यार्सासँगै जडीबुटी संरक्षणमा नयाँ अवसर ‘लकडाउन’

के हो यार्सागुम्बा ?

  • हेमन्त केसी, जाजरकोट

विपद् व्यवस्थापन समिति डोल्पाले यार्सागुम्बा सङ्कलनमा रोक लगाउने निर्णय गरेसँगै अन्य निकायले पनि सो निर्णयलाई सदर गर्दै गएका छन् । शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज, जिल्ला वन कार्यालय र सामुदायिक वन समूहले पनि विपत् व्यवस्थापन समितिको निर्णयलाई पछ्याउँदै बन्द गर्ने निर्णय गरेका छन् ।



वर्षेनी यार्सागुम्बा सङ्कलन गरेर आम्दानी गर्ने सर्वसाधारणको कमाइ योपटक समस्यमा परे पनि प्रकृतिकरूपमा भने यसले फाइदा गरेको जानकारहरू बताउँछन् । संरक्षण र व्यवस्थापनको अभावमा बुहुमूल्य जडीबुटी यार्सागुम्बा (जीवन बुटी) लोप हुँदै गएको विगत १० वर्षको तथ्याङ्कबाट समेत आँकलन गर्न सकिन्छ । अव्यवस्थित सङ्कलन, जलवायु परिवर्तन र अवैधरूपमा निकासी गर्ने क्रमसमेत बढेकाले यार्सागुम्बा लोप हुँदै गएको छ ।

योपटक कोरोना भाइरसको त्रासका कारण हिमाली जिल्ला डोल्पा, मुगुमासमेत यार्सागुम्बा सङ्कलनमा रोक लगाएको छ । बाँच्न र बचाउनका लागि यार्सागुम्बा सङ्कलनमा रोक लगाए पनि यहाँका हिमाली पाटनमा हुर्किँदै गरेका यार्सागुम्बा र जडीबुटीलाई भने संरक्षणका लागि प्रकृतिले नै मौका दिएको छ । स्थानीय जनताले जथाभावी यार्सा टिप्ने, बीउ पनि नराख्ने र फोहर गर्ने भएकाले यार्सा उत्पादनमा समस्या पर्दै आएको छ ।

हिमाली क्षेत्रमा स्थानीय जनताका लागि यार्सागुम्बा जीवन धान्ने आधार हुँदै आएको थियो । उनीहरूको मुख्य आम्दानीको स्रोत नै यार्सा र जडीबुटी हो । यार्सा उत्पादन पहिलेभन्दा आधा घटेको अनुभव रहेको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जका छत्र खड्काले बताउनुभयो । डोल्पाका पत्रकार विष्णुलाल बुढा भन्नुहुन्छ, ‘संरक्षण र बजारीकरणको महत्वपूर्ण आधार मात्र होइन यार्सागुम्बा संरक्षणका लागि यहाँ विशेष अभियान चलाउनुपर्ने हुन्छ । त्यो भएको छैन ।’

नेपालका २५ जिल्लामा यार्सागुम्बा पाइन्छ । नेपालसहित भारत चीन, भुटान र तिब्बतमा यार्सा पाइन्छ । डोल्पा, रुकुम, दार्चुला, हुम्ला, जुम्ला, मनाङ, मुस्ताङलगायत क्षेत्रमा यार्सागुम्बा बढी पाइन्छ । तीमध्ये डोल्पा र रुकुमको पुपाल क्षेत्रको यार्सालाई व्यापारीले मन पराउने गरेका छन् । यहाँको यार्सा बढी मूल्यमा बिक्ने गरेको छ । एक तथ्याङ्कले यार्साजस्तै च्याउ विश्वमा ६८० प्रजातिका छन् । नेपालमा ११ प्रजातिका पाइन्छ । शक्तिवद्र्धक, रोग प्रतिरोधात्मक, चिकित्सा क्षेत्रमा समेत प्रयोग हुने भएकाले यसको माग बढ्दो छ । विशेषगरी चीनमा नेपालका यार्सा निर्यात हुँदै आएको छ ।

यस्तो महत्वपूर्ण हुँदाहुँदै पनि यसको उचित संरक्षण हुनसकेको छैन । पहिले पाटनहरूमा सीमित मान्छेहरू टिप्न आउने, प्रकृतिमा समेत खासै समस्या पदैनथ्यो । पछिल्लो समय पाटन क्षेत्रमा मानवीय चाप बढेको र उचित संरक्षण हुन नसकेकाले अहिले सो क्षेत्रमा यार्सा पूर्णतः नष्ट भएको छ । यार्सा चार हजार ५०० मिटरदेखि पाँच हजार ५०० मिटरको उचाइमा यार्सा पाइन्छ ।

अन्य जिल्लामा आफ्नै जिल्लाका स्थानीय जनतालाई यार्सा टिप्ने अनुमति दिने गरिएको छ तर डोल्पामा जुनसुकै जिल्लाबाट आएकाहरूले समेत यार्सा सङ्कलन गर्ने अनुमति पाउँछन् । त्यसैले पनि लापरवाही भएको अनुमान सङ्कलनकर्ताको छ । डिभिजन कार्यालय डोल्पाका प्रमुख जीतेन्द्र महतका अनुसार कुन यार्सा टिप्न हुने र कुन नहुने भन्ने जानकारी नै छैन । जानकारीको अभावमा बीउ हुने यार्सासमेत निकासी हुने गर्छ । यसैले यार्सा घट्दो अवस्थामा छ । यार्सागुम्बा सङ्कलन तथा बिक्री वितरणसम्बन्धी कायविधि, २०७३ स्वीकृत भई कार्यान्वयनमा आएको भए पनि डोल्पामा यसको जानकारी छैन ।

के हो यार्सागुम्बा ?

यार्सागुम्बु हिमाली क्षेत्रमा पाइने बहुमूल्य जडीबुटी हो । विश्वमा हालसम्म ‘कोर्डिसेप्स’ वर्गमा पर्ने ढुसीहरू ‘स्याक फङ्गस’ का ६८० भन्दा बढी प्रजातिहरू पत्ता लागेका छन् । यीमध्ये सबैभन्दा परिचित ढुसी यार्सागुम्बालाई अङ्ग्रेजीमा ‘क्याटरपिलर फङ्गस’ भनिन्छ । यसको वैज्ञानिक नाम ‘कोर्डिसेप्स सिनेस्सीस’ हो । यो समुन्द्र सतहबाट तीन हजार मिटरदेखि छ हजार मिटरसम्मको उचाइमा पाइन्छ ।

यार्सागुम्बु शब्द तिब्बती भाषाको यार्साकुन्भु शब्दबाट अपभ्रंश भएर व्युत्पन्न भएको शब्द हो । जसमा ‘यार’ को अर्थ वर्षा, ‘सा’ को अर्थ घाँस र ‘कुन्भु’ को अर्थ हिउँदे किरा अर्थात् वर्षामा घाँस र हिउँदमा किरा भन्ने बुझिन्छ । एक वर्षमा छ महिना कीरा र छ महिना बुटिका रूपमा जीवित रहनु यार्सागुम्बको एउटा विशिष्ट विशेषता हो ।

यसलाई नेपालका विभिन्न भूभागमा फरक–फरक नामले चिनिन्छ । स्थानीय विशेषताअनुसार यसलाई यार्सागुम्बा, यार्चागुन्बु, यार्सागुम्बु, जीवनबुटी, किरा, च्याउ, झार, अर्मोजस्ता विभिन्न नामले चिनिन्छ । स्थानीय भाषामा प्रयोग हुने जीवनबुटी शब्दले पनि जीव र बुटी दुवै अस्तित्वमा रहने भन्ने बुझिन्छ । यार्सागुम्बु विभिन्न आकार र रङहरूमा पाइन्छ । सफा गरेर सुकाइएको, सुन रङको, ठूलो, कडा खालको, धेरै तौल हुने यार्सागुम्बालाई उच्च गुणस्तरको र नसुकेको, भाँच्चिएको, कालो रङ, नरम, कम तौल र सफा नगरिएको यार्सागुम्बालाई कम गुणस्तरको मानिन्छ ।

तिब्बती पठार र हिमालय हिमशङ्खलाको दक्षिणी क्षेत्रका केही निश्चित भूभागमा पाइने यार्सागुम्ब नेपाल, चीन, भारत र भुटानका उच्च हिमाली भेगमा मात्र पाइन्छ । यो जडीबुटी नेपालका विशेषगरी दार्चुला, बझाङ, बाजुरा, डोटी, जुम्ला, मुगु, हुम्ला, डोल्पा, कालिकोट, मनाङ, मुस्ताङ, म्याग्दी, गोरखा, रसुवा, रूकुम, सिन्धुपाल्चोक, दोलखा, सङ्खुवासभा, ताप्लेजुङलगायत जिल्लामा पाइन्छ । तर, सबैभन्दा धेरै र गुणस्तरीय यार्सागुम्बा डोल्पा र रूकुमको सीमा क्षेत्रको बुकीपाटनमा पाइन्छ ।

यार्सागुम्बाको जीवनचक्र

यार्सागुम्बु एक प्रकारको झुसिलकिराको टाउकोबाट ढुसी उम्रिएर बन्दछ । हिमाली भेगमा हिउँद सकिएर हिउँ पग्लन्छ र स–साना बिरूवा तथा घाँसहरू उम्रिएर फूल फुल्न शुरू गर्छन् । ठिक त्यही समयमा नै त्यहाँ पाइने कालो रङको पुतलीहरूले फूल पार्न थाल्छन् । सोही पुतलीको लार्भा अवस्थामा रहेको झुसिलकिरामा ढुसीको वीज यार्सागुम्बु शब्द तिब्बती भाषाको यार्साकुन्भु शब्दबाट अपभ्रंश भएर व्युत्पन्न भएको शब्द हो ।

जसमा ‘यार’ को अर्थ वर्षा, ‘सा’ को अर्थ घाँस र ‘कुन्भु’ को अर्थ हिउँदे किरा अर्थात् वर्षामा घाँस र हिउँदमा किरा भन्ने बुझिन्छ । सोही झुसिलकिरा जमिनमुनि पुगी त्यसैको टाउकोमा ढुसी उम्रन्छ । यसको जमिनमाथिको ढुसी च्याउ खैरो रङो र जमिनमुनिको भाग पहेलो रङको हुन्छ ।

जमिनमुनिको भाग ४ मिमी तथा माथिको भाग मसिनो चार सेमीसम्म लामो हुन्छ भने करिब पाँच–छ सेमी मोटो हुन्छ । यार्सागुम्बु उम्रन ०.५ देखि १ मिटर हिमपात, ३५० मिमीभन्दा कम वर्षा तथा माटोको उचाइ सातदेखि ७.५ वीच हुन् आवश्यक छ । पुसमा ५० डिग्री सेल्सियसभन्दा कम, माघको न्यूनतम तापक्रम १० डिग्री सेल्सियस र फागुनको अधिकतम तापक्रम १०–२० डिग्री सेल्सियसको वातावरण यार्सागुम्बा फस्टाउँछ । सामान्य भिरालो जमिन, बलौटेमाटो, न्यून मात्रामा जैविक सञ्चय, पानी नजम्ने, आद्रतायुक्त माटो, उपयुक्त वर्षा, उपयुक्त जैविक विविधता, सीमित हिमपात र न्यून तापक्रम भएको चरन भूमि यार्सागुम्बुका लागि उपयुक्त मानिन्छ ।

यार्सागुम्बाको उपलब्धता, गुणस्तर, आकार रङमा त्यस क्षेत्रको उचाइ, मौसम, जैविक विविधता, भू–धरातलको अवस्था, माटोको गुणस्तर, बाहिरी हस्तक्षेप, अन्य वनस्पति, घाँसको प्रकृति, चरणको प्रभाव, प्राकृतिक र मानव निर्मित प्रकोपहरू आदिले प्रभाव पार्दछ । यार्सागुम्बा उत्पादनको समय मङ्सिर, पुस, माघ, फागुन, चैत र वैशाखमा हुने वर्षा र हिमपातमा निर्भर रहन्छ । वर्षाले वसन्त ऋतुको शुरूमा नै हिउँ पगालेमा वैशाखतिर यार्सागुम्बुको टुसाहरू देखा पर्न थाल्दछन् । वैशाख १५ तिर छिटफुट वर्षा र चिसो मौषम भएमा यार्सागुम्बुले उम्रने तथा फस्टाउने राम्रो अवसर पाउँदछ ।

प्राचीन चिनियाँ चिकित्सा प्रणालीमा यार्सागुम्बालाई शरीरको प्राणलाई सञ्चालन गर्ने, प्रतिरोधात्मक क्षमतालाई वृद्धि गर्ने, तागत बढाउने, शरीरका विभिन्न अङ्गहरूजस्तै मुटु, कलेजो, मिर्गौला, रक्त प्रणाली, स्वास प्रणालीको कार्यक्षमता बढाउने र यौन क्षमता बढाउने सर्वगुण सम्पन्न टनिकको रूपमा लिइन्छ ।

नेपालमा सन् १९८८ तिरबाट यार्सागुम्बा सङ्कलन शुरू भएको बताइन्छ । खासगरी सन् २००१ मा सरकारले यार्सागुम्बाको सङ्कलन, बजार प्रवद्र्धन, वितरण, ढुवानी र निर्यातलाई कानुनी मान्यता प्रदान गरेको थियो । हाल स्थानीय निकायको स्विकृतिमा सङ्कलन तथा वन विभागको स्विकृतिमा निर्यात गर्न पाउने प्रावधान छ । नेपाल सरकारले यार्सागुम्बाको संरक्षण संवद्र्धन तथा दीर्घकालीन व्यवस्थापनका लागि निर्देशिका प्रचलित कानुन तयार गरेको छ । यसले यार्सागुम्बाको सङ्कलन र व्यवस्थापनसम्बन्धी समस्या तथा सम्बन्धित विषयलाई सम्बोधन गरेको छ ।

संरक्षणमा चुनौती

यार्सागुम्बुको प्राकृतिक बासस्थान विशेष जैविक विविधता मात्र नभइ संवेदनशीलता भएको उच्च हिमाली क्षेत्रमा पर्ने भएकाले दीर्घकालीनरूपमा पर्न सक्ने असरतर्फ ध्यान दिइएको छैन । अर्को चुनौती यार्सागुम्बको बासस्थान भौगोलिकरूपले विकट भएकाले राज्यको उपस्थिति प्रभावकारी बन्न सकेको छैन । सामाजिक सङ्घ संस्थाले पनि यस क्षेत्रमा काम गर्न भौगोलिक कठिनाइको सामना गर्न हिचकिचाउने अवस्था छ । यदि सुरक्षा अवस्था मजबुत भएको खण्डमा यार्सागुम्बको संरक्षणमा जुटेका सामाजिक सङ्घसंस्थालाई उत्प्रेरणा जाग्ने देखिन्छ । स्थानीय बासिन्दाले सरकारको उपस्थिति राजश्व सङ्कलन र अवैध कारोवारको नियन्त्रणमा मात्र देखिने गरेको आरोप लगाउँछन् । वर्षेनी सङ्कलन हुने यार्सागुम्बा परिमाण, तथ्यहरूको बारेमा जानकारी दिने तथा संरक्षणका उपयुक्त विधिहरू पहिल्याउने कार्यमा सरोकारवाला निकायको ध्यान जान जरूरी भएको छ ।

यार्सागुम्बाको संरक्षण तथा प्रवद्र्धनसम्बन्धी आवश्यक जानकारीको अभावका कारण त्यस विषयमा कार्यरत स्थानीय तथा केन्द्रीय निकायबीच यार्सागुम्बाको संरक्षण तथा बजार प्रवद्र्धनका विषयमा अन्योलता देखापरेका छन् । स्थानीय समुदाय, सरकारी निकाय तथा गैरसरकारी सङ्घसंस्थाहरूबीच समन्वयको अभाव हुँदा लागू भएका नीति तथा कार्यक्रमहरू प्रभावकारी बन्न सकेका छैनन् । सरकारी निकायको उचित दिशानिर्देशको अभाव र भौगोलिक विकटताको कारण गैरसरकारी सङ्घसंस्था यस क्षेत्रमा काम गर्न तत्पर नभएको देखिन्छ ।

प्रतिक्रिया