‘ह्यान्ड अफ गड’बाट कोरोना-मुक्तिका लागि म्याराडोनाको प्रार्थना

‘ह्यान्ड अफ गड’बाट कोरोना-मुक्तिका लागि म्याराडोनाको प्रार्थना


विश्वचर्चित फुटबल खेलाडी डिएगो म्याराडोनाले विश्वका मानवलाई सहज रुपमा बाँच्नका लागि भगवानसँग प्रार्थना गरेका छन् । म्याराडोनाले ‘ह्यान्ड अफ गड’बाट विश्वलाई कोरोना भाइरसको माहामारीबाट मुक्ति दिलाउन प्रार्थना गरेका हुन् ।

प्रार्थना गर्दा म्याराडोनाले सन् १९८६ को विश्वकपको स्मरण गर्दै भगवानसँग प्रार्थना गरेका थिए । उक्त विश्वकपको क्वाटरफाइनलमा इङ्गल्यान्डविरुद्ध भएको खेलमा म्याराडोनाले हातको मद्दतले गोल गर्दै अर्जेन्टिनालाई विश्वकपको फाइनलमा पु¥याएका थिए ।

रेफ्रीको आँखाले समेत देख्न नसकेको उक्त ह्यान्ड गोललाई खेल समाप्तिपछि म्याराडोनाले ‘ह्यान्ड अफ गड’को संज्ञा दिएका थिए । उक्त खेलमा अर्जेन्टिनाले इङ्गल्यान्डलाई २–१ को अन्तरले पराजित गरेको थियो । त्यसपछि फाइनल भिडन्तमा अर्जेन्टिनाले पश्चिम जर्मनीलाई ३–२ ले पराजित गर्दै दोश्रो पटक विश्व च्याम्पियन बनेको थियो ।

इङ्गल्यान्डविरुद्ध आफूले गरेको उक्त विवादास्पद गोललाई कोरोनासँग दाँज्दै म्याराडोनाले भनेका छन्– ‘अहिले विश्वका मानवले कोरोना भाइरसलाई ईश्वरको नयाँ हात (ह्यान्ड अफ गड) संज्ञा दिएका छन् । तर म यो ईश्वरको हातबाट कोरोना भाइरसको माहामारी समाप्त गर्नको लागि प्रार्थना गर्दछु । जसले पुनः विश्वका मानवहरू स्वस्थ्य र खुशीका साथ जिउन सकुन् ।’

म्याराडोनाको कारोना भाइरसविरुद्धको यो टिप्पणी अहिले खेलकुद क्षेत्रको सबैभन्दा चर्चित अभिव्यक्ति बनेको छ । म्याराडोनाको यो अभिव्यक्तिलाई अहिले विश्वका लाखौँ व्यक्तिले प्रेरणादायी टिप्पणी समेत भनेका छन् ।

अर्जेन्टिनामा कोरोना भाइरसबाट करिव पाँच हजार व्यक्ति संक्रमित छन् भने २ सय १० व्यक्तिले ज्यान गुमाइसकेका छन् ।