केही देखिएन ।

जसरी जङ्गबहादुरले अनपढ भएर पनि इमानदार हुँदा देशका निम्ति धेरै गर्न सकिने सन्देश दिएका छन्, त्यसरी नै बाबुरामले चाहिँ औपचारिक शिक्षा प्राप्त गर्दैमा कोही मानिस योग्य, इमानदार र देशभक्त हुन सक्दैन भन्ने दृष्टान्त स्थापित गरिदिएका छन् । २०६२ सम्म प्रजातन्त्र ध्वस्त बनाउन सक्रिय बाबुराम त्यसपछिका दिनमा राष्ट्र र राष्ट्रियता नै नष्ट गर्ने नियोजित अभियानमा क्रियाशील देखिँदै छन् ।

आफ्ना निकृष्ट महत्वकाङ्क्षा पूरा गर्न संसारमा कैयन मानिसले अनेकौँ महाविपत्ति निम्त्याएको तथ्य विश्व–इतिहासमा पढ्न पाइन्छ । नेपालमा एक चरणको विपत्ति यिनीसमेतको नेतृत्वमा आमन्त्रण भएको हो, अब अर्को चरणको विपत्ति निम्तिन नदिन सिङ्गै मुलुक सचेत हुनुपर्ने अवस्था छ । व्यक्तिले प्राप्त गर्ने शैक्षिक योग्यताको कागजी प्रमाणपत्रलाई मात्र योग्यता मान्दा हामी नेपाली नराम्रोसँग झुक्किएका छौँ । त्यहीँ छिमेकी मुलुक भारतका कुख्यात ठग नटवरलाल र हाल नेपालको कारागारमा रहेका कुख्यात अपराधी चार्ल्स शोभराजसमेत शिक्षित व्यक्ति भएको भुल्यौँ र बाबुरामको कुन्नि के विषयमा गरेको ‘पीएचडी’लाई देश बनाउने योग्यता ठान्यौँ । अब भ्रमित भएर बाँच्न पाइने समय समाप्त भएको छ । यिनलाई देशले समयमै पाठ सिकाउन सकेन भने यिनले देशको अस्तित्व नै धराशायी बनाउने निश्चित छ । आम देशप्रेमी नेपाली तथा नेपाल सरकारको ध्यानाकर्षणको अपेक्षासहित, जय मातृभूमि !!