चर्चित बलिवुड अभिनेता ऋषि कपूरको अन्त्येष्टि

चर्चित बलिवुड अभिनेता ऋषि कपूरको अन्त्येष्टि


बलिउडका चर्चित अभिनेता ऋषि कपूरको बिहीबार (३० अप्रिल) अन्त्येष्टि गरिएको छ । मुम्बईको चन्दनवाडीस्थित शवदाह गृहमा अपराह्न ४ बजे उनको अन्त्येष्टि गरिएको छ ।

अन्तिम संस्कारका बेला उनका पारिवारिक सदस्यहरूसँगै चर्चित कलाकारहरू अभिषेक बच्चन, ऐश्वर्या राय बच्चन, करीना कपूर, सैफअलि खान, आलिया भाटलगायतका कलाकारहरू र इष्टमित्रहरू उपस्थित भएका थिए ।

झण्डै दुई वर्षदेखि क्यान्सर रोगबाट पीडित कपूरको मुम्बईको एचएन रिलायन्स फाउण्डेशन अस्पतालमा उपचारको क्रममा बिहीबार बिहान ८ः४५ बजे निधन भएको हो ।

भारतीय चलचित्रहरूमा रोमान्टिक अभिनेताका रूपमा चिनिनु भएका कपूर ६७ वर्षका थिए । उनको सन् १९५२ को सेप्टेम्बर ४ मा मुम्बईमै जन्म भएको थियो ।

कपुर पारिवरको तीन पुस्ता नै चलचित्रमा संलग्न रहेको छ । कपुर परिवारलाई अभिनयको खानी भएको परिवारका रूपमा चिनिने गरिन्छ । ऋषिका छोरा रणवीर कपूर अहिले पनि बलिउडका स्टार हुन् भने उनका पिता र हजुरबुवा पनि चर्चित कलाकार थिए ।

पारिवारिक माहौल नै चलचित्रमय भएकाले उनले सानैदेखि अभिनयमा रुचि देखाएका थिए ।

सन् १९७० मा बनेको चलचित्र ‘मेरा नाम जोकर’बाट ऋषि कपुरले औपचारिक रूपमा चलचित्र क्षेत्रमा प्रवेश गरेका थिए । उनले दर्जनौ चलचित्रमा अभिनय गरेका छन् भने थुप्रै पुरस्कार तथा सम्मानहरू पनि पाएका छन् ।

ऋषि कपुरलाई सन् २००८ मा फिल्म फेयर लाइफटाजइम अचिभमेन्ट अवार्ड, सन् २०१६ मा स्क्रिन लाइफटाइम अचिभमेन्ट अवार्डलगायत प्रदान गरिएको थियो ।

स्मरणीय छ, भारतका अर्का चर्चित कलाकार इरफान खानको निधन भएको भोलिपल्ट कपूरको निधन भएको छ । यसबाट भारतीय सिनेमा क्षेत्रका दुई होनाहार कलाकारहरू अब केबल सम्झनामा मात्र सिमित रहनेछन् ।