प्रचण्ड र माधवसँग चिनियाँ राजदूतको भेटघाटपछि उच्च राजनीतिक तह तरङ्गित

प्रचण्ड र माधवसँग चिनियाँ राजदूतको भेटघाटपछि उच्च राजनीतिक तह तरङ्गित


नेपालका लागि चीनका राजदूत होउ यान्छीले शुक्रबार (१९ वैशाख) सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुई शीर्षस्थ नेतासँग भेट गर्नुभएको सन्दर्भले राजनीतिक तहमा चर्चा पाएको छ ।

राजदूत यान्छीले नेकपाका कार्यकारी अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधव नेपाललाई अलग–अलग नेताद्वयकै निवास पुगेर भेट गर्नुभएको थियो ।

प्रचण्ड निवास खुमलटारमा भएको भेटमा कोरोना भाइरसको संक्रमण फैलन नदिन नेपालले गरिरहेको प्रयास र चिनियाँ सहयोगका बारेमा कुराकानी भएको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिएका छन् ।

सापकोटाका अनुसार कोरोनासँग आफै पनि जुधिरहेको चीनले खुला हृदयका साथ नेपाललाई सहयोग गरेकामा अध्यक्ष प्रचण्डद्वारा राजदूतसमक्ष चीन सरकार र चिनियाँ जनताको उच्च प्रशंसा गरिएको थियो । चीन सरकारले नेपाललाई उपलब्ध गराएको सहयोगप्रति राजदूतमार्फत नै प्रचण्डले धन्यवाद दिनुभएको सापकोटाले भनाई छ ।

बताइएअनुसार चिनियाँ राजदूतले कोरोना भाइरसको नियन्त्रणमा नेपाललाई उपलब्ध गराएको सहयोग निरन्तर जारी राख्ने र आवश्यक परेको खण्डमा अझै थप सहयोग उपलब्ध गराउने जानकारी प्रचण्डलाई गराउनुभएको थियो ।

यस्तै, नेकपाका वरिष्ठ नेता एवम् पार्टीका विदेश विभाग प्रमुख माधवकुमार नेपालसँग पनि शुक्रबार नै चिनियाँ राजदूतले शिष्टाचार भेट गर्नुभएको थियो । नेकपाका विदेश विभाग उपप्रमुख विष्णु रिजालका अनुसार उहाँहरूबीच नेपाल र चीन सम्बन्धमा विविध आयामका बारेमा छलफल भएको थियो ।

यसरी कोरोना महामारीसँग सम्बन्धित सहयोगबारेका विषयमा कुराकानी भएको औपचारिक जानकारी दिइए पनि चिनियाँ राजदूतले कोरोनाको विषयकै लागि मात्र यतिबेला सत्तारुढ दलका शीर्ष नेताहरूसँग भेट गर्नुभयो होला भनी विश्वास गर्न नसकिने विश्लेषकहरूले टिप्पणी गरेका छन् ।

प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीविरुद्ध मोर्चाबन्दी कसिरहेका नेताद्वय प्रचण्ड र माधवलाई राजदूतले यस विषम परिस्थितिबीच भेटघाट गरेर नेपालको सङ्कटोन्मुख राजनीतिलाई ‘ट्र्याक’मा ल्याउन चीन सरकारको तर्फबाट सुझाव दिनुभएको हुन सक्ने अनुमान गरिएको छ । चिनियाँ राजदूतबाट नेकपाका उल्लिखित नेताहरूसँग गरिएको भेटले उच्च राजनीतिक तहमा बेग्लै तरङ्ग पैदा गरेको बुझिएको छ ।