साङ्गीतिक मोर्चाबाट जो प्रजातान्त्रिक आन्दोलनमा होमिएकी थिइन्

साङ्गीतिक मोर्चाबाट जो प्रजातान्त्रिक आन्दोलनमा होमिएकी थिइन्


रेडियो नेपालकी प्रथम गायिका एवं स्वतन्त्रता सेनानी रानुदेवी अधिकारीको निधनले विराटनगरवासी दुखित भएका छन् । उहाँको ८६ वर्षका उमेरमा बिहीबार (१८ वैशाख) राति काठमाडौं सिनामङ्गलस्थित मेडिकल कलेजमा निधन भएको थियो ।

विराटनगर कोइराला निवासका विश्वासिलो पात्र तथा नेपाली काङ्ग्रेसप्रति आस्थावान् अधिकारीलाई चिन्ने, जान्ने एवं सम्बन्ध हुने मानिसहरू उहाँको निधनमा गहिरो दुःखमा छन् । मधुमेह र उच्च रक्तचापबाट पीडित अधिकारीको उपचारका क्रममा निधन भएको हो ।

सन् १९३६ नोभेम्बर २७ तारिखमा वीरगञ्जमा जन्मनुभएका अधिकारीको बाल्यकाल भारतमा बितेको थियो । उहाँले विसं २००७ मा कृष्णप्रसाद कोइरालाका छोरा तारिणिप्रसादले विराटनगरस्थित रघुपति जुट मिलमा स्थापना गरेको प्रजातन्त्र रेडियोमा पहिलो गीत गाउने र समाचार वाचन गर्ने काम गर्नुभएको थियो । विराटनगरको आदर्श बालिका विद्यालयमा अध्यापन गर्नुभएका उहाँ अत्यन्त सरल स्वभावका हुनुहुन्थ्यो ।

शास्त्रीय सङ्गीतमा विशेष लगाव राख्नुभएका अधिकारीका नेपाली अघि बढ, हातमा क्रान्ति झण्डा लिई, जागे नेपाली उठे नेपाली, जुनेली रात हजुरलगायत गीत चर्चित छन् । उहाँका छ गीत प्रजातन्त्र रेडियोमा रेकर्ड भएको बताइएको छ । ती गीतले जहानियाँ राणा शासनविरुद्ध सङ्घर्षरत प्रजातान्त्रिक योद्धालाई आन्दोलनमा रहन उत्साह भरेको थियो ।

निरङ्कुशताविरुद्धको प्रजातान्त्रिक आन्दोलनमा उहाँले कला र साङ्गीतिक मोर्चामा रहेर काम गरेको विराटनगरका साहित्यकार दधिराज सुवेदी बताउनुहुन्छ । अधिकारीको जीवनीमा आधारित ‘मेरो कथा’ नामक पुस्तक पत्रकार शङ्कर खरेलले प्रकाशन गरेसँगै उहाँको थप चर्चा चुलिएको थियो ।

जनआन्दोलनपछि केही समयका लागि नेपाल महिला संघ मोरङका अध्यक्षसमेत हुनुभएका अधिकारी २०३६ सालको शिक्षक आन्दोलनमा कारागार पर्नुभएको थियो ।

स्व अधिकारीका एक छोरा र दुई छोरी हुनुहुन्छ ।

देउवाद्वारा दुःख व्यक्त

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले रेडियो नेपालकी प्रथम गायिका एवं प्रजातन्त्र सेनानी ८३ वर्षीया रानुदेवी अधिकारीको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ ।

सभापति देउवाले शुक्रबार (१९ वैशाख) एक शोक विज्ञप्तिमार्फत स्व. अधिकारीले निरङ्कुशताविरुद्ध भएको प्रजातान्त्रिक आन्दोलनको कठिन समयमा प्रजातन्त्र रेडियोमा गीत गाएर देखाउनुभएको साहस सबैका लागि प्रेरणादायी रहेको बताउनुभएको छ । उहाँको निधनप्रति दुःख व्यक्त गर्दै देउवाले शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ ।