पृथ्वी राजमार्गमा यसरी हुँदै छ लकडाउनको उल्लंघन (फोटो फिचर)

पृथ्वी राजमार्गमा यसरी हुँदै छ लकडाउनको उल्लंघन (फोटो फिचर)


विकास रौनियार, धादिङ

कोरोना संक्रमणबाट बच्न नेपालमा लकडाउन भएको आज ४३औँ दिन पुगेको छ । सरकारले लागू गरेको लकडाउनको अवधि वैशाख २५ मा सकिँदै छ ।

उदयपुर, वीरगन्ज, नेपालगन्जलगायतका स्थानहरूमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या बढ्न थालेपछि प्रहरीले पृथ्वी राजमार्ग हुँदै उपत्यका भित्रिने सवारीसाधनमा कडाइ गरेको छ ।

तर लकडाउनको ४३औँ दिनसम्म आइपुग्दा भने सर्वसाधारणमा धैर्य टुट्न थालेको आभास भएको छ । किनकि, लकडाउनको अवज्ञा गर्दै स्वतःस्फुर्त रूपमा सडकमा निस्किने उपक्रम निकै बढेको छ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको जोगीमारा, मलेखु, गजुरी, गल्छी, नौबिसेलगायतका केही स्थानमा सवारी साधन र मानिसको चहलपहल पछिल्ला दिनमा बढेर गएको छ ।

सडक–ड्युटीमा खटिएका प्रहरीका अनुसार बैंक तथा वित्तीय संस्थाको परिचयपत्र लिएर सवारी कुदाउनेको संख्या ह्वात्तै बढेको छ ।

सवारी चलाउन पासको व्यवस्था गरिएपछि सडकमा गुडेका साना तथा ठूला सबैखाले सवारीले पास लिएर हिँडेको भेटिएको प्रहरीको भनाइ छ । प्र्हरीले पास नभएको सवारी साधनलाई आएकै दिशातर्फ फर्काउने गरे पनि सडकमा सवारी चाप बढ्दै जानु उदेकको विषय बनेको छ ।

जिल्ला प्रशासन कार्यालयले पास वितरण बन्द गरेको जनाए पनि पछिल्ला दिनयता प्रशासनको पास लिएर हिँड्नेको संख्या ह्वात्तै कसरी बढ्यो होला ? जिज्ञासा जागृत हुनु स्वभाविक छ, तर यसको चित्तबुझ्दो जवाफ भने कुनै जिम्मेवार निकायबाट प्राप्त भएको छैन ।

पृथ्वी राजमार्गअन्तर्गत धादिङ क्षेत्रका यी तस्बिरहरु हेरौँ, जसले लकडाउनकै बीच सवारी साधन र मानिसको चाप सडकमा कति बढेको छ भन्ने प्रष्ट्याउँछ ।

picture: B.Rauniyar